काठमाडौं उपत्यका माटो र बालुवा थुप्रिएको कचौरा आकारको भुकम्पीय जोखिमयुक्त भूभाग हो ।

 

काठमाडौँ, चैत्र १६ गते ।

नेपाल भौगोलिक बनौट र भौगर्भिक दृष्टिकोणले भुकम्पीय जोखिमयुक्त मुलुक हो । दक्षिणतर्फ पानीढलो भएको हिमाली श्रृंखलायुक्त यस भूभागमा भुकम्प जाने कुरामा सम्बन्धित विज्ञहरु पूर्णतः सहमत देखिन्छन् । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म उच्च हिमाली श्रृंखला छ । पूर्वको इलामदेखि पश्चिमको बैतडीसम्म पहाडी श्रृंखला छ । पूर्वको झापादेखि पश्चिमको कन्चनपुरसम्म समथर तराई क्षेत्र छ । हिमाल, पहाड र तराईको संगमस्थल यो भूभागको भौगर्भिक अवस्थिति कमजोर छ । नेपाल काठमाडौं उपत्यका लगायत प्राचीन शहरहरु भएको मुलुक हो । पूर्व मेचीदेखि पश्चिम कालीसम्म प्राचीन सभ्यता झल्किने घरहरु विभिन्न ठाउँमा छन् । विशेषगरी काठमाडौं उपत्यकाको कीर्तिपुर, भक्तपुर, बसन्तपुर र पाटन ऐतिहासिक शहर हुन् । यहाँ पुरानो प्रविधि अन्तर्गत बनाइएका अत्यन्तै पुराना भवनहरु छन् । काठमाडौं केन्द्र अर्थात् आसपासमा केन्द्र बनाएर भुकम्प गएमा लाखौं मानिसको ज्यान जानेछ भने अरबौंको क्षति हुने देखिन्छ । नेपालको भुगोल भारत र तिब्बतको चट्टानका भिमकाय प्लेटहरु एक आपसमा जोडिने भूगोल हो । त्यसैले यो भूभाग बढी चलायमान हुन्छ । यहाँको भौगर्भिक अवस्था पनि कमजोर छ । साना भूकम्पका धक्का बारम्बार गइरहेका छन् । भूकम्प क्षेत्रका जानकारका अनुसार यस क्षेत्रमा फेरिपनि ठूलो भुकम्प जाने पक्कापक्की छ । त्यो समय टाढा नभएको पनि विज्ञहरुको भनाई छ । कमजोर भौगर्भिक बनोट नै भुकम्पीय जोखिमको प्रमुख कारण हो । भारतीय र तिब्बती चट्टानका प्लेटहरु जोडिएको यस क्षेत्रमा भुकम्पीय जोखिम न्यूनिकरणसँग सम्बन्धित जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न जरुरी छ ।

भुकम्पीय जोखिम न्यूनिकरण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले विगतका वर्षहरु देखि प्रत्येक वर्ष माघ महिनाको २ गते भुकम्प सुरक्षा दिवस मनाइँदै छ । काठमाडौं उपत्यका माटो र बालुवा थुप्रिएको एउटा कचौरा आकारको भूभाग हो । यो भूभाग बढी जोखिमयुक्त हुने क्षेत्र हो । भुकम्प प्रतिरोधात्मक क्षमतायुक्त भवनहरु नबनाइएका कारण नेपालमा लाखौं मानिसको मृत्यु भुकम्पीय धक्काका कारण हुन्छ । विद्यालय, अस्पताल, व्यक्तिगत घरहरु ढल्नेछन् । बिजुली, खानेपानी, टेलिफोनका सबै सिस्टम र संयन्त्रहरु तहसनहस हुनेछन् । वि.सं. १९९०, २०४५ र २०७२ सालमा गए जस्ता भुकम्प फेरी पनि आउन सक्ने भएकाले नेपाल सरकारले भुकम्प सतर्कता अभियान नै चलाउनुपर्ने हुन्छ । विज्ञहरुका अनुसार काठमाडाँैमा ठूलो भुकम्प गएमा कम्तीमा १ लाख मानिसको ज्यान जान सक्छ भने लगभग २ लाख अङ्गभङ्ग हुन्छन् । यहाँका लगभग ७५ प्रतिशत भवनहरु क्षतविक्षत हुन्छन् । ६६ प्रतिशत विद्यालय र लगभग अस्पताल भवनहरु नष्ट हुनेछन् । ४० प्रतिशत विद्युत आपूर्ति अवरुद्ध हुनेछ भने ६० प्रतिशत टेलिफोन सेवा रोकिनेछ । लगभग ९५ प्रतिशत खानेपानी बन्द हुनेछ । यो विपत्ती कुनै पनि बेला आउन सक्छ । उपर्युक्त आंकलन सम्बन्धित विज्ञहरुको हो । भौतिक संरचनाको निर्माण गर्दा भुकम्प प्रतिरोधात्मक क्षमतायुक्त गर्नु र नागरिक सचेतना अभियान चलाउनु आजको आवश्यकता हो । अस्पताल, बाटो, दमकल र खुला स्थान मार्फत क्षति न्यूनिकरण गर्न सकिन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *