–परिवर्तन भट्टराई (कृति)
सन् १९९१ मा सोभियत युनियनको पतन र शीतयुद्धको अन्त्यसँगै विश्वमा नयाँ प्रकारको लोकतन्त्रको बहस प्रारम्भ भयो । पुँजीवादी लोकतन्त्रवादी र साम्यवादी समाजवादीहरुले अभ्यास गरेको लोकतन्त्रका काफी मात्रामा कमजोरी देखिएका कारण नब्बेको दशकबाट नयाँ प्रकारको लोकतन्त्रको बहस शुरु भएको हो । विश्व एक्काइसौँ शताब्दीको पूर्वाद्धमा छ । आज लोकतन्त्रको उक्त बहसको सान्दर्भिकता झनै बढेको छ । बहसमा रहेको लोकतन्त्र भनेको सहभागितामूलक लोकतन्त्र हो । अर्थात् यसलाई पहिचान र अधिकारमा आधारित प्रत्यक्ष तथा समावेशी लोकतन्त्र पनि भन्न सकिन्छ । लोकतन्त्रको यो बहसलाई चौथो पुस्ताको लोकतन्त्र भनिन्छ । सहभागितामूलक लोकतन्त्र पुँजीवादी लोकतन्त्र होइन भने राज्यकेन्द्रित समाजवादी लोकतन्त्र पनि होइन । यो तिनीहरु भन्दा अग्रगामी प्रकृतिको लोकतन्त्र हो । सर्वहारावादी र पुँजीवादीहरुको लोकतन्त्र भन्दा उन्नत मानवतावादी तहमा स्तरीकरण भएको लोकतन्त्र हो । यस लोकतन्त्रमा व्यक्ति र समाजबीचको गतिशील सन्तुलनलाई प्रधानता दिएको हुन्छ । अर्थात् सबैखाले लोकतन्त्रभन्दा माथि उठेको लोकतन्त्र हो ।
यो लोकतन्त्रमा जनता र जनताका प्रतिनिधिहरुबीचको गतिशील सन्तुलनलाई जोडेको छ । यसमा व्यक्तिको निजत्व र सार्वभौमिकतालाई जोड दिइएको छ । व्यक्तिमा निहीत सार्वभौमिकता पूर्ण रुपमा हस्तान्तरणीय हुन नसक्नेमा स्पष्ट भएको लोकतन्त्र हो । जनप्रतिनिधिहरुले सँधै र सबै विषयमा जनताको सार्वभौमिकताको प्रयोग गर्न पाउँदैनन् । अर्थात् जनप्रतिनिधमाथि जनताको पूर्ण नियन्त्रण हुने लोकतन्त्र हो । त्यसको अभ्यासका लागि राइट टू रिजेक्ट, राइट टू रिकल र जनमत संग्रहको व्यवस्था हुन्छ । विगतमा लोकतन्त्रका नाममा जनतालाई भोट हाल्नमा मात्रै सीमित गरियो । जनप्रतिनिधि र नेताले प्रतिनिधित्वका नाममा मनपरी गरे । जनता निरीह भए । पुरातन लोकतन्त्रमा सिद्धान्त र वादप्रतिको संकिर्णता भयो । चौथो पुस्ताको लोकतन्त्र अर्थात् उन्नत लोकतन्त्र पछिल्ला ज्ञान र विज्ञानमा आधारित लोकतन्त्र हो । यसमा मान्छेको सर्वोच्चता र गरिमाको विश्वास गरिन्छ ।
व्यक्ति र समाजको सम्बन्धलाई पुर्नभाषित गरिन्छ । व्यक्तिलाई सर्वोपरी र समाजलाई गौण वा समाजलाई सर्वोपरी र व्यक्तिलाई गौण ठान्ने गल्तिबाट माथि उठेको लोकतन्त्र हो । उक्त दुवै प्रकारका लोकतान्त्रिक मान्यताभन्दा माथि उठेको लोकतन्त्र नै चौथो पुस्ताको लोकतन्त्र हो । निजत्वका लागि प्रतिस्पर्धा र सामाजिकताको संरक्षण यो लोकतन्त्रको महत्वपूर्ण गुण हो । कम्युनिष्टहरुको प्रगतिशील लोकतन्त्र र पुँजीवादीहरुको उदारवादी लोकतन्त्रको कमजोरीमा टेकेर विकास गरिएको उन्नत लोकतन्त्र नै सहभागितामूलक लोकतन्त्र हो । यसलाई स्पेश र कालको सापेक्षतामा झनै समृद्ध बनाउन सकिन्छ । नेपालमा यस प्रकारको लोकतन्त्रको अभ्यास गर्ने प्रयत्नलाई वैकल्पिक राजनीति भनिएको हो ।
वैशाख २९ गते ।