अलकायदासँग सम्बद्ध एक इस्लामिक समूहले शुक्रबार मालीको उत्तरी क्षेत्रमा रहेको एक सैन्य अखडा कब्जामा लिएको दाबी गरेको छ । मालीको सेनाले भने टिम्बुक्टु क्षेत्रमा रहेका सैन्य अखडामा भएको आक्रमणलाई प्रतिकार गरेको जनाएको छ । जमात नुसरत अल–इस्लाम वाल मुस्लिमीन (जेएनआईएम) ले शुक्रबार आत्मघाती बम वाहनको सहायताले नियाफुन्के शिविरलाई नियन्त्रणमा लिएको समूहले आफ्नो अल–जलाका फाउन्डेसन नामक सञ्चार सञ्जालमार्फत् जनाएको छ ।
कट्टरपन्थी समूहलाई पछ्याउने अमेरिकी संस्था साइटले शनिबार उक्त वक्तव्यलाई पुष्टि गरेको हो । इस्लामिक लडाकू समूहले युद्धमा दशौं सैनिक मारिएको वा घाइते भएको र दुई जनालाई पक्राउ गरिएको दाबी गरेको छ । उसले कब्जामा लिएको दाबी गरेका पाँच वटा बख्तरबन्द सवारी साधन, हातहतियार र गोलाबारुदसहितको फोटो सार्वजनिक गरेको छ । मालीको उक्त समूहले कब्जा गर्ने शिविरहरूबाट हतियार र महत्वपूर्ण बन्दोबस्तीका सामान उठाउने र प्रायः केही घण्टापछि शिबिर छोड्ने र अर्को निशाना तय गर्ने गर्छ ।
उक्त समूहले गौन्डममा केही माइल टाढा रहेको सेनाको अर्को क्याम्पमा मोर्टार प्रहार गरेको दाबी गरेको छ । मालीको सेनाले उक्त आक्रमणलाई ‘सशक्त रूपमा प्रतिकार’ गरिएको सामाजिक सञ्जालमार्फत् जनाएको छ । “दुई क्याम्पमा तोपखानाले गोली चलाएपछि आक्रमणकारीले ती शिविरमा कब्जा जमाउने असफल प्रयास गरेका थिए र उनीहरूलाई पन्छाइएको थियो,” सेनाको विज्ञप्तिमा भनिएको छ ।
दुवै पक्षको दाबी प्रमाणीकरण जटिल छ किनभने यस क्षेत्रमा पहुँच कठिन र खतरनाक छ । सन् २०१२ देखि मालीमा अलकायदा र इस्लामिक स्टेटसँग सम्बन्धित समूहका साथै स्वघोषित आत्मरक्षा बल र डाकुहरूले आक्रमण गर्दै आएका छन् । विशेषगरी उत्तरमा सत्तारुढ जुन्टाको मागमा संयुक्त राष्ट्रसंघीय सेना फिर्ता भएपछि सैन्य सङ्घर्ष तीव्र भएको छ, जसले यस क्षेत्रलाई नियन्त्रण गर्न सेना र इस्लामवादी र पृथकतावादी शक्तिहरूबीच लडाइँ सुरु गरेको छ ।