लण्डनको ल्यूटन विमानस्थलको कार पार्किङमा आगलागीपछि अवरूद्ध उडान पुनः सञ्चालन भएका छन् । विमानस्थलमा परिसरमा भीषण आगलागीका कारण पार्किङ संरचना आंशिक रुपमा भत्किएपछि सबै उडान र अवतरण स्थगित गरिएको केही घण्टापछि बुधबार दिउँसोदेखि उडान पुनः सुरु भएको हो । “धावनमार्ग अहिले खुला छ, र उडानहरू आवागमन शुरू भएको छ,” बेलायतको राजधानीको उत्तरमा रहेको ल्यूटन विमानस्थल प्रशासनले दिएको जानकारीमा भनिएको छ । विमानस्थलको नवनिर्मित कार पार्कमा स्थानीय समयअनुसार मङ्गलबार साँझ ८ः४७ बजे आगलागी भएको थियो भने अग्नि नियन्त्रक तथा सुरक्षा अधिकारीको घण्टौ लामो प्रयासपछि स्थगित उडान सेवा पुनः सञ्चालनमा आएको हो । यसअघि विमानस्थलले एक विज्ञप्ति जारी गर्दै बुधबार दिउँसोसम्मका लागि सबै उडान स्थगन गरेको छ भने यात्रुलाई त्यहाँ यात्रा नगर्न आग्रह गरेको थियो । आगो लाग्दा करिब एक हजार ५०० कारहरु पार्किङमा थिए । आगलागीबाट भएको क्षतिको भौतिक विवरण सार्वजनिक भएको छैन । आगलागीलाई नियन्त्रणमा लिने क्रममा केही व्यक्ति घाइते भएको तर ठूलो मानवीय क्षति भने नभएको जनाइएको छ । पार्किङमै रहेको कारबाट आगो सल्केको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको भएपनि आगलागीको कारण खुल्न सकेको छैन ।