विश्वव्यापी उष्णीकरण, जलवायु परिवर्तन, नेपालमा समस्या र समाधान

 

राधा थापा

परिचय

आजको विश्वले भोगिरहेको प्रमुख प्राकृतिक चुनौतीमध्ये विश्वव्यापी उष्णीकरण (Global Warming) र जलवायु परिवर्तन (Climate Change) अत्यन्त गम्भीर विषय हुन् । औद्योगिक क्रान्तिपछि बढेको ऊर्जा खपत, जीवाश्म इन्धनको अत्यधिक प्रयोग, वन विनाश र अनियन्त्रित प्रदूषणका कारण पृथ्वीको तापक्रम निरन्तर वृद्धि भएको छ । यसैको परिणामस्वरूप जलवायु असामान्य हुँदै गएको छ, जुन मानव समाज, प्राकृतिक प्रणाली र विश्वव्यापी विकासका लागि ठूला चुनौतीका रूपमा देखा परेको छ ।

विश्वव्यापी अवस्था

१८औँ शताब्दीको औद्योगिक क्रान्तिपछि कोइला, पेट्रोलियम र प्राकृतिक ग्यासको प्रयोगले वातावरणमा कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडजस्ता हरितगृह ग्यासको मात्रा असामान्य रूपमा बढाएको छ । यसले पृथ्वीको औसत तापक्रम लगभग १.२ डिग्री सेल्सियसले वृद्धि गरेको छ । यसको परिणामस्वरूप हिमनदी पग्लनु, समुद्री सतह बढ्नु, असामान्य वर्षा, आँधीबेहरी, सुख्खा, गर्मी लहर जस्ता चरम मौसमी घटना बढेका छन्। साथै जैविक विविधता संकट, खाद्य असुरक्षा, पानीको कमी, स्वास्थ्य समस्या र प्राकृतिक प्रकोप विश्वका साझा चिन्ता बनेका छन् ।

नेपालको समस्या

नेपाल विश्वव्यापी कार्बन उत्सर्जनमा केवल ०.०३ प्रतिशत मात्र जिम्मेवार भए पनि जलवायु परिवर्तनबाट सर्वाधिक प्रभावित देशमध्ये एक हो । हिमाल, पहाड र तराईजस्ता भौगोलिक विविधताले गर्दा यहाँ जलवायु परिवर्तनका असरहरू स्पष्ट देखिन्छन् ।

१. हिमनदी पग्लनु र हिमताल फुट्ने खतरा (GLOF) – त्सो रोल्पा, इम्जा तालजस्ता हिमताल फुट्ने सम्भावना उच्च छ ।
२. कृषि क्षेत्रमा असर – अनियमित वर्षा, लामो सुख्खा, कीरा–रोग प्रकोपले खाद्यान्न उत्पादनमा गिरावट ।
३. जलस्रोतमा समस्या – नदी प्रवाह अनियमित, हाइड्रोपावर उत्पादनमा अवरोध ।
४. विपद् जोखिम – बाढी, पहिरो, भूकम्पपश्चात थप असुरक्षा र जनधनको क्षति ।
५. स्वास्थ्यमा असर – मलेरिया, डेंगु, ज्वरोजस्ता रोग उच्च भूभागसम्म फैलन थालेका छन् ।

समाधानका उपाय

नेपालले राष्ट्रिय अनुकूलन योजना (NAP) र राष्ट्रिय स्तरमा निर्धारित योगदान (NDC) मार्फत् जलवायु परिवर्तनको सामना गर्ने प्रयास गरेको छ । नवीकरणीय ऊर्जाको उपयोग, सामुदायिक वन व्यवस्थापन, दिगो कृषि अभ्यास, जलस्रोतको दिगोपनामा जोड, जनचेतना कार्यक्रम, वातावरणीय शिक्षा तथा अन्तर्राष्ट्रिय सहयोग नेपालका लागि महत्त्वपूर्ण उपाय हुन् ।

निष्कर्ष

विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तन आज विश्वका लागि मात्र होइन, नेपालको अस्तित्व र विकासका लागि पनि गम्भीर चुनौती बनेको छ । नेपालले योगदान नगरे पनि असर बढी सहनु परेको अवस्था छ । अतः वातावरणीय संरक्षण, दिगो विकास अभ्यास र अन्तर्राष्ट्रिय सहकार्यद्वारा मात्र यस समस्याबाट दीर्घकालीन समाधान खोज्न सकिन्छ ।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *