कोरोना विरुद्धको लडाईँमा व्यक्ति, परिवार, समुदाय र सरकारका संयन्त्रहरु संयुक्त रुपमा परिचालन गर्नुपर्छ ।

 

–भुपराज कटुवाल (संघर्ष)

कोरोना संक्रमणको दोस्रो लहर चलेसँगै फेरि देश संकटमा पर्दै गएको छ । गत सालको लकडाउनका कारण देशको आर्थिक स्थिति तहसनहसको अवस्थामा पुग्यो । केही मात्रमै भएपनि सल्टिँदै जाने अपेक्षा गरिएको बेलामा फेरि कोरोना संक्रमण ह्वात्तै बढेको छ । विभिन्न २३ जिल्लामा निषेधाज्ञा जारी भएको छ । मुख्य शहरहरु बन्द हुँदै गएका छन् । त्यसको ठाडो प्रभाव अर्थतन्त्रमा पर्ने देखिन्छ । गरिखानेहरुको दैनिकीलाई झनै कष्टकर बनाएको छ । उद्योगी र व्यापारीहरु पनि उठ्नै नसक्नेगरी धराशायी बनेका छन् । कोरोना संक्रमण तीब्र गतिमा बढेको छ । संक्रमणको यो रफ्तार कहिले रोकिने हो आंकलन गर्न कठिन बनिरहेको छ । संक्रमणको यो दर नरोकिने हो भने सबै जिल्लाहरुमा निषेधाज्ञा गर्नु पर्ने स्थिति पैदा हुनेछ । त्यसले देशको अर्थतन्त्रमा झनै ठूलो प्रभाव पार्ने पक्का छ । एकैदिनमा ३५ जनासम्मले कोरोना संक्रमणको कारण ज्यान गुमाउनु परेको छ । शिक्षा क्षेत्रमा व्यापक प्रभाव परेको छ । वर्षदिनमा दिनु पर्ने परीक्षा विद्यार्थीले तीन वर्षसम्म पनि दिन पाएका छैनन् । लाखौँको रोजगारी गुमेको छ । देश जटिल अवस्थामा छ ।


कोरोना संक्रमणको दोस्रो लहरमा व्यापक रुपमा मानवीय र आर्थिक क्षति हुने विज्ञहरुले आंकलन गरेका छन् । खुला सिमानका कारण भारतबाट खुलेआम कोरोना संक्रमित समुदायमा पुग्ने गरेका छन् । गत सालको जस्तो देशैभर कठोर लकडाउन यो वर्ष भएको छैन् । जिल्ला प्रशासन कार्यालयहरुले आफ्नो जिल्लाको अवस्थाको आधारमा निषेधाज्ञा गर्ने गरेका छन् । त्यसैले कुनै जिल्लामा निषेधाज्ञा जारी छ भने अन्य जिल्लाहरुमा सामान्य अवस्था छ । सामान्य अवस्था भएका जिल्लाहरुमा कोरोना संक्रमण बढ्न सक्छ । त्यसको लागि उच्चस्तरीय रोकथाम तथा उपचारको लागि स्वास्थ्य संरचनाको निर्माण गर्नुपर्ने हुन्छ । गत सालको अनुभवबाट झनै राम्ररी रोकथामका विधिहरु प्रयोग गरिनुपर्ने हो । तर, त्यस्तो भएको देखिँदैन । बढी संक्रमण गर्ने क्षमता भएको भेरियन्टको रोकथाम र नियन्त्रणका लागि सरकारले पर्याप्त सतर्कता अपनाएको पाइएको छैन् । सामान्य ढंगले रोकथामका प्रयास गरिने हो भने संक्रमण नियन्त्रण गर्न कठिन हुनेछ ।


यस्तो जटिल अवस्थामा देशको राजनीति भने गञ्जागोल अवस्थामा पुगेको छ । सरकारको ध्यान जनताको काम गर्नमा नभई सत्ता जोगाउनमा केन्द्रित भएको छ । सत्ताको जोड घटाउमा सरकार लाग्दा जनताको दैनिकीमा ध्यान दिएको छैन् । गत सालको जस्तै संक्रमण नियन्त्रणका लागि निषेधाज्ञाको समय थप गर्दै जाने हो भने श्रमजीवीहरु भोकभोकै मर्नुपर्ने अवस्था आउनेछ । देश नै संकटमा परेको यस घडीमा सबै राजनीतिक दलहरुले सत्ता स्वार्थलाई गौण बनाएर आफ्ना संरचनाहरुलाई कोरोना संक्रमण नियन्त्रणका लागि प्रयोग गर्नुपर्छ । सरकार, समुदाय र निजी क्षेत्रको संयुक्त पहलकदमी हुनु जरुरी हुन्छ । समुदायमा स्वयमसेवकहरु परिचालन गरेर परिवार, टोल र समुदायले पनि योगदान गर्न सक्छन् । कोरोना विरुद्धको लडाईँमा व्यक्ति, परिवार, समुदाय र सरकारका संयन्त्रहरु संयुक्त रुपमा परिचालन गर्नुपर्छ । होइन भने जटिल स्थितिको सामना गर्नुको कुनै विकल्प छैन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published.