तापमान वृद्धि, जलवायु परिवर्तन र भविष्यको लागि गम्भिर चुनौती

 

अमृत पुरी

गत असार २४ गतेको रात रसुवागढीमा एक्कासी आएको बाढीले धनजनको ठूलो क्षति हुनगयो । अकल्पनीय रुपमा मानिसहरुको ज्यान जानुका साथै बाढीले नेपाल–चीन जोड्ने प्रमुख नाका रसुवागढीको मितेरी पुल बगाउँदा चीनको प्रशासनिक र भन्सार कार्यालय भवन अगाडि नेपालतर्फ ठुलो क्षति पुग्यो । जसका कारण सवारीसाधन तथा मानिसहरूको आवतजावत प्रभावित भयो । बाढीले रसुवागढी नाकामा भौतिक संरचनासँगै अर्बौंको व्यावसायिक लगानी डुब्न गयो । अप्रत्यासित रुपमा आएको बाढीको कारण खोज्दैजाँदा अध्ययनकर्ताहरु चीनको तिब्बत क्षेत्रमा हिमनदी पग्लिएर बनेका हिमतालबाट बाहिरिएको पानीले रसुवामा बाढीको रूप लिएको निष्कर्षमा पुगेका थिए । भू–उपग्रहबाट प्राप्त तस्वीर विश्लेषणको आधारमा पनि अनुसन्धानकर्ताहरू हिमनदी पग्लिएर बाढीको रूप लिएको निष्कर्ष नजिक पुगेका हुन् । यस्तै अघिल्लो वर्ष २०८१ साल असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट सैयौंको मत्यु, वेपत्ता तथा १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति मुलुकले व्यहोर्नु परेकोृ थियो ।

भीषण बाढी–पहिरो र ग्लेसियर विस्फोटनबाट त्यो विषम अवस्था सिर्जना भएको थियो । यो पछिल्लो मौषमी सङ्कट नै जलवायु परिवर्तको एउटा ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ । पृथ्वीको तापमान क्रमशः वृद्धि हुँदै वर्षा, तापक्रम, आद्र्रता, वायुको गति जस्ता पर्यावरणीय स्थितिमा दीर्घकालीन प्रतिकुल अवस्था आउनु नै जलवायु परिवर्तन हो । पृथ्वीको सतह र वायुमण्डल असन्तुलन भई सम्पूर्ण प्रकृति, सजीव र निर्जीव वस्तुको गतिमा दीर्घकालीन असर पुग्नुलाई जलवायु परिवर्तनको असरको रुपमा हेर्न सकिन्छ । क्रमिक रुपमा पछिल्ला वर्षहरु जलवायु परिवर्तन विश्वकै लागि चुनौती बन्दै गइरहेको देखिन्छ । बढ्दो तापक्रम र चरम मौसमी परिघटनाले सबै प्राणीलाई असर गरिरहेको छ । विश्वका दुईसय भन्दा बढी राष्ट्रका आठ अर्ब भन्दा बढी जनसंख्या दिनप्रतिदिन मौसमी जोखियुक्त जीवनमा प्रवेश गर्दै गइरहेको छ । यसै शिलसिलामा नेपालजस्ता हिमाली तथा विकासशील राष्ट्रहरुमा जलवायु परिवर्तनको असर गम्भीररूपमा पर्दै गएको देखिन्छ । अहिले गम्भीर प्रकृतिका प्राकृतिक विपत्तिको सामना गर्नु परेको छ । हिमाली क्षेत्रको स्थायित्व र वातावरणीय तत्वमा भयङ्कर किसिमका नोक्सान हुँदै गएको देखिएको पनि छ ।

विश्वका ठूला र शक्ति राष्ट्रहरू कार्बन उत्सर्जनमा औद्योगिक प्रतिस्पर्धा गरिरहेका छन् । शक्ति आर्जनको होडमा औद्योगिक मुलुकले तापमान बढाउन भूमिका खेलिरहेका छन् । जसको परिणाम गरिब राष्ट्रहरु भने वातावरणीय प्रभाव, प्रदूषण, बाढी–पहिरो अतिवृष्टि, अनावृष्टि, सुख्खापन र यसले निम्त्याएको उत्पादनहीनता, भोक, अभाव, गरिबी, विभिन्न किसिमका रोग र द्वन्द्वको सामना गर्न बाध्य बन्दै गएका छन् । यसरी तापमान बढ्दै जाँदा भावी सन्ततिले सामुहिक आत्महत्या गर्नुपर्ने अवस्था निम्तिन सक्दछ । अनेक महामारी र रोगहरूले एकैचोटी करोडौंको संख्यामा प्राणीजगतको विनाश हुने खतरा आउँछ । यस्तो समस्याबाट नेपालसमेत मुक्त रहन सक्दैन । विश्वमा बढ्दै गएको तापमान वृद्धि र जलवायु परिवर्तनको गम्भीर असर नेपालमा केही वर्ष यतादेखि देखिंदै आएको छ । केवल तापमानमा वृद्धिमात्र नभएर अतिवृटि, अनावृष्टि, हिमालयमा हिउँ पग्लीदै गएको छ भने, बाढी पहिरो जस्ता प्रक्रोप पनि समस्या बन्दै गइरहेको छ । केही अध्ययनहरुमा उल्लेख भएअनुसार जलवायु परिवर्तनले डढेलो, चर्को गर्मी र अचानक बाढी पहिरोको समस्या देखा परेको छ । त्यस्तै करिब ४७ वटा हिमताल विस्फोटको जोखिममा परिसकेको बताइन्छ ।

जलवायु परिवर्तनले पुर्‍याइरहेको असरले संसारभरि मौसम प्रणाली खलबलिएको र तिनले यस्तै अतिवृष्टि, खडेरी, व्यापक डढेलो, हिमताल विस्फोटन जस्ता अप्रत्यासित विपदहरूको संख्या र स्तर बढाइदिने वैज्ञानिकहरूले बताइरहेका छन् । हिमाली क्षेत्रमा हिमताल विस्फोट हुने जसले तलतिर बाढी अनि पहिरो निम्त्याउने, पहिरोले खोला थुन्ने अनि तल्लो तटमा झन् ठूलो बाढी र डुबान ल्याउने जस्ता घटनाबारे उनीहरूले सजग गराइरहेका छन् । नेपालमा करिव ०.०५६ डिग्री सेल्सीअस तापक्रम वृद्धि भइरहेको बताइन्छ । यो अङ्क नेपालको औसत वार्षिक तापमान वृद्धि भइरहेको सुचक हो । जल तथा मौसम विज्ञान विभागले सन् २०१७ मा निकालेको निचोडले नेपालमा वार्षिक अधिकतम तापक्रमको वृद्धिदर औसतमा ०.०५६ डिग्री रहेको देखाएको थियो ।

मध्यम कालमा सन् २०१६ देखि सन् २०४५ सम्म औसत तापक्रम ०.९ देखि १.१ डिग्रीले बढ्ने र दीर्घकालमा भने सन् २०३६ देखि २०६५ सम्ममा औसत तापक्रम १.३ देखि २.८ डिग्रीले बढ्ने पनि उक्त दस्तावेजमा उल्लेख छ । अन्तर्राष्ट्रिय जगतले तापक्रमको औसत वृद्धिलाई औद्योगिक कालभन्दा पहिलेको तुलनामा डेढ डिग्री सेल्सीअसमा सीमित गर्ने भनिरहेको छ । तर यसका दुईवटा पाटा छन् । एक त उक्त लक्ष्यलाई भेट्न आवश्यक हरितगृह ग्याँस उत्सर्जनको कटौतीमा अपेक्षित तदारुकता देखिँदैन भने अर्को यो लक्ष्य भेटिइहाले पनि यसको प्रभाव अन्यत्रभन्दा नेपालजस्तो हिमाली देशमा धेरै पर्ने देखिन्छ । जलवायु परिवर्तनको गति तिव्र देखिएको छ भने यसलाई न्युनिकरण गर्ने गति शुस्त देखिएको छ । अधिक कार्वन उत्सर्जन गर्ने विश्वका शक्ति राष्ट्रहरु अवस्य पनि यसको कारक हुन् । तर असर भोगेका नेपालजस्तो कमजोर र सानो मुलुकहरुले यसको न्यूनिकरणमा खासै ठूलो भूमिका निर्वाह गर्न सक्दैनन् । तर यसको असर यस्तै नेपाल र नेपालजस्ता साना देशहरु प्रत्यक्ष परिरहेको छ । हेर्दा वा सुन्दा थोरै जस्तो लागे पनि यो स्तरको तापमान परिवर्तनका कारण अहिले नै ठूलाठूला असर पर्न थालिसकेको केही विज्ञहरूको भनाई छ ।

