स्थानीय तहको संख्या घटाएर थप शक्तिशाली बनाउनु पर्छ भने वडालाई झनै अधिकारसम्पन्न बनाउनुपर्छ ।

 

काठमाडौं, वैशाख १० गते ।

काठमाडौं महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष कुश ढकालसँग प्रधानता डटकमका प्रतिनिधिले उक्त वडा र समसामयिक आर्थिक, सामाजिक र राजनीतिक विषयमा गरेको संवाद ।

वडाध्यक्ष ज्यू नमस्कार । तपाईँ काठमाडौं महानगरपालिका वडा नं. २९ को जनप्रतिनिधि हुनुहुन्छ । तपाईंले नेतृत्व गर्नु भएको वडाले गरेका गतिविधिहरुको बारेमा हाम्रा पाठकहरुलाई बताई दिनुहोस् न ?

नमस्कार । काठमाडौं महानगरपालिकाका ३२ वडाहरु मध्येको एक महत्वपूर्ण वडाको रुपमा वडा नं. २९ लाई लिइन्छ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार यही वडामा पर्छ । डिल्लीबजार र घट्टेकुलो जस्ता स्थानहरु जो कोहीले जानेका र बुझेका ठाउँहरु हुन् । यो वडा काठमाडौं जिल्लाकै केन्द्रमा पर्ने भएकाले पनि भौतिक पूर्वाधारका हिसाबले अन्य ठाउँहरुभन्दा राम्रो हुने स्वभाविक हो । वडा कार्यालयले आफ्ना वडावासी जनताका लागि आफ्नो कार्यक्षत्र, साधन र स्रोतले भ्याएसम्म काम गरेको छ । बजार व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, वडालाई बढी शान्त र सुरक्षित बनाउन वडाले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको छ । जनताका समस्यासँग जोडिएर वडाले काम गर्दै आएको छ । जनताको सरोकार नै वडा कार्यालयको पनि सरोकार हुने भएकाले सोही बमोजिम यस वडाले आफ्ना गतिविधि गर्दै आएको छ ।

वडाध्यक्ष ज्यू तपाईंसँग देशको आर्थिक विषयसँग सम्बन्धित भएर प्रश्न सोध्न चाहेँ । नेपाल आजका दिनसम्म आर्थिक रुपले कमजोर छ । नुनदेखि सुनसम्म आयात गर्नुपर्ने अवस्था छ । परनिर्भर अर्थतन्त्र नेपालको आजको यथार्थ हो । के शहर, के गाउँ, के धनी के गरिब, के पढेका के नपढेका सबै युवाहरु विदेशिएका छन् । नेपाल कहाँ चुक्यो वा हामी कहाँ चुक्यौँ ?

नेपाल प्राकृतिक सम्पदा अर्थात् प्राकृतिक स्रोत–साधनका हिसाबले विश्वकै सम्पन्न देशहरुमध्ये पर्छ । यो देश हिमाल, पहाड र तराईको संगमस्थल हो । यो देश भनेको हावा र पानी खाएर बाँच्न सक्ने देश हो । तर, दुर्भाग्य आर्थिक रुपले भने यो देश आजपनि गरिब अवस्थामा छ । यसमा जिम्मेवार देशको राजनीति हुने भई हाल्यो । राजनीति हाँक्ने दल र व्यक्तिहरुलाई यसको दोष जान्छ नै । राणा शासन फ्याँकियो, पञ्चायत शासन फ्याँकियो, राजतन्त्र हट्यो । देश आज गणतन्त्रमा आइपुगेको छ । तर, जनताको जीवनमा उल्लेखनीय परिवर्तन आउन सकेन । किन यस्तो अवस्था सिर्जना भयो भनेर देशको बागडोर सम्हाली रहेका पार्टी र त्यसका नेतृत्वले गम्भीर भएर सोच्नु पर्छ । देशमा व्यवस्था फेरियो तर अवस्था फेरिएन । तपाईंले भने जस्तै सबै तप्काका जनतामा विदेश जाने लहर चलेको छ । पचासौँ लाख नेपाली युवा विदेशमा रहेको भनिन्छ । जनताको तहमा पनि आफ्नै देशमा केही गर्नु पर्छ भन्ने भावनको विकास हुनुपर्ने देखिन्छ । आफ्नै देशमा श्रम र पसिना बगाउने कुरामा जोड दिने संस्कारको विकास हुनुपर्छ । विदेश जानुलाई मात्रै सहज विकल्प लिनु हुँदैन् । आफ्नै देशमा युवाहरुले श्रम र पसिना खर्चिन थाले देशको भविष्य बन्छ । ज्ञान र शिप विदेशमा सिक्न सकिन्छ । पुँजी, श्रम, शिप र उद्यमशीलता भने नेपालमा खर्चिनु पर्छ भन्ने मेरो भनाई हो । बढी दुःख र संघर्ष गर्नुपरे पनि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने आम भावनको विकास हुनुपर्छ ।

अध्यक्ष ज्यू । अब म तपाईँलाई देशको सामाजिक जीवनसँग जोडेर अर्को प्रश्न गर्न चाहेँ । नेपाल आर्थिक रुपले त कमजोर छँदैछ । सामाजिक जीवनका हिसाबले कहाँ छ ? समाजमा अझै छुवाछुत व्याप्त छ । उचनिँचको अवस्था अझै विद्यमान छ । महिलाहरु बोक्सी, छाउपडी जस्ता प्रथाका कारण पीडित छन् । संस्कार र संस्कृतिका नाममा कहीँ न कहीँ विभेद छ नै । यो विषय समाजलाई सुसंस्कृत र उन्नत बनाउने कुरासँग सम्बन्धित भएकाले यो प्रश्न गर्दैछु । यस सन्दर्भमा तपाईँको भनाई के छ ?

तपाईँले सामाजिक जीवनसँग जोडेर प्रश्न गर्नु भयो । तपाईँले भनेका लगायतको अवस्था यथार्थ हो । यसको समाधानको सुत्र भनेको देशलाई पद्धतिमा लैजानु हो । जबसम्म देश पद्धतिमा चल्दैन वा चलाउन सकिँदैन तबसम्म समाजलाई ठिक दिशामा लैजान कठिन हुन्छ । भ्रष्टाचारमा शुन्य सहनशिलता भनिन्छ तर भ्रष्टाचारीले उन्मुक्ति पाउँछन् । हिँसा र दुराचार गर्नेहरु समाजमा खुलेआम ठाडो शिर बनाएर हिड्छन् । महंगी अत्याधिक बढ्छ तर नियन्त्रण हुन सक्दैन् । तपाईँले भने अनुसार छुवाछुत र महिला हिंसा लगायतका समस्या त छँदैछन् । देशभित्रका तमाम समस्याहरुको समाधानका लागि देशलाई पद्धतिमा लैजान सक्नुपर्छ । सबै समस्या समाधानको औषधि भनेको पद्धतिको निर्माण र अबलम्बन हो ।

अध्यक्ष ज्यू । म अब तपाईँलाई देशको राजनीतिसँग जोडेर प्रश्न गर्न चाहन्छु । राजनीतिक परिवर्तन हुँदै देश ०७२ सालको संविधान निर्माणसँगै गणतन्त्रमा आइपुगेको छ । दुई तिहाई नजिकको सरकार पनि देशले पायो । अब राजनीतिक अस्थितरताको अन्त्य हुने भयो भन्ने जनताले सोचेका थिए । आर्थिक र सामाजिक सुधार हुने भयो भन्ने जनताले अपेक्षा गरेका थिए । तर, फेरि राजनीति त उही अस्थिरताको अवस्थामा पुग्यो । नेपालको राजनीति कहाँ चुक्यो ?

तपाईँको यो राजनीतिक विषयसँग सम्बन्धित प्रश्नमा पनि म पद्धतिमै जोड दिन चाहेँ । राजनीतिमा पद्धतिको अभाव भएका कारण यो अवस्थाको सिर्जना भएको हो । राजनीतिक दलहरुमा पद्धतिको विकास भएको छैन् । मिलेर जाने भन्ने सोच नै भएन । एकले अर्कोलाई सम्मान गर्ने, नियम र कानुनको दायरामा बस्ने भन्ने नै भएन । आफ्नो शक्ति र पहुँचले भ्याएसम्म स्वार्थपूर्ति गर्ने अवस्था सिर्जना भयो । पद्धतिको कुरा भनेको कानुनी शासनको कुरा हो । संविधान र कानुनको दायरामा आफ्ना गतिविधि गर्ने भन्ने कुरा हो । नेपालको राजनीतिमा आजपनि सत्ता र शक्तिको खेल प्रमुख बनेको छ । सत्ता र शक्तिका लागि सबै कुरा जायज देख्ने समस्या नेपालको राजनीतिको प्रमुख समस्या हो । यसलाई मैले पद्धतिसँग जोडेको हुँ । संघीयताको सही व्यवस्थापनको जरुरी देखेको छु । स्थानीय तहको संख्या घटाएर थप शक्तिशाली बनाउनु पर्छ । वडाका गतिविधि जनताको प्रत्यक्ष सरोकारसँग जोडिन्छन् । वडालाई झनै अधिकार र जिम्मेवारी सहित शक्तिशाली बनाउनु पर्छ । वडाका काममा अंकुश लगाउनु हुँदैन ।

अन्तिम प्रश्न वडा नं. २९ सँग जोडेरै गर्न चाहेँ । वडावासी जनताको सुविधा र सुरक्षाका लागि तपाईँका योजना के छन् । बाँकी लगभग एक वर्षको कार्यकालमा के गर्ने योजना छन् । तपार्इँले नेतृत्व गरिरहनु भएका जनतालाई के भन्न चाहनु हुन्छ । अर्थात् के सन्देश दिन चाहनु हुन्छ ?

वडा नं. २९ का जनताको मतका कारण उहाँहरुको सेवा गर्ने अवसर मलाई प्राप्त भएको हो । त्यसैले मेरो ध्यान सँधै उहाँहरुको सरोकारसँगै जोडिएको हुन्छ । त्यो मेरो जिम्मेवारी र कर्तव्य नै हो । म चाहन्छु कि वडावासीका समस्यासँग उहाँहरुसँगै हातेमालो गरुँ । यस वडालाई उदाहरणीय वडा बनाऊँ । फोहोरमैला व्यवस्थापन, शान्तिसुरक्षा, बजार व्यवस्थापन, जथाभावी मूल्य निर्धारण नियन्त्रण लगायत जनसरोकारका विषयमा आफू सचेत र संवेदनशिल छु । वडालाई व्यवस्थित गर्न वा यस क्षेत्रका कुनैपनि समस्या समाधानका लागि स्थानीयहरुसँग मिलेर काम गर्न वडा कार्यालय सदैव तयार र तत्पर रहेको छ । बाँकी कार्यकालमा वडाका साधन–स्रोत, अधिकार र कार्यक्षेत्रको सीमामा गरेर वडावासीका सेवाका लागि सँधै लागि रहनेछु ।

Recommended For You

Leave a Reply

Your email address will not be published.