काठमाडौं
त्रिभूवन विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरु आन्दोलित भएका छन् । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन धर्ना कार्यक्रम शुरु गरेका छन् । चैत्र ३० गतेबाट रजिष्ट्रारको कार्यालयको गेटमा प्राध्यापक र कर्मचारीहरुले धर्ना शुरु गरेका हुन् । डा. नन्दकिशोर सिंहका अनुसार निवृत्तिभरण (पेन्सन) व्यवस्थापनको लागि धर्ना कार्यक्रम गरिएको हो । दशकौं सेवा गरेका प्राध्यापक र कर्मचारीहरुलाई त्रिवि प्रशासनले पेन्सन सुविधाबाट बञ्चित गरेको उनीहरुले आरोप लगाएका छन् ।

नेपाल सरकारको २०८२ असार २० गतेको निर्णय अनुसार त्रिविमा पेन्सन व्यवस्थापन गरिनु पर्ने उनीहरुको माग रहेको छ । त्रिविले २०६८ बैशाख ८ गते देखिनै प्राध्यापक र कर्मचारीहरुको पेन्सन सुविधा हटाएको थियो । उक्त निर्णयलाई उल्टाएर नेपाल सरकारको निर्णय बमोजिम पेन्सन सुविधा उपलब्ध गराउनु पर्ने माग राखेका छन् । विश्वविद्यालयमा विगत तीन दशकदेखि सेवा गरेका प्राध्यापक र कर्मचारीहरु छन् । उनीहरु पेन्सन सुविधाबाट बञ्चित भएका छन् । उनीहरुले जीवनभर त्रिविमा सेवा गरेका छन् ।

जीवनको उत्तरार्धमा उनीहरु रित्तो हात लिएर अवकास हुँदैछन् । ती प्राध्यापक र कर्मचारीहरुमाथि अपमान र अन्याय गरिएको धर्नामा बसेका प्राध्यापक र कर्मचारीहरुले बताएका छन् । श्रमको सम्मान, संस्थागत न्याय र राज्यको उत्तरदायित्वबाट त्रिवि भाग्न निमल्ने उनीहरुले चेतावनी पनि दिएका छन् । पूर्ववर्तीहरुलाई जस्तै हाल सेवामा रहेकाहरुलाई पनि निवृत्तिभरण सेवा उपलब्ध गराउनुपर्ने माग गरेका छन् । समानताको सिद्धान्तविपरीत अन्यायपूर्ण व्यवहार गर्न नहुनेमा उनीहरुले जोड दिएका छन् ।

त्रिविका प्रा.डा. विनोद पराजुलीको नेतृत्वमा २०८१ साल पौष १६ गते एक आयोग गठन गरिएको थियो । उक्त आयोगले स्पष्ट रुपमा पेन्सन सुविधा उपलब्ध गराउनु भन्ने निर्देशन गरेको छ । तर, त्रिवि प्रशासनले यसको कार्यान्वयमा ढिलो गरिरहेको छ । नेपाल सरकारको निर्णय र आयोगको निर्देशन कार्यान्वय गराउन अनिश्चितकालीन धर्ना कार्यक्रम शुरु गरिएको धर्नाको अगुवाई गरेका डा. सिंहले बताउनु भयो ।