वैकल्पिक राजनीतिले गलत कार्यशैलीको पहिलो पाइलामै मुक्का प्रहार गर्न सक्नुपर्छ ।

 

काठमाडौं, चैत्र २३ गते ।

नेपालमा वैकल्पिक राजनीतिको आवश्यकता महशुस भयो । किन ? नेपालको आर्थिक र सामाजिक उन्नयन भएन । हो यहि सवालको जवाफ खोज्ने क्रममा वैकल्पिक राजनीतिको माग जनस्तरमा उठ्यो । ०५२ सालपछि तत्कालिन नेकपा माओवादीले त्यसलाई सम्बोधन गर्न खोजेको आभास भयो । तर, त्यसले आंशिक परिणाम ल्यायो । नेपाली समाजले पूर्णतामा परिणाम खोजको थियो र छ । त्यही भएर डा. बाबुराम भट्टराईले ०७२ सालमा वैकल्पिक राजनीतिको नारा दिएर त्यसको उद्घोष र अगुवाई गर्नुभयो । ०६९ सालमा अशोक राईहरुले तत्कालिन एमालेबाट विद्रोह गर्नुभयो । उपेन्द्र यादवहरुले ०६३ सालमा अन्तरिम संविधान जारी भएसँगै मधेशमा विद्रोह गर्नुभयो । यिनै शक्तिहरु पछिल्लो कालखण्डमा ध्रुबीकृत भए । पछिल्लो चरणमा पूर्व राजपासँग यो शक्तिको एकीकरण भयो । अंकगणीतीय हिसाबले यो शक्ति वैकल्पिक शक्तिको रुपमा पनि उठ्यो । कार्यशैलीगत प्रश्नमा भने जनता पर्ख र हेरको स्थितिमा छन् । यसबाट उत्पीडित वर्ग र समुदायका मान्छेले राहतको अनुभूति गरे । नेपाली जनताले यो शक्तिबाट वैकल्पिक व्यवहारको अपेक्षा गरेका छन् । वैकिल्पक राजनीति गर्नेका लागि यो नै उत्तम अवसर हो आफ्नो असली चरित्र जनतामा देखाउने । यस्तो बेलामा वैकल्पिक राजनीति गर्नेहरुले बढी नै होसियार हुनुपर्छ । आज म वैकल्पिक राजनीतिको कार्यशैलीको बारेमा मात्रै चर्चा गर्न खोज्दैछ् । नेपाली राजनीतिमा ओली प्रवृत्तिको एक भई खुलेर विरोध गर्नुपर्छ । ओली प्रवृत्ति गुटवादी प्रवृत्ति हो । फरक विचार राख्नेहरुलाई वहिष्करण गर्ने प्रवृत्ति हो । अराजकता हो । सत्ताका लागि गुण्डा प्रवृत्ति हो । के वैकल्पिक राजनीतिले यो प्रवृत्तिको खुलेर एकमत भई विरोध गर्न सक्यो त ? पार्टीका आम नेता तथा कार्यकर्ताहरुमा एकमत हुन सक्यो त ? ओली प्रवृत्तिका विरुद्ध निर्मम भई जाग्नु पर्नेमा त्यसको बाछिट्टाले वैकल्पिक राजनीतिलाई दुर्गन्धित बनाउँदा समेत चाल नपाउने समस्या देखिँदैछ ।

वैकल्पिक राजनीतिको एक प्रमृख शर्त नियत र कार्यशैली हो । यसले गलत नियतले गर्ने कुनैपनि बहाना र रुपको कार्यशैलीलाई शिशु अवस्थामै पहिचान गरेर त्यसविरुद्ध निर्मम प्रहार गर्नु सक्नुपर्छ । क्यान्सरको चौथो चरणमा उपचार खोजे जस्तो गर्ने हो भने वैकल्पिक राजनीतिको अवसान हुन्छ । पुरातन दलहरुले गलत कार्यशैली प्रयोग गरे । देश र जनताका विरुद्धमा उनीहरुको कार्यशैली प्रयोग भयो । राजनीति स्पेस र टाइमको आधारमा निरन्तर परिवर्तन र रुपान्तरण हुने विषय हो । राजनीति प्रकृतिका हिसाबले निरन्तर ध्र्रुविकृत र आन्दोलिन हुने विषय हो । नेपालमा वैकल्पिक रानजीति विरुद्ध पुरातन शक्तिहरुले निरन्तर प्रहार गरेकै छन । त्यसको डटेर प्रतिवाद त गर्नु छँदैछ । सबैभन्दा ठूलो समस्या आफैँभित्र ओली प्रवृत्तिको प्रवेश देखिँदैछ । यो आज शिशु अवस्थामा छ । भलै त्यो माथिबाट होस् या तलबाट होस् । देशभर कहाँ र कसरी यस्तो प्रवृत्तिको विजारोपण हुँदैछ भन्ने नियाल्नु पर्छ । खुलेर भन्दा केहीले ओली शैलीको अभ्यास गर्न खोजेको स्पष्टै देखिन्छ । आँखामा छारो हालेर गलत अभ्यास गर्न खोजेको स्पष्टै देखिन्छ । राजनीतिमा केही भोटो फटाएकाहरुले यो फोहोरी अभ्यासलाई पर्गेल्न सक्नुपर्ने थियो । तर, दुर्भाग्य आतिथ्यता ग्रहणलाई पो अंगालो हालेको देखियो । मैले वैकल्पिक राजनीतिमा पात्र प्रवृत्तिको बहस चलाउनु पर्छ भनिरहेको छु । विगत लामै समयदेखि भन्दै आएकोे छु । तर, कानमा तेल हाल्ने काम भइरहेको छ । विस्तारै वैकल्पिक राजनीतिले त्यसको परिणति भोग्नेछ । उम्रदैको तीनपात भने जस्तै गुट बनाई हाल्नु पर्ने ? आफू विरोधीलाई गलहत्याउनै पर्ने ? नेताहरुको घरदैलो चहार्दै हिड्ने ? वैकल्पिक राजनीतिको अर्को सांगठानिक सवाल भनेको सामुहिक नेतृत्व होइन ? दुई जना मान्छे जम्मा पार्दै निर्णय गर्दै जाने हो र ? जो अगुवा उसैले बाटोमा फोहोर गर्ने ? झुक्याएर वा केही समय अल्मल्याएर वैकल्पिक राजनीतिको उद्देश्य पूरा हुँदैन् । त्यसैले पहिलो कुरा त आफू ठिक हुनुपर्छ । त्यसैको आलोकमा अरुलाई पनि प्रशिक्षित गर्नुपर्छ । होइन भने किन वैकल्पिक राजनीति भन्नु । विशेषगरी नेतृत्व तहकाहरुले खुट्याउने ल्याकत राख्नु पर्छ । गलत नियतयुक्त फूलबुट्टा भरिएका कार्यशैलीको शुरुमै निर्मम प्रहार गर्नै पर्छ । वैकल्पिक राजनीति जीन्दावाद !

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *