परिवर्तन भट्टराई ‘कृति’, (संयोजक, नेपालमा समृद्धि अभियान)
नेपाललाई हिमालै हिमालको देश भनिन्छ । विश्वकै सबैभन्दा अग्लो चुचुरो नेपालमै छ । सगरमाथको कारण विश्वका हरेक मान्छेले नेपालको नाम लिन्छन् । सगरमाथाको आरोहण गर्ने सपना देख्छन् । त्यसको लागि सहास बटुल्छन् । उत्तरतर्फ अवस्थित हिमालले आफ्नो क्षेत्रमा मात्रै प्रभाव अर्थात् असर गरेको छैन । यसले सम्पूर्ण नेपाललाई नै प्रभावित गरेको छ । वैश्चिक तापमान वृद्धिका कारण नेपालका हिमाल संकटमा छन् । वैज्ञानिकहरुका अनुसार यी हिमाल कुनैदिन काला पत्थरमा परिणत हुने सम्भावना बढेको छ । वैश्चिक तापमान वृद्धि आजकै अवस्थामा रहने हो भने यो शताब्दीको अन्त्यसम्म नेपाल हिमाल बिहीन हुने चेतावनी दिइएको छ । आज हिमालका कारण गर्व गर्ने देश भोलि मरुभूमिको देशमा परिणत हुने खतरा छ ।
नेपालमा सगरमाथा छ । यो विश्वको सबैभन्दा अग्लो स्थान हो । त्यसैले नेपाललाई तृतीय ध्रुव पनि भन्ने गरिन्छ । यहाँ प्रशस्त मात्रामा हिमनदीहरु छन् । ३ हजार २५२ वटा हिमनदीहरु रहेका छन् भनिन्छ । यो संख्या अत्याधिक धेरै हो । यसले नेपालको हिमाली पारिस्थतिक प्रणालीलाई सन्तुलित बनाएको छ । आज यिनीहरुमा गम्भिर समस्या पैदा हुँदै गएको छ । त्यसैगरी नेपालमा २ हजारभन्दा बढी हिमताल रहेका छन् । यो झनै ठूलो कुरा हो । आज यिनीहरुपनि संकटमा पर्दै गएका छन् भनिन्छ । कतिपय तालहरु फुट्ने अवस्थामा छन् । तल्लो भूभागका तटीय क्षेत्रहरु रहेका वस्तीहरु जोखिममा छन् । नेपालका हिमनदीहरुको पग्लिने दर पछिल्ला दिनमा बढ्दै गएका कारण यी तालहरुको सतहपनि बढ्दै गएका छन् ।
रसुवामा केही समय पहिले आएको बाढी यसको एक उदाहरण हो । त्यहाँ कति धेरै धनजनको क्षति भयो ? यो दर ठूलो मात्रामा बढ्नेछ । जसले झनै ठूलो समस्या पैदा हुनेछ । प्रत्येक वर्ष वैश्चिक तापक्रम ०.०६ डिग्री सेल्सियसले बढेको भनिन्छ । यसले नेपालका हिमनदीहरु छिटोछिटो पग्लिरहेका छन् । पछिल्लो २०–२५ वर्षमा तलसम्म पर्ने हिउँ अहिले त्यो ठाउँमा पर्नै छोडेको छ । यो क्रम नरोकिने हो भने नेपालमा जलस्रोतको ठूलो अभाव हुने विज्ञहरु बताउँछन् । इम्जा तालको साइज पछिल्लो ५० वर्षमा धेरै बढेको छ भनिन्छ । यसको फैलावटलाई नरोक्ने हो भने कुनैदिन यसको विष्फोट हुनेछ । त्यसैगरी गोक्यो र च्छो रोल्पमा हिमताल विष्फोटको उच्च जोखिममा छन् । भोलिका दिनमा नेपालले अकल्पनीय क्षेति व्यहोर्नुपर्ने देखिन्छ ।
(हिमताल र हिमनदीसँग सम्बन्धित केही सामग्रीलाई मात्रै समेटिएको छ)