टक्सार (भोजपुर), ९ साउन : भोजपुरका २२ सय बढी घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा विद्युतीकरणले यहाँका दुई हजार दुई सय १९ घरधुरीमा विद्युत्को पहुँच पु¥याइएको जनाएको छ । केन्द्र प्रमुख रामबाबु चौधरीले सदरमुकामबाट सुदूरउत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका–१ को बुमलिङका एक सय ५० घरसहित दुई हजार दुई सय बढी घरमा विद्युत्को पहुँच पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुर्गम ठाउँमा विद्युत्को पहुँच पुर्याउने उद्देश्यअनुसार सो क्षेत्रमा पनि विद्युत् विस्तार गरिएको हो, यसबाट अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको छ ।” वर्षौदेखि बत्तीविना अध्यारोमा बस्न बाध्य ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमा विद्युत् पुगेपछि राहत मिलेको छ । घरमा पहिलो पटक विद्युत्को सुविधा पुगेकामा खुसी हँुदै लालबहादुर भुजेलले भन्नुभयो, “वर्षौदेखि विद्युत्को अभावमा कुपी र मैनबत्तीको भरमा बस्नुपरेको थियो, विद्युत् पुगेपछि हाल त्यो बाध्यता हटेको छ ।
अब हामीलाई सहज भएको छ ।” उहाँ मात्र होइन यहाँ बत्तीको पहुँच पुगेका सबै नागरिक उत्साहित छन् । प्राधिकरणका प्रशासन प्रमुख शान्तिलाल खतिवडाले भन्नुभयो, “जिल्लाका ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम भइरहेको छ, बाँकी रहेका स्थानीय तहमा पनि विद्युत्को पहुँच पु¥याउन यस नयाँ आवमा पनि बजेटअनुसार निरन्तर काम हुनेछ ।” भोजपुर जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् ।
जिल्लामा हालसम्म करिब ८६ प्रतिशत घरमा विद्युतीकरण भइसकेको छ भने विद्युतीकरणका लागि बाँकी रहेको आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिका क्षेत्रमा पनि पूर्ण विद्युतीकरणका लागि कार्यअघि बढेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका सुपरभाइजर दुर्गानन्द चौधरीले बताउनुभयो । जिल्लामा हाल राष्ट्रिय प्रशारण लाइनबाट करिब २६ हजार बढी घरधुरीले विद्युत् सेवा उपयोग गरिरहेका छन् । जिल्लामा अहिले दुईवटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । जसबाट उत्पादित १३ मेगावाट बिजुली पनि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।