भक्तपुर, ३ पुस : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित)ले जनता केन्द्रित भएर आफ्नो जिम्मेवारी पूरा गर्नु जनप्रतिनिधिको कर्तव्य भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ । भक्तपुर नगरपालिकाको ७५ औँ स्थापना दिवसको अवसरमा नगरपालिकाले आज आयोजना गरेको प्रवचनमा उहाँले जनप्रतिनिधि र कर्मचारी आफ्नो काम, कर्तव्य र अधिकारबारे प्रष्ट हुँदै जनताको काममा केन्द्रित भएर लाग्नुपर्ने बताउनुभयो । विजुक्छेंले भन्नुभयो, “प्रदेश सरकार प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा जनतामा निरासा छाएको छ, प्रदेशका मुख्यमन्त्री जनताको समस्या सम्बोधन गर्नुभन्दा पनि ठूलाठूला भवन निर्माणमा बजेट र आफ्नो समय खर्चिरहेका छन् ।” शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायत नयाँनयाँ विषयमा भक्तपुरलाई ‘टेष्ट ट्युब’ को रुपमा विकास गर्नसके देशलाई नै फाइदा पुग्ने बताउँदै उहाँले भक्तपुरलाई सांस्कृतिक नगर बनाउने विषयमा छलफल आवश्यक भएको औँल्याउनुभयो ।
नेपालमा सङ्घीयताको सफल कार्यान्वयन नभए स्वायत्तताको दुरुपयोग हुन सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिँदै अध्यक्ष विजुक्छेंले समयमै राजनीतिक दलहरूले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको इतिहासबारे चर्चा गर्दै संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी भक्तपुर नपाले आवश्यकताअनुसार ऐन, नियम, विनियम र कार्यविधि बनाई जनताको हितमा काम गर्दै आइरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, पर्यटकीय गन्तव्य स्थल र सांस्कृतिक नगर घोषणा गर्ने योजनासहित भक्तपुर नगर अघि बढिरहेको बताउनुभयो । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवा, ख्वप माध्यमिक विद्यालयका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्ललगायतले नगरपालिकाले देखिने गरी उपलब्धिमूलक कामको चर्चा गर्नुभयो ।