चार ढोका भएको चाँगुनारायण मन्दिरको ऐतिहासिक कृति, शिलालेख र ताम्रपात्रले पुरातात्विक महत्व झल्काउँछ ।

 

काठमाडौँ, वैशाख १६ गते ।

चम्पक अर्थात् चाँपको रुखबाट निस्केका पुरुष रुपधारी नारायणलाई चम्पक नारायण भनिएकोमा विस्तारै उक्त शब्दको अपभ्रंस भई चाँगुनारायण भएको हो भन्ने भनाई छ । वि.सं. ३८० मा हरिदत्त बर्मा नामका व्यक्तिले उपत्यकामा ४ नारायणहरु चाँगुनारायण, शेषनारायण, विशंखुनारायण र इचंगुनारायणको स्थापना गर्ने क्रममा चाँगुनारायणको स्थापना गरेका हुन् भन्ने आख्यान छ । ऐतिहासिक शहर भक्तपुरको दरबार क्षेत्रबाट ५ कि.मि. उत्तरतर्फ रहेको यो मन्दिरलाई सन् १९७९ मा राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो । ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक कला र संस्कृतिले भरिपूर्ण यो मन्दिर कलात्मक सतलहरुले बनेको छ । यो प्रसिद्ध मन्दिर हिन्दू धर्मावलम्बीहरुको एक पवित्र तीर्थस्थल हो । चार ढोका भएको चाँगुनारायण मन्दिरको ऐतिहासिक कृति, शिलालेख र ताम्रपात्रले पुरातात्विक महत्व झल्काउँछ । यसलाई नेपाल सरकारले धार्मिक पर्यटकीय हिसाबले विश्वभरि नै चर्चित बनाउन पहल गर्नु आवश्यक छ ।

१ सय ८ खुड्किला मार्फत् ओर्लिँदा शंख दह भन्ने ठाउँमा पुगिन्छ भने पश्चिम ढोका मूल ढोका हो । यसका १ सय ६५ वटा टुँडालहरुमा विष्णुका अनेक अवतारको चित्रण गरिएको छ । विभिन्न देवीदेवताको प्रतिमा भएको यो मन्दिर विशिष्ट प्रकृतिको छ । यक्ष, गन्धर्व, किन्नर लगायतका काठका प्रतिमाहरुद्वारा अवलोकनकर्ताहरुलाई मोहित पार्दछन् । चारपाटे ढुङ्गामाथि निर्माण गरिएको नारायणको मूर्ति भव्य र आकर्षक छ । ४ वटा सुनको गजुर भएको यस मन्दिरमा गजुरदेखि ढोकासम्म एउटा तोरण झुण्ड्याइएको छ । राजा मानदेवले जिर्णोद्धार गरेपछि यसको रौनक अझै बढेको भन्ने भनाई छ । ठूलाठूला भूकम्पले पनि नभत्किएको यस मन्दिरलाई राजा अंशुवर्माले अझै राम्ररी सिँगारेका थिए । प्यागोडा शैलीमा निर्मित यस मन्दिर क्षेत्रमा गरुडको मूर्ति, श्रीधर विष्णुको मूर्ति, विश्वरुप मूर्ति, त्रिविक्रम आदि जस्ता मूर्तिहरु अवस्थित छन् । काठमाडौं उपत्यका मन्दिरै मन्दिरको शहर हो भन्ने कुरामा विवाद छैन ।

हजारौंको संख्यामा रहेका मन्दिरहरुमा यो मन्दिर बढी चर्चित र विशिष्ट प्रकारको छ । सांस्कृतिक पर्यटनमार्फत् स्वदेशी र विदेशी पर्यटकहरुलाई उक्त मन्दिरको अवलोकन गराउन सकेमा राष्ट्रको ढुकुटी भर्न थप सहयोग राज्यले प्राप्त गर्न सक्छ । विभिन्न कला र संस्कृतिले भरिपूर्ण हाम्रो मुलुकमा यस्ता कलाकृति असंख्य मात्रामा छन् । तिनीहरुको स्थापनाको पृष्ठभूमि देखि आजसम्मको वृतान्त कहने हो भने स्वदेशी पर्यटकको नै भिड थामी नसक्नु हुन्छ । नेपाल विभिन्न जातिहरुको आप्रवासी समुदायबाट बनेको मुलुक भएकाले यहाँ विविधता धेरै छ । हिमाल, पहाड र तराई भएको मुलुक नेपालमा प्राकृतिक विविधता पनि धेरै छ । सांस्कृतिक सौन्दर्य बोकेको चाँगुनारायण मन्दिरबाट प्राकृतिक सुन्दरताको पनि राम्ररी अवलोकन गर्न सकिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *