प्रधानमन्त्री केपी ओलीको अहंमता र घमण्डका कारण आजको राजनीतिक अवस्था सिर्जना भएको हो ।

 

काठमाडौं, चैत्र १४ गते ।

देशमा राजनीतिक अन्यौलता कायमै छ । तत्कालै राजनीति ठिक ठाउँमा आउने छाँटकाँट देखिँदैन । नेपालको रानजीति झनै फोहोर हुँदै गएको छ । संविधान, कानुन र लोकतान्त्रिक मुल्यमान्यतका विरुद्धमा सत्ताको दुरुपयोग भइरहेको छ । राजनीतिमा निषेधको स्थिति पैदा भएको छ । देशको समकालिन राजनीतिको सेरोफेरमा प्रधानता डटकमका प्रतिनिधिले जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य विद्युत बज्राचार्यसँग गरेको कुराकानी ।

विद्युत जी नमस्कार । तपाई जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ । एक राजनीतिकर्मी हुनुको नाताले नेपालको समसामयिक राजनीतिको बारेमा तपाईसँग प्रधानता डटकमले कुराकानी गर्न गइरहेको छ । नेपालको वर्तमान राजनीति गञ्जागोल अवस्थामा पुग्नुको कारण के हो ?

धन्यवाद ! विगतमा नेपाली जनताले व्यवस्था परिवर्तन गर्नको लागि ठूलो र लामो संघर्ष गरे । राणा शासनको अन्त्य भयो । पञ्चायत शासनको अन्त्य भयो । संवैधानिक राजतन्त्रको अन्त्य भयो । ०७२ सालमा संविधान जारी भएसँगै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश ग¥यो । नाम मात्रको भएपनि नेपालले संघीय राज्यको अभ्यास गरिरहेको छ । अपर्याप्त भएपनि देशले राजनीतिक उपलब्धी हाँसिल गरेको छ । आम उत्पीडित वर्ग र समुदायका जनतालाई पहिचान र अधिकारले सम्पन्न बनाउन अद्यापि बाँकी छ । आजको राजनीतिक उपलब्धी हासिल गर्न हजारौँ नेपालीहरुले ज्यानको उत्सर्जन गरे । तर, दुर्भाग्य गणतन्त्रको अभ्यास गर्ने बेलामा गलत मान्छेको हालमा राज्यसत्ता पुग्यो । परिणामतः आजको राजनीतिक अवस्थाको सिर्जना भएको हो ।

नेपालमा कम्युनिष्ट व्यवस्था स्थापनाका लागि जनमत निर्माण भयो । वर्ग संघर्ष मार्फत् आम सर्वाहाराको मुक्तिको कुरा गरियो । कम्युनिष्टहरुले ‘संसारका मजदुरहरु एक होऔँ’ भन्ने नारा लगाउँछन् । आज नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ । सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा पनि लगाएको छ । तर, परिणाम आएन नि ?

कम्युनिष्ट व्यवस्था भनेको सुन्दर र समृद्ध समाजको परिकल्पना हो । जहाँ राज्यको समेत जरुरी हुँदैन भनिन्छ । सोही परिकल्पनालाई साकार रुप दिन विश्वभर कम्युनिष्ट आन्दोलन भए । नेपालमा पनि ०६ सालदेखि कम्युनिष्ट व्यवस्था स्थापनाको नाममा राजनीति भयो । कम्युनिष्टको नाममा धेरैले राजनीति गरे । तर, कम्युनिष्ट राजनीतिका नेपाली अगुवाहरुले कम्युनिष्ट राजनीतिको आफैँले बदनाम गरे । उत्पीडित वर्ग र समुदायलाई वेवास्ता गरे । यतिसम्म कि दलाल नोकशाही पुँजीपति वर्गकोे रक्षाकवज बने । नेपालमा कम्युनिष्ट राजनीति आज सत्ता सम्हाल्ने अवस्थामा आइपुग्यो । त्यसको नेतृत्व नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् । उनमा कम्युनिष्ट राजनीतिको मुल्यमान्यताको कुनै अंशपनि देखिँदैन । त्यसैले नेपालमा कम्युनिष्ट राजनीतिलाई लोगोको रुपमा दुरुपयोग गरियो । कम्युनिष्ट विचार, आदर्श, मुल्यमान्यता र आचरणबाट नेपालको कम्युनिष्ट राजनीति बेदखल भएको छ । कम्युनिष्ट परिकल्पनाको दुरुपयोग गरियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत प्राप्त सरकारको नेतृत्व गरिरहेको अवस्थामा प्रतिनिधिसभाको विघटन गरे । सर्वोच्च अदालतले त्यसलाई ब्युँताई दियो । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भयो । अझै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ओली सरकारलाई विश्वासको मत दिइरहेको छ । नेपाली कांग्रेसले वैकल्पिक सरकारको लागि कुनै अग्रसरता लिएको देखिँदन । ओलीले जनता समाजवादी पार्टीमा पनि चलखेल गरेको देखिन्छ । नेपालको राजनीति अकर्मण्यतामा फसेको छ । यसमा तपाईँको भनाई के छ ?

नेपालको राजनीति आजको अवस्थामा आउनुको मुख्य दोषी प्रधानमन्त्री ओली हुन् । उनकै अहंमता र घमण्डका कारण आजको अवस्था आएको हो । राजनीतिक हिसाबले ओली कम्युनिष्ट भएपनि व्यवहारतः दलाल नोकरशाही पुँजीपति वर्गको रक्षक हुन् । नक्कली राष्टवादी बनेर जनताको मत प्राप्त गरे । दुई तिहाई नजिकको सरकार पनि बन्यो । तर, त्यसलाई आफैँले दुर्घटनामा पारे । आफ्नै पार्टीभित्रका फरक मत राख्नेहरुलाई ठिक पार्न खोजे । अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्यो । स्वयम् एमाले पनि कुन दिन फुट्ने हो टुङ्गो छैन । ओलीले लोकतन्त्रको धज्जी उडाए । संविधानको दुरुपयोग गरे । शक्ति पृथकीकरणको सिद्धान्त विपरीत व्यवस्थापिका र न्यायपालिकालाई प्रभावित गरे । राज्यसत्ताको चरम दुरुपयोग गरे । भ्रष्टाचार र महंगीको पर्याय बन्यो ओली सरकार । ओलीले जनता समाजवादी पार्टीलाई फुटाउन चलखेल गरिरहेका छन् । उनको चक्रब्युहबाट जसपाका नेता कार्यकर्ताहरु बेलैमा होसियार हुनुपर्छ । क्रमशः आफूलाई तानाशाह बनाउँदै लगेका छन् । ओली प्रवृत्तिलाई परास्त गर्न ढिला गर्नु हुँदैन । कांग्रेस आफैँ कुइराको काग जस्तो छ । जनता समाजवादी पार्टीले ओली प्रवृत्तिविरुद्ध जनमत निर्माण गर्नुपर्छ ।

तपाईँ जनता समाजवादी पार्टीको नेता हुनुहन्छ । आज देशमा राजनीतिक अन्यौलता छ । राजनीतिले मार्ग स्पष्ट गर्न सकेको छैन । देश अब कुन दिशातर्फ जाने हो स्पष्ट छैन । आफूलाई वैकल्पिक राजनीति गर्ने भन्ने तपाईको पार्टीको यस्तो अवस्थामा कस्तो भूमिका हुन्छ र हुनुपर्छ । जसपाले के गर्दैछ ?

नेपालका परम्परागत राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट नेपाली जनता वाक्कदिक्क भएका छन् । विगतमा कांग्रेसको शासन नेपाली जनताले देखिसकेका र भोगिसकेका छन् । नेकपाको सत्ता आज नेपाली जनताले हेरिरहेका र भोगिरहेका छन् । कम्युनिष्ट सत्ताबाट पनि नेपाली जनता निराश भएका छन् । जनताले रानजीतिमा विकल्प खोजिरहेका छन् । जनता समाजवादी पार्टी जनताको सोही मनोविज्ञानका आधारमा निर्माण भएको राजनीतिक शक्ति हो । यसले आफूलाई वैकल्पिक शक्तिको रुपमा उठाउन खोजिरहेको छ । जनतालाई त्यसको अनुभूति गराउन खोजिरहेको छ । नेपालमा परम्परागत राजनीतिको विकल्पमा समाजवादी धार निर्माण गर्नु पहिलो जिम्मेवारी हो । त्यसैको जगमा शासन प्रणाली र राज्य प्रणालीमा विकल्प दिएर देशलाई वैकल्पिक सत्ताको मार्गदर्शन गर्नुपर्छ । जनता समाजवादी पार्टीले सोही मार्गदर्शनलाई आत्मसात् गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद मार्फत् शासन प्रणालीमा विकल्प खोजेको छ । पहिचान र अधिकारमा आधारित राज्यको पुनर्संरचना गरेर राज्य प्रणालीमा विकल्प दिन खोजेको छ । सोही आधारमा आजको नेपालको अस्तव्यस्त राजनीतिलाई आफ्नो अगुवाई र नेतृत्वमा सम्हाल्न जसपाले चाहेको छ । सोही बमोजिम आफ्ना क्रियाकलापहरुलाई व्यवहारमा ल्याएको छ ।

विद्युत जी, तपाईँसँग आगामी दिनमा प्रधानता डटकमले पुनः कुराकानी गर्ने नै छ । त्यसबेला अन्य थुप्रै विषयमा तपाईँसँग कुराकानी गर्नेछौँ । आज तपाईँसँग अन्तिम प्रश्न राख्न चाहन्छु । नेपाली जनता नेपालको विद्यमान राजनीति, राजनीतिक दल र नेता कार्यकताहरुसँग सन्तुष्ट छैनन् । जनताको तहबाट विरोध धेरैनै भएको सुनिन्छ । तर, उही पार्टी, नेता र राजनीतिलाई पटक–पटक जनतले नै विजयी गराउँछन् । यस्तो किन भएको होला ? मैले तपाईसँग यो अन्तिम जिज्ञासा राखेँ ।

हो, तपाईँले महत्वपूर्ण जिज्ञासा राख्नु भयो । नेपालको राजनीतिमा ०४६ सालदेखि नै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुनै न कुनै रुपमा सत्तासीन छन् । केपी ओली, शेर बहादुर देउवा, माधव कुमार नेपाल लगायतका केही नेताहरु निरन्तर सत्तामा छन् । उनीहरु विगत ३० वर्षदेखि सत्तामा छन् । तर, देशको दुर्दशा कायमै छ । सामाजिक विभेद र उत्पीडन कायमै छ । गरिबी र बेरोजगारी उही अवस्थामा छ । जनताको जीवनमा उल्लेखनीय सुधार हुन सकेको छैन । तरपनि त्यही पार्टी र नेताको निरन्तरता कायमै छ । यसमा जनताले पनि गम्भीर भएर सोच्ने बेला आएको छ । पटक–पटक टेस्टेड भएका पार्टी र नेताहरुलाई पुनः विजयी गराउने गल्ती गर्नु हुँदैन । चुनावमा लोभ्याउनेहरुले जनतालाई फसाई रहेका छन् । भ्रष्टाचार गरेर कमाएको पैसाले जनमत किनिरहेका छन् । चुनावमा पैसाले भोट किन्नेसँग जनता होसियार हुनुपर्छ । चुनावका बेला दिने फोस्रा नाराबाट होसियार हुनुपर्छ । के ठिक र को बेठिक हो पहिचान गरेरमात्रै जनप्रतिनिधि निर्वाचित गर्न जनचेतनाको वृद्धि हुन जरुरी छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *