सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको जन्म अनौठो र आश्चर्यचकित ढंगबाट भएको थियो ।

 


काठमाडौं, फागुन १७ गते ।

आज भन्दा लगभग २५ सय वर्ष पहिले हालको रुपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा वैशाख शुक्ल पूर्णिमाको दिन बौद्ध धर्मका प्रवर्तक महामानव गौतम बुद्धको जन्म भएको थियो । उनी शाक्य वंशका राजा सुद्धोधन र रानी मायादेवीको कोखबाट जन्मिएका थिए । राजा सुद्धोधनको राजधानी हालको कपिलवस्तु जिल्लाको तिलौराकोट भन्ने ठाउँमा थियो । उनी प्रजाबाट अत्यन्तै प्रशंसित राजा थिए भनिन्छ । गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । ‘सिद्धार्थ’ को अर्थ हुन्छ सबैको इच्छा परिपूर्ण भएको । सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको जन्म अनौठो र आश्चर्यचकित ढंगबाट भयो । शाक्य वंशको तत्कालिन संस्कार अनुसार माइती घरमा गएर बच्चा जन्माउनु पथ्र्यो । सुद्धोधनले विवाह गरेको बीस वर्षपछि एक रात मायादेवीले एक विचित्र प्रकारको सपना देखिन् । उक्त सपनामा एउटा सेतो हात्ती मायादेवीको दाहिने कोखबाट गर्भाशयमा प्रवेश ग¥यो । उक्त सपना देखेपछि उनी गर्भवती भइन् भनिन्छ । बच्चा जन्माउन उनी माइतीघर जाँदै थिइन् । उनी लुम्बिनी भन्ने ठाउँको एक सुन्दर बगैंचामा पुगिन् र विश्राम गरिन् । वरीपरी अशोक जातका फूलहरु प्रशस्तै फुलेका थिए । उनले आनन्दित भई ती फूल टिप्न पूmलको हाँगो समाउने क्रममा सिद्धार्थ गौतमको जन्म भएको हो भनिन्छ । सिद्धार्थ गौतम जन्मने बित्तिकै सात पाइला हिँडेका थिए भनिन्छ । उनी जन्मेको सात दिनमा आफ्नी आमा मायादेवीको मृत्यु भए पश्चात् टुहुरो बने ।

टुहुरो बालकलाई उनकै सौतेनी आमाले हुर्काएकी थिइन् । उनले सौतेनी आमा प्रजापतीको लालनपालनमा हुर्किने अवसर पाए । न्वारनमा ज्योतिषीहरुले त्यो बालक महान् बन्ने भविष्यवाणी गरेका थिए । सिद्धार्थ गौतमको स्वभाव एकान्तप्रिय थियो । ज्योतिषीले उनी महान् राजा बन्ने र त्यसो नभएमा महान् तपस्वी धार्मिक व्यक्ति हुने भनेका थिए । एक्लो छोरोले राजकाज छोड्ने भयो भनेर बुबा चिन्तित थिए । उनी गम्भीर मुद्रामा रहेर सधैं विचारमग्न हुन्थे । नरम र दयालु प्रकृतिका गौतम बुद्ध आमाको सम्झनामा सधैं चिन्तित हुन्थे । बुबा सुद्धोधनले एक सुयोग्य उत्तराधिकारी बनाउने उद्देश्यले उनलाई युद्धकला, अर्थशास्त्र, कुटनीति, राज्य सञ्चालन विधि आदि समेत सिकाई सकेका थिए । सिद्धार्थ गौतमको विचार भने अन्य कुरामै भौँतारिन्थ्यो । उनी मानवकल्याणका निम्ति सोचिरहन्थे । मानिस रोगी हुने, बुढो हुने, मर्ने आदि कारणहरुको बारेमा सोचिरहेका हुन्थे । उनको विवाह यशोधरासँग सम्पन्न भयो । विवाहको १० वर्षसम्म उनले वसन्त, हेमन्त र वर्षा नामका तीन दरबारहरुमा बिताए । उनी जीवनको सत्य बुझ्न घोरिन्थे । २९ वर्षको उमेरमा एक सुनसान रातमा सत्यको खोज गर्न राजदरबार त्यागेर हिँडे । उनले तपस्या गर्न थाले । हालको भारतको गया भन्ने ठाउँको ‘उरुबेल’ भन्ने जंगलभित्र पिपलको रुखमुनि ध्यान गर्दागर्दै ज्ञान प्राप्त गरे । त्यो दिन वैशाख शुक्ल पूर्णिमाको दिन थियो । ज्ञान प्राप्त गरेपछि उनलाई बुद्ध भन्न थालियो । आजभोलि त्यस गया भन्ने ठाउँलाई बोधगया भनिन्छ । उनको ज्ञान आज बुद्धधर्म बन्न पुगेको छ । उनलाई एसियाका तारा पनि भनिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *