ओली पुनः प्रधानमन्त्री, यात्रा चुनावतर्फ, त महन्थहरुले के पाए ?

 

–परिवर्तन भट्टराई (कृति)
केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी, नेपाल

महन्थ ठाकुर र राजेन्द्र मaहतोले गोप्य रुपमा प्रधानमन्त्री केपी ओलीसँग वार्ता गर्न लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई खटाएको कुरा बाहिर आएपछि म एक्कासी झस्किएँ । यो त अचम्मै भयो ! पार्टीलाई थाहै नदिइकन किन यसो गरियो ? यस्ता प्रश्नले सतायो । गोप्य रुपमा प्रधानमन्त्री ओलीसँग वार्ता गर्न बनाएको दुई दलीय वार्ता कमिटीलाई उनीहरुले सामान्य रुपमा प्रस्तुत गर्दै जवाफ दिए । सामान्य कुराकानी गरिएको हो, त्यस्तो केही होइन भन्दै जवाफ दिए । त्यो जवाफले चित्त बुझ्ने कुरै भएन । म आफैँ त्यो पार्टीको एक कार्यकर्ता हो । यथार्थ के हो भनेर बुझ्ने प्रयत्न गरेँ । म निष्कर्षमा पुगेँ कि उनीहरुले गलत गरेका छन् । रेशम चौधरी लगायतकालाई जेलमुक्त गर्न भन्ने जवाफ दिए र दिइरहेका छन् । रेशम चौधरी लगायत मधेश आन्दोलनमा जेल परेकाहरुलाई जेलमुक्त गर्न पार्टीमा कसैले मानेन कि के हो भन्ने लाग्यो । त्यस्तो पनि पाइएन । रेशम चौधरी लगायतकाहरुलाई जेलमुक्त गर्न पाइँदैन भनेर पार्टीभित्र कसैले भन्यो कि । त्यस्तो पनि केही देखिएन । जसपाको आम पार्टी पंक्ति रेशम चौधरी लगायतकाहरुलाई जेलमुक्त गर्न र मुद्दा खेपिरहेकाहरुलाई मुद्दामुक्त गर्नुपर्छ भन्नेमा एकमत छ । पार्टीका शीर्ष नेतादेखि सामान्य कार्यकताहरुमा समेत उनीहरुलाई जेलमुक्त र मुद्दामुक्त गर्ने सवालमा दुईमत छैन । यस्तो अवस्थामा पनि ठाकुर–महतोले गोप्य रुपमा कार्यदल बनाएर ओलीसँग वार्ता गर्नु पुरै गलत रहेकोमा म झनै निष्कर्षमा पुगेँ । उनीहरुले यस्तो किन गरे ? प्रश्न त रोकिएन ।

आम पार्टी जेलमुक्त गर्ने र मुद्दामुक्त गर्ने कुरामा एकमत हुँदाहुँदै उनीहरुले लुकीछिपी त्यसो गर्नु के जरुरी र बाध्यता थियो ? पार्टी भर्खरै एकीकरण भएको, राम्ररी अन्तरघुलन भइनसकेको, पृष्ठभूमिका कारण, कार्यशैली फरक परेका कारण हो भनेर चित्त बुझाउने प्रयत्न गरेँ । आम पार्टी पंक्तिलाई ओलीको प्रगिगमनविरुद्ध आन्दोलनमा सडकमा उतारेर उनीहरु भने गोप्य रुपमा कार्यदल बनाएर उनैसँग पो कुराकानी गरिरहेका रहेछन् । कुरा मिल्ला, गल्ती सच्याउलान भन्दा त झनै एकसुरे पाराले ओलीको पक्षमा पो लागे । अन्ततः ओलीले विश्वासको मत लिने बेलामा तटस्थ पो बसे । पुस ५ गते ओलीले संसद विघटन गरेदेखि पार्टीको आम पंक्तिले भने आजसम्म निरन्तर त्यसको विरोध गरिहेको छ । उनीहरु भने भित्रभित्रै ओलीसँग नजिक भई वार्ता र छलफल अद्यापि गरिरहेका छन् । यो त जग हसाई नै भयो । ओलीले ठाकुर–महतोको माग पुरा गरेको खोई त ? रेशम चौधरी त जेलमै छन् त ? तरपनि किन उनीहरु ओलीकै पक्षमा छन् ? प्रश्न झनै जटिल बन्दै गएको छ । ओलीको अराजकताका विरुद्ध देश एक छ । उनी संसदीय अंकगणितका आधारमा संविधानको धारा ७६(३) बमोजिम पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । ओली इतरको सरकार निर्माणकालागि कांग्रेस र माओवादी केन्द्रसँग पार्टीले भने भरमग्दुर प्रयास गरिरहेका बेला उनीहरु भने ओलीलाई प्रधानमन्त्री बनाउन लागे । वैशाख ३० गते झनै महन्थ ठाकुर भारतीय दूतावास पुगेको कुरा मिडियामा आयो । त्यसपछि आशंकाको पर्दा भने केही खुलेको मैले महशुस गरेँ । ओलीको राष्ट्रवाद त पहिले नै उजागर भएकै थियो । ठाकुर–महतोको पहिचान र अधिकारप्रतिको आन्दोलन, नारा र भाषण भट्याउनलाई मात्रै रहेछ भन्ने अनुभूति भयो ।

ओली तानाशाह बन्ने दिशामा स्पष्ट रुपमा छन् । आफू अनुकुल वातावरण बनाउन जे पनि भन्छन् र गर्छन् । महाकाली सन्धिमा भारतको पक्षमा सतिसाल भएर उभिएका ओली एकाएक भारतको नकाबन्दीपछि राष्ट्रवादी भए । आज त्यही भारतको प्रिय पात्र छन् । पशुपतिमा सुन चढाउँन जान्छन् । चितवनमा अयोध्या बनाउँछन् । विचार र राजनीतिलाई लत्याएर मनपरी गर्छन् । यति धेरै धूर्त मान्छेप्रति ठाकुर–महतोको लगाव कसरी ? एक त बहुमतको सरकार भत्काएर देशलाई आज यो अवस्थामा पु¥याएका छन् । देश आर्थिक हिसाबले जर्जर छ । सामाजिक हिसाबले कन्तविजोग छ । उनी भने धरहरा बनाएँ भन्दै हिड्छन् । उनको अराजकतालाई पहिचान र अधिकारको आन्दोलन गर्ने नेताहरुले साथ दिन मिल्छ, सुहाँउछ ? यो लाज लाग्ने कुरा होइन ? १५ सांसद बोकेर के धेरै चुरीफुरी गर्नु ? आफ्नै बहुमतको सरकार निर्माण गर्ने गरि आम जनताबीच जानुपर्ने होइन ? आफैले बहुमत ल्याए वा ठूलो पार्टी भए रेशम चौधरीहरुलाई छुटाउन यत्रो जात्रा गर्नुपर्छ त ? ठाकुर–महतो जीहरुले गम्भीर गल्ती गर्नु भो र गरिरहनु भएको छ । पार्टीको एउटा सामान्य कार्यकर्ता मलाई तपाईँहरुको यो हर्कत पटक्कै मन परेन । मलाई मात्रै होइन लाखौँ कार्यकर्ता र शुभचिन्तकहरुलाई पनि मन परेको छैन । रेशम चौधरी छुटाउने भन्दै पूरै पार्टीलाई धराशायी बनाउने ? पार्टी समायोजनको प्रक्रियालाई कहाँ पु¥याउनु भो ? जनता समाजवादी पार्टीको विचार, एजेण्डा र कार्यशैलीका पक्षमा जनमत निर्माण गर्न यो एक वर्षबीचमा के गर्नु भो ? च्याँखे राजनीति गर्नु भन्दा नगर्नु राम्रो ।

बेकारमा पार्टीका लाखौँ होनाहार नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुलाई टेन्सन मात्रै भयो । यस्तो अवस्थामा पार्टीलाई कसरी एक ढिक्का बनाउने ? तपाईँहरु गोप्य रुपमा के–के गर्दै जाने ? यसरी चल्ने हो भने जसपाले वैकल्पिक राजनीतिको नेतृत्व गर्न सक्छ त ? संविधानको धारा ७६(३) बमोजिमको प्रधानमन्त्री पुनः बने ओली । संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । हरहालत गरेर तपाईँहरुको सहयोगमा विश्वासका मत लिन पनि सक्छन् । तर, उनमा त्यसप्रति रुचि छैन । उनको रुचि भनेको तानाशाह बन्ने नै हो । उनले आफ्नो नेतृत्वमा चुनाव गराउन चाहन्छन् । त्यसका लागि आफ्नै पार्टीका माधव–खनाल समूहलाई लात त हान्ने नै छन् । तपाईँहरुलाई पनि गलहत्याउने छन् । त्यसपछि विश्वासको मत पाउँदैनन् । प्रधानमन्त्री चयनका लािग प्रक्रिया संविधानको धारा ७६(५) पुग्छ । उक्त व्यवस्था बमोजिम सरकार बन्ने छाँटकाँट छैन । त्यसो भए उनले संविधानतः देशलाई चुनावमा धकेल्छन् । देश मध्यावधि चुनावका लागि तयार हुनुपर्छ । ठाकुर–महतो जीहरु ल भन्नुहोस् त्यसबेला तपार्इँहरुको हालत के हुन्छ ? पार्टी मुख्य होकि ओली प्रमुख हो भन्ने तपाईँहरुलाई त्यसबेला गहिरो हेक्का हुनेछ । तर, त्यसबेला जहाज डुबिसकेको हुनेछ । त्यसबेला पछुताएर केही हुनेवाला छैन । ओलीको नेतृत्वमा चुनाव भए तपाईँहरुलाई के फाइदा हुन्छ ? कांग्रेसको त आफ्नो पुरानो भोट बैंक छ । उसलाई त्यति धेरै क्षति नहोला ? एमालेको माधव नेपाल समूहको कन्तविजोग पार्नेछन् । तपाईँहरुको हैसियत के हुन्छ ? आन्तरिक पार्टी जीवन कस्तो छ ? मलाई भन्दा त तपाईँहरुलाई नै बढी हेक्का हुनुपर्ने हो । वैकल्पिक राजनीतिको नेतृत्व यो पाराले गर्न सक्नु हुन्न । आत्मसमीक्षा गर्नुहोस् । जनता समाजवादी पार्टी, नेपाल –जिन्दावाद !
वैशाख ३१ गते ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *