रुसी अक्टोबार समाजवादी क्रान्तिपछि व्यक्तिको निजत्वलाई सामुहिकताको बन्धनमा मात्रै कैद गर्न खोजियो ।

 

काठमाडौं, वैशाख २५ गते ।

रुसी अक्टोबर समाजवादी क्रान्तिलाई आदर्श मान्दै बनेका विश्वभरका कम्युनिष्ट पार्टीहरुले सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरे । यो क्रान्तिले समग्र रुपमा विश्वलाई नै महत्वपूर्ण योगदान दिएको पाइन्छ । तर त्यही आदर्शमा निर्माण भएका कम्युनिष्ट पार्टीहरु र तिनीहरुको समाजवादी आन्दोलन रक्षात्मक अवस्थामा छन् । किन यस्तो भयो ? यो प्रश्न गम्भीर छ । अक्टोबर क्रान्तिको आलोकमा निर्मित कम्युनिष्ट पार्टी र तिनका नेताहरुले उक्त क्रान्तिको मर्म र भावनालाई लत्याए । क्रान्तिमा बहुआयामको खोजी गरेनन् । उनीहरुले अन्ध नक्कल गरे । समय, सन्दर्भ र स्थानको सापेक्षतालाई आत्मसात् गरेनन् । जसले गर्न खोजे उनीहरुलाई क्रान्तिबाट पलायनको संज्ञा दिए । क्रान्तिलाई धोखा दिने गद्धार जस्ता आरोप लगाए । लेनिन र स्टालिनले जे गरे, भने त्यो जस्ताको तस्तै नक्कल गर्नुमा गर्व गरे । पछिल्लो चरणमा त माओको नक्कल गर्नुमा पनि गर्व गर्न थाले । अन्ध नक्कल गर्ने शैलीका कारण रुसी अक्टोबर समाजवादी क्रान्तिको आदर्शलाई धमिल्यायो । एउटा देशमा एकमात्र कम्युनिष्ट पार्टी हुनुपर्ने । एक देशमा एकभन्दा बढी कम्युनिष्ट पार्टी हुनुलाई कम्युनिष्ट पार्टी फुटेको भ्रमको खेती गरियो ।

कम्युनिष्ट आन्दोलन आज रक्षात्मक हुनुमा यो भ्रम एक प्रमुख जिम्मेवार छ । एक देशमा धेरै कम्युनिष्ट पार्टी हुनुलाई अनिष्ठ ठान्नु गल्ती भयो । गैरकम्युनिष्ट पार्टीको अस्तित्वलाई त झनै अस्वीकार गरियो । यसले प्रतिस्पर्धात्मक राजनीतिलाई बन्देज ग¥यो । समाज खुला हुन खोज्छ तर नियन्त्रित गर्न खोजियो । रुसी अक्टोबार समाजवादी क्रान्तिपछि व्यक्तिको निजत्वलाई सामुहिकताको बन्धनमा मात्रै कैद गर्न खोजियो । व्यक्ति पहिला निजी हुन्छ । आफ्नो निजत्वको रक्षाको लागि सामुहिक हुन चाहन्छ, हुन्छ । यो सार्वभौम सच्चाइलाई लत्याइयो । अर्को ठूलो गल्ती यहीँ भयो । व्यक्तिमा म हुन्छ । त्यो भावना व्यक्तिको जन्मजात गुण हो । जन्मदै आएको गुणलाई नियमको बन्धनले बाँध्न सम्भव हुँदैन । व्यक्तिको निजत्व र सामुहिकताबीचको प्राकृतिक सन्तुलन मिलाउन सक्नुपर्छ । व्यक्ति निजी मात्रै हुन सक्दैन र सामुहिक मात्रै पनि हुन सक्दैन । आवश्यकता र औचित्यको आधारमा दुवै हुन बाध्य हुन्छ । त्यसको फाइदा व्यक्ति र समाज दुवैलाई प्राप्त हुन्छ । यो सच्चाइलाई लत्याइयो । एउटा देशमा एउटा मात्रै कम्युनिष्ट पार्टी हुनुपर्ने । उसको नियन्त्रण र निर्देशनमा मात्रै राज्यसत्ता संचालन हुनुपर्ने भयो ।

यसले अक्टोबर क्रान्तिको आदर्शलाई धुमिल बनायो । यसको अप्जस स्वयम् लेनिन र स्टालिनले लिनुपर्छ । अझ बढी स्टालिनले लिनुपर्छ । बिरुवा ठीक भो तर कलमी गलत भयो । आज विश्वमा असली कम्युनिष्ट अस्तित्व संकटमा छ । त्यो अरुका कारण होइन आफ्नै कारणले हो । कम्युनिष्ट आदर्शका कारणले होइन सत्तामा एकदलीय वर्चस्व र निजत्वमा अंकुशको कारणले हो । आज विश्व एक्काइसौँ शताब्दीमा छ । विज्ञान, विचार र प्रविधिमा अतुलनीय विकास भएको छ । अक्टोबर समाजवादी क्रान्ति र आजको विश्वबीच आकास जमीनको फरक छ । समाज उघारिएको छ । दृष्टिकोण उन्नत र फराकिलो भएका छन् । मान्छेका आवश्यकता पूरै फेरिएका छन् । हिजोका विलासिताका वस्तु आज प्राथमिक आवश्यकतामा रुपान्तरण भएका छन् । परिवार र समुदायमा खुम्चिएको दुनियाँ आज खुलेको छ अर्थात् फुकेको छ । परम्परागत अन्धविश्वास आधारित मूल्य मान्यतामा प्रश्न उठन् थालेका छन् । विगतका सपना आज यथार्थतामा रुपान्तरण भएका छन् । त्यसैले अक्टोबर क्रान्तिसँगै निर्माण भएको साम्यवादी समाजवादी सत्ताको विकल्प खोज्ने बेला भएको छ । वैकल्पिक विचार र राजनीति आवश्यक भएको छ । यो आजको अवश्यकता हो । दुनियाँको माग हो । यथार्थ हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published.