नेपालको प्राचीनता सम्बन्धी किम्बदन्तीहरु अनुसार विभिन्न ऋषिमुनिहरुको आश्रयस्थल रहेको मानिन्छ ।

 

काठमाडौं, वैशाख ३ गते ।

एसिया महादेशको दक्षिण क्षेत्रमा अवस्थित नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी. छ । भूगोलको हिसाबले यो देश विश्वको ९५ औँ ठूलो देश हो । यस देशको अफिसियल नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल हो । यो पूर्व, पश्चिम, दक्षिणमा भारत र उत्तरमा चीन छिमेकी देश भएको एक भू–परिवेष्ठित मूलुक हो । यस देशको राजधानी काठमाडौँलाई मन्दिरै मन्दिरको शहरपनि भनिन्छ । नेपाली, मैथली, नेवारी, थारु, गुरुङ, तामाङ, मगर, अवधी, शेर्पा, किराती, लिम्बू, भोजपुरी प्रमुख भाषाहरु हुन् । हिन्दू ८१ प्रतिशत, बौद्ध ९ प्रतिशत, मुस्लिम ५ प्रतिशत र अन्य विभिन्न धर्म मान्ने मानिसहरु छन् । सरकारी कामकाजको भाषा नेपाली हो । सन् २०११ को जनगणना अनुसारको जनसङ्ख्या २,६४,९४,५०४ छ । जनघनत्व १८० जना प्रति वर्ग कि.मि. छ । जनघनत्वको हिसाबले यो देश विश्वको ६२ औँ ठूलो देश हो । प्रति व्यक्ति वार्षिक आय ७४३ अमेरिकी डलर छ । पृथ्वीको कुल क्षेत्रफलको ०.०३ प्रतिशत र एसिया महादेशको ०.३० प्रतिशत नेपालको जम्मा क्षेत्रफल छ । अन्तर्राष्ट्रिय टेलिफोन कोड नं. ००९७७ हो । पूर्व–पश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर–दक्षिण औसत चौडाइ १९३ कि.मि. छ । बङ्गालको खाडी १,१२६ कि.मि. टाढा छ । बङ्गलादेश २७ कि.मि. र भुटान ३२ कि.मि. टाढा छ । १५ प्रतिशत हिमाली क्षेत्र, ६२ प्रतिशत पहाडी क्षेत्र र २३ प्रतिशत तराइ क्षेत्र छ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा नै पर्छ ।

विश्वका १४ अग्ला शिखर मध्ये ८ वटा नेपालमा नै छन् । विश्वको सबै भन्दा अग्लो तिलिचो ताल यही देशमा छ । उक्त ताल ४,९१९ मिटर उचाइमा छ । एसियाका तारा भनेर चिनिने बुद्ध धर्मका प्रवद्र्धक गौतम बुद्ध नेपालमा नै जन्मेका हुन् । नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बन्यो । यस देशले संयुक्त राष्ट्रसङ्घको कुल बजेटको ०.००३ प्रतिशत अनुदान सहयोग गर्छ । नेपालको प्राचीनता सम्बन्धी विभिन्न किम्बदन्तीहरु अनुसार यहाँ विभिन्न ऋषिमुनिहरुको आश्रयस्थल रहेको मानिन्छ । चीनबाट आएका मञ्जुश्री बोधिसत्वले काठमाडौँको पानी बाहिर निकास गरी बस्ती बसाएको भनिन्छ । गोपाल वंशबाट राजतन्त्रात्मक व्यवस्था प्रारम्भ भयो । यस वंशको शासन लगभग इ.पू. १५ सय वर्ष पहिले प्रारम्भ भयो । प्रथम राजा भूमि गुप्त र अन्तिम राजा जीत गुप्त हुन । ८ जना राजाले लगभग ५ सय वर्ष शासन गरे । त्यसपछि महिषपाल वंशको प्रारम्भ भयो । महिषपाल पछि किरात वंशको प्रारम्भ भयो । प्रथम राजा यलम्बर हुन भने अन्तिम राजा गस्ती हुन । ३२ जना किराती राजाले शासन गरे । लगभग इ.सं.को पहिलो शताब्दीमा लिच्छवी वंशको शासन प्रारम्भ भयो । लिच्छवी राजा मानदेवको शासन कालदेखि प्रामाणिक इतिहासको प्रारम्भ भयो । बाह्रौँ शताब्दीबाट मल्ल वंशको शासन प्रारम्भ भयो । मल्ल राजा यक्ष मल्लको निधनपछि कान्तिपुर, ललितपुर र भक्तपुर राज्य बन्यो ।

वि.सं. १८२५ बाट शाह वंशको शासन प्रारम्भ भयो । गोरखाका राजा पृथ्वी नारायण शाह प्रथम शाह वंशीय राजा बने । वि.सं. १९०३ मा राणा शासनको प्रारम्भ भयो । वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भयो । वि.संं. २०१७ मा पञ्चायत व्यवस्था सुरु भयो । वि.सं. २०४६ मा बहुदलीय व्यवस्था पुनः स्थापना भयो । वि.सं. २०६३ मा शाह वंशीय शासनको अन्त्य सँगै हजारौँ वर्षको राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भयो । नेपालमा आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । नेपालको इतिहासमा पहिलो पटक जनताको नामबाट संविधान जारी भयो । एकात्मक तथा केन्द्रिकृत शासन व्यवस्थाको अन्त्य गर्ने क्रममा नेपालले थुप्रै राजनीतिक आरोह र अवरोहको सामना गर्नु परेको छ । नेपाल प्राकृतिक रुपले जति सम्पन्न छ, सामाजिक तथा सांस्कृतिक रुपमा पनि त्यति नै धनी छ । भौगोलिक बनावटका कारण यहाँ वातावरणीय तथा जैविक विविधता छ । विशिष्ट सामाजिक संरचानको कारण मानव निर्मित सांस्कृतिक विविधता छ । नेपाल हरेक हिसाबले सम्पन्न हुँदा पनि आर्थिक रुपमा भने कमजोर छ । जनताले विभिन्न प्रकारका उत्पीडनको सामना गर्नु परेको छ । चीन र भारत आर्थिक रुपले सम्पन्न हुँदा पनि नेपालको अवस्था भने कमजोर छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *