काठमाडौं, चैत्र २५ गते ।
फ्रान्सको राज्यक्रान्ति सन् १७८९ मा भएको थियो । उक्त क्रान्ति समानता, स्वतन्त्रता, भातृत्व र सामाजिक न्यायको नारा दिएर भएको थियो । त्यहाँका मध्यमवर्गीय बुद्धिजीवीहरुको विद्रोहका कारण सो क्रान्ति भएको थियो । उक्त क्रान्तिमा प्रजातन्त्रप्रेमी, राजनीतिज्ञ, वैचारिक स्वतन्त्रताका पक्षधर, दार्शनिक र सर्वसाधारणको पनि त्यत्तिकै सक्रियता रहेको थियो । यस क्रान्तिमा बौद्धिक वर्गको नेतृत्वदायी भूमिका रहेको थियो । मन्टेस्क्यु, रुसो र भोल्टेयर जस्ता विद्धानहरुले महत्पूर्ण भूमिका निर्वाह गरेका थिए ।
उक्त क्रान्ति हुनुमा राजनीतिक, आर्थिक, सामाजिक, बौद्धिक, बैदेशिक र तात्कालिक अन्य कारणहरु रहेका थिए । सन् १७९९मा नेपोलियनको उदयसँगै सो क्रान्तिका उपलब्धीहरु समाप्त भएका थिए । निरंकुश राजतन्त्र, राजदरबारको बिलासी जीवन, शासनमा केन्द्रीकरण, नागरिक स्वतन्त्रताको अभाव, असमान कानुनी व्यवस्था, शासनमा रानीको हस्तक्षेप क्रान्तिको कारण बनेका थिए । त्यसैगरी पादरीको हेपाहा प्रवृत्ति, कुलीन वर्गको अत्याचार, मध्यम तथा बौद्धिक वर्गको असन्तोष, निम्न वर्गको असन्तोष पनि क्रान्तिका त्यत्तिकै महत्वपूर्ण कारण बनेका थिए ।
उक्त क्रान्तिका कारण सामन्तवादको अन्त्य भयो । प्रजातन्त्रको विकास भयो । मानवअधिकारको घोषणा भयो । फ्रान्सेली जनतामा राष्ट्रिय भावनाको विकास भयो । सामाजिक मूल्यमान्यतामा परिवर्तन भयो । कानुनी राज्यको स्थापना भयो । आर्थिक विकास भयो । फ्रान्सको स्टेट जनरल तीन सदनात्मक थियो । पहिलो सदनमा पादरी वर्गका ३०८ जना थिए । दोस्रो सदनमा कुलीन वर्गका २८५ जना थिए । तेस्रो सदनमा ६२१ जना जनप्रतिनिधि थिए । तेस्रो सदनका जनप्रतिनिधिहरु पादरी र कुलीन वर्ग विरुद्ध थिए । जसले क्रान्तिलाई सफल बनाउन योगदान गरेको थियो ।