ढोरपाटन शिकार आरक्ष नेपालको रुकुम, वाग्लुङ र म्याग्दी जिल्लामा रहेको एकमात्र शिकार आरक्ष हो ।

 

काठमाडौँ, चैत्र ८ गते ।

ढोरपाटन शिकार आरक्ष नेपालको एकमात्र शिकार आरक्ष यो । यो पश्चिम नेपालको रुकुम, वाग्लुङ र म्याग्दी जिल्लामा अवस्थित छ । वि.सं. २०४० सालमा स्थापना भएको यस आरक्षको कुल क्षेत्रफल १ हजार ३ सय २५ वर्ग किलोमिटर रहेको छ । ढोरपाटनको अर्थ फराकिलो ठाउँ भन्ने हुन्छ । सेता हिमालको चुचुरा नजिकबाट देखिने यो क्षेत्र अत्यन्तै मनमोहक रहेको छ । यो आरक्ष समुद्र सतहबाट २ हजार ८ सय ५० मिटरदेखि ७ हजार २ सय ४६ मिटरको उचाइमा अवस्थित छ । जैविक र प्राकृतिक विविधताले भरिपूर्ण यो आरक्ष बाह्य तथा आन्तरिक पर्यटक सबैको लागि धेरै महत्वपूर्ण छ । यसको कुल भूभागमा २६ प्रतिशत वाग्लुङ, ६० प्रतिशत रुकुम र १४ प्रतिशत म्याग्दी जिल्लामा पर्छ । बीचमा उत्तरगंगा नदी रहेको छ । हिमाली र पहाडी भूभागको संगमस्थल भएकाले यो क्षेत्र अत्यन्तै मनमोहक देखिन्छ । यहाँ ढोरबाराही मन्दिर छ । यसको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । त्यसैगरी रुद्रताल पनि त्यहाँ अवस्थित छ ।

रुकुमको टक र वाग्लुङको सेरा क्षेत्रबीच रहेको टकसेरा क्षेत्र पनि यहीँ अवस्थित छ । ढोरपाटन शिकार आरक्ष क्षेत्रमा १ सय ८५ थरीका दुर्लभ वनस्पति, ३२ थरीका स्तनधारी वन्यजन्तु र १ सय ३० प्रजातिका चराचुरुङ्गी पाइन्छन् । उत्तरगंगा नदीको शिरमा २२ वटा धारा छन् । जाडो मौसममा यहाँ ५ फिटसम्म हिउँ जम्छ । गर्मी मौसममा पनि चिसो हावा चल्छ । यहाँका मानिसहरु ६ महिना लेक र ६ महिना बेसीँमा बस्ने गर्छन् । उच्च लेकाली भूभाग भएकाले यहाँको प्रमुख उत्पादन आलु हो । लेक भएको कारण धान, मकै र कोदोको उत्पादन हुँदैन । वाग्लुङको बुर्तिवाङबाट १ दिनको पैदल यात्राबाट ढोरपाटन पुग्न सकिन्छ । पैदल यात्राको क्रममा मनोरम दृष्यहरु अवलोकन गर्न पाइन्छ । रुकुम र म्याग्दी हुँदैपनि यस क्षेत्रमा पुग्न सकिन्छ । ढोरपाटन शिकार आरक्षलाई फागुने, सुर्तिवाङ, बासै, धुस्वुङ, सेङ्ग, दोगाडी र सुनदह गरी ७ वटा ब्लकमा विभाजन गरिएको छ । यी सबै ब्लकमा घुम्न कम्तिमा तीन दिन लाग्छ । त्यहाँ स्याउको सुकुटी, भेडा च्याङ्ग्राको सुकुटी र बँदेलको मासु तथा सुकुटी खान पाइन्छ । ढोरपाटन शिकार आरक्षमा बाह्य तथा आन्तरिक पर्यटकहरु जाने गर्छन् । यस क्षेत्रको अवलोकन अध्ययन गर्न जरुरी छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *