काठमाडौं, फागुन १८ गते ।
पर्ल हार्बरमाथि जापानी आक्रमण हुनुभन्दा पहिलेसम्म राष्ट्रपति रुजवेल्ट मूलतः बिग्रेको अमेरिकी अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउन प्रयत्नशील थिए । आन्तरिक राजनीतिक परिस्थितिमाथि पकड जमाउने कुरामा उनको ध्यान केन्द्रित थियो । युरोपेली युद्धमा अमेरिकी भागिदारीको प्रश्नमा उनी सचेत थिए । तर उनी कुनै पनि हालतमा बेलायत र उनका सहयोगीहरूले युद्ध जित्नुपर्छ भन्ने चाहन्थे । उनले त्यसका लागि ऋणको रूपमा युद्धजन्य हातहतियार र सरसामानहरू उपलब्ध गराए । जर्मन र त्यसका सहयोगीहरूविरुद्ध उनी जोसुकैलाई सहयोग गर्न तयार थिए । विश्वमा अमेरिकाको छवि लोकतन्त्र र लोकतान्त्रिक शक्तिको रक्षकको रूपमा बनाइराख्न रुजवेल्ट प्रयत्नशील थिए तर पर्ल हार्बरमाथिको आक्रमणले उनलाई झकझक्याई दियो । त्यसले गर्दा बाध्य भएर उनले धुरी राष्ट्रको विरुद्ध युद्धको घोषणा गरे । पोलियो रोगका कारण कुँजो भएका रुजवेल्ट युद्धका लागि भागदौड गर्न लायक त थिएनन् तर आफ्नो दृढ इच्छाशक्तिले गर्दा उनले आफ्नो जिम्मेवारी मात्रै होइन, पूरै विश्वयुद्धको दौरानमा मित्रशक्तिहरूको नेतृत्वसमेत गरे ।
उनको दूरदर्शिता र अदम्य साहसका लागि इतिहासले उनलाई सम्झिरहनेछ । संयुक्त राष्ट्रसङ्घको स्थापना उनकै अथक प्रयासका कारण भएको हो । दुईवटा विपरीत धु्रवका चर्चिल र स्टालिनलाई मिलाएर लैजाने बलबुता उनैमा देखियो । पूरै युद्धकालभरी अमेरिकी प्रतिक्रियावादी शक्तिहरूले उनको विरुद्धमा अभियान चलाइराखे तर अमेरिकी जनताको पूरापूर समर्थन उनलाई प्राप्त थियो । औपनिवेशिक नीतिका बारेमा उनले खुलेरै स्टालिनको समर्थन र चर्चिलको विरोध गरे । फ्रान्सको मामलामा पनि उनले दिगालको समर्थन र चर्चिलको विरोध गर्ने निर्णय गरे । दोस्रो विश्वयुद्धको दौरानमा मित्रशक्ति र विश्वनेताहरूको जति सम्मेलन भए, त्यसमा उनको महत्वपूर्ण भूमिका र हरेक सम्मेलनको उनले अध्यक्षता गरे । १२ अप्रिल, १९४५ मा युद्ध अन्त्य हुन बाँकी रहेको बेला उनको मृत्यु भयो । त्यसपछि ट्रुमेनले नेतृत्वको दिशा बदले । यस्तो भनिन्छ कि रुजवेल्ट केही दिन बाँचेका भए विश्वलाई पारमाणिक अस्त्रको विभिषिकाबाट बचाउन सकिन्थ्यो ।