–परिवर्तन भट्टराई (कृति)
नेपाली जनताले खोजेको भनेको मूल्यको राजनीति हो । फोहोरी राजनीति होइन । राजनीतिमा बेइमानी भयो । राजनीति गन्धा भयो भनेर वैकल्पिक राजनीतिको खोजी भएको हो । अरुलाई उछिनेर झनै फोहोरी राजनीति गर्ने हो भने वैकल्पिक भन्न छोड्नु पर्छ । होइन भने विचार, एजेण्डा र कार्यशैलीको मिलन जरुरी हुन्छ । कथनी र करनी नमिल्ने हो भने उही पुरानै पारा भइहाल्यो नि । संसदमा बोल्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई पेट र मुखमा फरक भएको आरोप लगाएका थिए । उनको त्यो भनाइमा सत्यता छ । ओलीले भन्ने एउटा र गर्ने अर्को गर्छन् । यो उनको मात्रै समस्या होइन स्वयम् पुष्पकमल दाहालमा पनि छ । अरुमा पनि पर्याप्त देखिन्छ । छलकपटपूर्ण राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनायो । कांग्रेसले फोहोर राजनीति ग¥यो । त्यसो भन्नु स्वभाविक हो । कम्युनिष्टहरुले फोहोरी राजनीति गरे भन्नु पनि स्वभाविक हो । तर, नेपालमा समाजवादी धारको वैकल्पिक शक्ति बनाउने भन्नेहरुले फोहोरी राजनीति गर्नु चाहिँ चिन्ताको विषय हो । हिजो संसदमा एउटा पार्टीको दुइटा जिब्रो फट्कारिए । यो अत्यन्तै लज्जाको विषय हो । हिजोको उक्त घटनालाई हेर्दा वैकल्पिक राजनीतिको नारा भट्याउनलाई मात्रै हो ? भन्ने प्रश्न खडा भएको छ । यस्तो किन भयो ? यो प्रश्नको शल्यक्रिया जरुरी छ ।
नेपाली जनताले कांग्रेस र कम्युनिष्टको विकल्प खोजेका हुन् । उनीहरुले आफ्नो असली चरित्र देखाइसकेका छन् । तर, वैकल्पिक राजनीतिको नारा लगाउनेहरुको भने हेर्न बाँकी छ । त्यही भएर वैकल्पिक रानजीतिको वरीपरी मान्छे आउँदै गरेका छन् । हिजो संसदमा प्रधानमन्त्री ओलीको विपक्षमा भोट हाल्न किन कञ्जुस्याई गरियो । यो प्रश्नलाई त्यत्तिकै छोड्ने कि त्यहाँ केही समस्या अन्तरनिहित छ भनेर समाधानको उपाय खोज्ने । वैकल्पिक राजनीतिको पहलो पाइलामै यस्तो हर्कत देखिनु राम्रो भएन् । असफल पुराना मान्छे जम्मा भएर नयाँ नारा लगाएर वैकल्पिक शक्ति बन्न सक्दैन भन्नेहरुका लागि अब के जवाफ दिने ? कांग्रेस र कम्युनिष्टबाट वाक्क भएका जनतालाई के जवाफ दिने । वैकल्पिक राजनीतिमा आबद्ध हुन खोजेकाहरुलाई के जवाफ दिने । आजको नेपालको राजनीति समस्याको एक मात्रै कारण ओली हुन । यो दुनियाँलाई थाहा । उनी तानाशाह बन्ने दिशामा गइरहेका छन् । उनको तानाशाही कदममा राष्ट्रपतिको सहयोग हुँदा उनी झनै स्वेच्छाचारी भइरहेका छन् । दुई तिहाई नजिकको सरकारलाई धुजा–धुजा पारे । पूर्व माओवादीहरुलाई लखेटे । आफ्नै पार्टीका माधव–झलनाथहरुलाई घरको न घाटको पारे ।
जनता समाजवादी पार्टीलाई सिध्याउनै खोजिरहेका छन् । मुखमा उत्पीडितको कुरा गर्ने तर व्यवहारमा भने उही उत्पीडकको पञ्जामा पर्ने हो त ? यो त राजनीतिको कखरा जानकाले जान्ने कुरा होइन ? हिजो संसदमा एक पार्टीको दुई जिब्रो फट्कारिँदा वैकल्पिक राजनीतिका पक्षधर लाखौँ मान्छेलाई कति पिडा भयो होला ? त्यसको मलमपट्टी गर्न सक्छन् तटस्थ बस्नेहरुले ? पहिलो कुरा त ओलीले अहिले विश्वासको मत माग्ने बेला हो त ? एमाले र माओवादी केन्द्र पूर्वत् अवस्थामा पुग्ने बित्तिकै किन विश्वासको मत मागेनन् । आज आएर उनलाई कसले बाध्य पारेको थियो विश्वासको मत माग्न । ओली तत्काल चुनावमा जान चाहन्छन् । त्यसको वस्तुगत आधार छ । तत्कालै चुनाव भयो भने माओवादी केन्द्रको हैसियत ५–१० सीट भन्दा तल खुम्चिने पक्का छ । जनता समाजवादी पार्टीले आफूलाई संगठित गरेकै छैन् । तत्काल चुनाव भए उसले पनि भोट धेरै पाउँदैन । कांग्रेसको जे छ छँदैछ । माधव–झलनाथको बेहालत हुन्छ । नयाँ पार्टी बनाउँ त्यो सम्भव छैन् । यो सच्चाई ओलीले नबुझेको पक्कै छैनन् । यति विश्लेषण त राजनीतिको सामान्य जानकारी राख्नेलाई नै हुन्छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको एक पक्षको मतले सरकार बन्दैन ।
हिजो तटस्थ बस्नेहरु भोली पनि तटस्थ बस्ने संकेत हो । संविधानको धारा ७६(२) बमोजिमको सरकार तटस्थ बस्नेहरुका कारण बन्दैन । सरकार निर्माणको प्रक्रिया धारा ७६(३) मा जान्छ । त्यो सरकारले बहुमत पाउँदैन । धारा ७६(५) बमोजिमको सरकार त बन्ने सम्भावना नै छैन । यो हिसाब गरेर ओलीले कदम चालिरहेको देखिन्छ । राजनीतिक वृत्तमा यो विश्लेषण भइरहेकै छ । ओलीले सहज हिसाबले यो कदम चालेको होइन भनेर बुझ्नु कुनै ठूलो कुरा होइन । साना–साना कुरामा ठूलो विवाद खडा गर्नेले वैकल्पिक राजनीतिको नेतृत्व गर्न सक्छन ? नेतृत्व भनेको समस्याको समाधान हो भनेर भाषण गरेको होइन ? नभएको समस्यालाई पहाड बनाएर वैकल्पिक राजनीतिको अगुवाई गर्न सकिन्छ । पार्टी सानो हुँदा मुख्य नेताहरुको तजबिज धेरै चल्छ । किनकि त्यहाँ विरोध गर्ने मान्छे कम हुन्छन् । मतमतान्तर कम हुन्छ । मतैक्यता कायम गर्न कठिन हुँदैन । तर पार्टी ठूलो हुँदै गएपछि नेताको तजबिजले चल्दैन । त्यहाँ विधि र प्रक्रियाको आधारमा नेता देखि कार्यकर्तासम्म परिचालित हुुुनुपर्छ ।
जे भयो भई गयो । दुनियाँले धिक्कार गर्ने ठाउँ पाइहाले । भोली ओली इतरको सरकार निर्माणमा पनि तटस्थ बसेर अर्को कलंक बक्नु हुँदैन । वैकल्पिक राजनीतिको नारा भालुलाई पुराण भने जस्तै हो भने त कसको के लाग्छ र ? कार्यकर्ता र जनतालाई भेडाबाख्रा जस्तो ठानेर वैकल्पिक राजनीति गर्न सकिन्छ र ? कार्यकर्ताहरु के भन्छन् भनेर बुझ्नु पर्दैन ? जनताले के भन्छन भनेर होसियार हुनु पर्दैन ? होइन, ओलीलाई प्रधानमन्त्रीबाट हटाउन किन तटस्थ बस्नु परेको हो ? ओलीले के दिन्छन् ? कि ओली एकाएक मधेशवादी भए ? संघीयताका महिसा नै भए त ? लोकतान्त्रिक मूल्यमान्यताको रक्षक ओली नै भए त ? ओलीको कुन गुणका कारण उनको पक्षपोषण गर्नु प¥यो । ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भोट नहाल्नु भनेको ओलीकै पक्षमा छु भनेको होइन ? ओली र ओलीको गुट बाहेक दुनियाँ उनको विरुद्धमा छ । तर पनि उनको विरुद्धमा जान नसक्ने ? ओलीको पक्षमा बहुमत नआउने भएकाले तटस्थ बसेको हो । ओलीको पक्षमा बहुमत पुग्ने भएको भए तटस्थ बस्थे त ? हैट, राजनीति पनि तटस्थको !
काठमाडौं, वैशाख २८ गते ।