नेपालको हकमा यसले वर्षाको प्रवृत्तिमा व्यापक फेरबदल, हिमताल विस्फोटन, अनपेक्षित विपद् लगायतका असर पर्ने जसले गर्दा खाद्य उत्पादन, जलस्रोत व्यवस्थापन तथा जनजीविकामा प्रभाव पर्दछ । तापक्रम वृद्धिले औसत वर्षाको परिमाण मध्यम कालमा दुईदेखि छ प्रतिशत अनि दीर्घकालमा आठदेखि १२ प्रतिशतले बढ्ने सरकारी एवं अन्तर्राष्ट्रिय संस्थाहरुको एक अध्ययनले समेत देखाएको छ । विश्वव्यापी जलवायु सम्झौता पेरिस अग्रीमेन्टबमोजिम सबै देशले तापक्रम वृद्धिलाई नियन्त्रण गरेर डेढ डिग्रीमा सीमित गर्दा पनि त्यसको असर हिमाली क्षेत्रमा डरलाग्दो पर्ने जलवायु परिवर्तनका जानकारहरुको भनाइ छ । विज्ञहरुको भनाई अनुसार अहिले नै विश्व तापक्रम १.१ डिग्रीले बढिसकेको छ । त्यसलाई १.५ डिग्रीमा सीमित पार्दा पनि हाम्रो हिमाली क्षेत्रको एकतिहाइ हिउँ पग्लिने देखाएको छ । यसको अर्थ विश्वका ठूला देशले प्रतिवद्धता व्यक्त गरेबमोजिम नै तापक्रम वृद्धिको गति घटाउन सके पनि हिमाली देशहरूका निम्ति त्यो प्रयास अप्रयाप्त देखिन्छ ।

नेपालले विश्वव्यापी तापक्रम वृद्धि रोक्ने दिशामा हरितगृह ग्याँस उत्सर्जन कटौती गर्ने शून्य कार्बन उत्सर्जनको लक्ष्य सन् २०५० सम्म भेट्ने संयुक्त राष्ट्रसंघमा बुझाएको प्रतिवेदनमा उल्लेख गरेको छ । तर उत्सर्जनका वास्तविक अगुवा देशहरू नै अग्रसर नभएसम्म यसले सार्थक परिणाम ल्याउन सक्दैन । मौसममा आउने उथलपुथलले विगतमा जलवायु परिवर्तनका असरबाट बच्न अपनाइएका अनुकूल उपायहरू अब पर्याप्त नहुने र गरिब अनि न्यून कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता मुलुकमा आइपर्ने ठूल्ठूला हानिनोक्सानीको कतैबाट लेखाजोखा र क्षतिपूर्ति हुनुपर्ने आवाज उठिरहेका छन् । विगत कैयन वर्षदेखि विकासोन्मुख देशहरूले अनुकूलन तथा क्षति न्यूनीकरणलाई जलवायु परिवर्तनसँग जुध्ने प्रमुख नीतिगत औजार बनाइरहेका छन् । तर अब यस्तो प्रयासमात्र समस्या समाधानमा अपुग देखिएको छ ।

नेपालजस्ता देशले कार्बन उत्सर्जन गर्ने ठूला शक्ति राष्ट्रहरुलाई कार्बन उत्सर्जन घटाउन घच्घच्याउनका साथै ठूलो स्तरका हानिनोक्सानीका विषय पनि गम्भीरताका साथ उठाउनु पर्दछ । जलवायु परिवर्तनका कारण विश्वभर देखिएका प्राकृतिक र वातावरणीय सङ्कट र त्यसले प्राणी जगतमा निम्त्याएको समस्या के छ ? समग्र प्रकृति र मानवजीवनकै दिगो भविष्यको रक्षार्थ कस्ता नीति कार्यक्र अवलम्बन गर्नुपर्छ ? जलवायु परिवर्तन विरुद्ध नेपालको मुख्य उद्देश्य नागरिकलाई बचाउनु मात्र नभई, भावी सन्ततिको सुरक्षित, दिगो भविष्य निर्माण तथा भावी पुस्ताको जीवनरक्षा र समग्र नेपाली भौगोलिक अवस्थालाई जोगाउने तर्फ रहनु आवश्यक भएकाले समग्र देश नै यसतर्फको चिन्तनमा केन्द्रीत हुनुपर्ने अवस्था आइसकेको छ ।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *