विकास र समृद्धिको स्पष्ट मार्गचित्र सहित अभ्यास नगर्दा समतामूलक समृद्धिको नारा नारामै सीमित ।

 

काठमाडौं, चैत्र १७ गते ।

समतामूलक समृद्धि सामाजिक न्याय सहितको विकासमा आधारित समृद्धि हो । समाजवाद अन्तर्निहित भएको समृद्धि हो । समतामूलक समृद्धिले बहुआयामिक समानतायुक्त समृद्धिलाई बुझाउँछ । व्यक्ति, परिवार, समाज र देशको उच्चतम् समृद्धि समतामूलक ढङ्गले गरिन्छ । यस प्रकारको समृद्धिमा विभेदको कुनै गुञ्जायस हुदैन । लोककल्याणकारी राज्यको अभ्यास हुन्छ । समग्रमा समृद्धिको चार आयाम हुन्छन् । पहिलो, तीब्र गतिको आर्थिक विकास हुन्छ । राष्ट्रिय पूँजीको विकास गर्दै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनु पर्दछ । नेपालको हालको अर्थतन्त्र उपभोगमुखी छ । देशको अर्थतन्त्रलाई उत्पादन केन्द्रित बनाई समृद्धिको आधार निर्माण गरिनु पर्छ । समृद्धिको दोस्रो आधार समन्यायिक वितरण हो । आम जनतामा उत्पादनको समन्यायिक वितरण गर्नु पर्दछ । आर्थिक रुपले सम्पन्न र पहुँचवाला केन्द्रित वितरण प्रणालीको अन्त्य गरिनु पर्दछ । जुनसुकै वर्ग र समुदायका मान्छेहरुमा समन्यायिक वितरण गरिनु पर्दछ ।

त्यसैगरी समतामूलक समृद्धिको तेस्रो आयाम दिगो विकास हो । दिगो विकास भन्नाले प्राकृतिक स्रोतको उपभोग गर्दा वातावरणीय पक्षको समुचित व्यवस्थापन गर्नु हो । विकासका नाममा गरिने प्राकृतिक स्रोतको अत्याधिक दोहनले वातावरण सन्तुलनमा पार्ने असरको न्यूनिकरण गर्नु हो । यो समृद्धिको चौथो आयाम मानवीय खुसी हो । यसको अर्थ सन्तुलित, नैतिक र सदाचारयुक्त जीवनशैलीको विकास गर्नु हो । नेपालको राजीनिक बहसमा समातामूलक समृद्धिको उपरोक्त आयामहरुलाई जोड्न जरुरी छ । विकास र समृद्धिको कुरा गर्ने तर स्पष्ट मार्गचित्र सहित अभ्यास नगर्दा समतामूलक समृद्धिको नारा नारामै सीमित भएको छ । पछिल्लो दशकमा नेपालमा समृद्धिको खुबै चर्चा भएको छ । यसलाई राजनीतिक मुद्दाको रुपमा लिएको पनि छ । तर, समृद्धिको स्पष्ट परिभाषा बिना नै नेपालको राजनीतिमा यसको बहस गरिएको छ । समृद्धिलाई समतामूलक समृद्धिको रुपमा स्तरीकरण गरेर व्यवहारमा ल्याउन जरुरी छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *