नारायणगढ (चितवन), २८ भदौ : भरतपुर महानगरपालिका–१ देवघाटमा भेटिनुभएका ७५ वर्षीय कृष्णबहादुर श्रेष्ठको अनुहार मलिन थियो । कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन भेटघाटको कुरो त परै जाओस फोनको आशमा आसमा रहँदा पनि आफ्ना छोराछोरीले नसम्झँदा उहाँ निकै निराश हुनुभएको थियो । बाटो हेर्दै गर्नुभएका श्रेष्ठलाई न छोरा छोरीको फोन आयो न त कुनै सन्देश नै । उहाँले भन्नुभयो, “छोराछोरीको कमाइको के आश गर्नु ।” तीन भाई छोरा र दुई छोरी काभ्रेमा रहे पनि उहाँ श्रीमतीको निधन पछि आश्रममा बस्न थाल्नुभएको थियो । कहिलेकाहीँ घर गए पनि खासै चासो कसैले नदिएकाले श्रेष्ठको मन देवघाटतिर ढल्किएको हो । देवघाटमा रहँदा पनि तीर्थयात्रा गर्ने, भजन किर्तन गर्ने गर्दै आउनुभएका उहाँलाई अरु समयमा नभए पनि चाडपर्वका समयमा त छोराछोरीले सम्झेलान भन्ने थियो तर कसैले खबर नगरेपछि निराश हुनुभयो ।
श्रेष्ठले भन्नुभयो, “केही दिनअघि त फोन सम्पर्क भएको थियो । अहिले छैन । आश्रममा बस्दा र तीर्थयात्रा गर्दा हुने खर्च भने केही परिवारले पठाउने र केही आफ्नो भत्ताबाट जोहो हुँदै आएको छ । देवघाटको रोटरी करुणालय आश्रममा बस्दै आउनुभएका काठमाडौँका शङ्करबहादुर खड्कीले पहिलाको जस्तो चाडबाडको मोह अहिले नरहेको बताउनुभयो । पहिलापहिला कुशेआँैसीमा छोराछोरीले के खानुहुन्छ भन्दै सोध्ने गरेका थिए तर श्रीमतीको निधन पछि उहाँ पनि एक्लो हुनुभयो । माया गर्ने माइली छोरीको समेत निधन भएपछि शङ्करबहादुर काठमाडौँको विलासी जीवनभन्दा आश्रममा बस्न ठिक भन्दै यहाँ आउनुभएको हो । त्रीहत्तर वर्षीय उहाँका एउटा छोरा र चार छोरी छन् । छोरासँग सम्पर्क नभएको छ वर्ष भएको गुनासो गर्दै शङ्करबहादुरले भन्नुभयो, “बाबुको मुख हेर्ने दिन यहाँ आएका सबै आफ्नै छोराछोरी जस्तो लाग्छ ।” “छोराले वास्ता नगरे पनि छोरीहरुको त फोन आउँछ र भेट्न आउँछन् जस्तो लागे पनि कसैले नसम्झँदा निरास बनायो”, उहाँले थप्नुभयो, “छोराछोरी सबै काममा व्यस्त भएर होला नसम्झिएको । कमाउन र आफ्नो बालबच्चा त पाल्ने गर्नैप¥यो ।” आश्रममै रहनुभएका नवलपरासीको त्रिवेणीका ७३ वर्षीय विजयबहादुर घर्तीको स्वास्थ्यमा समस्या दखिन्छ । आश्रममा आएको दुई वर्ष भयो । जवानी उमेरको छोरो हराएपछि सन्तानको बिछोडले पिरलिनुभएका उहाँले बाबुको मुख हेर्ने दिन नआए पनि हुने भन्दै गुनासो गर्नुभयो । “छोरो हरायो, चार छोरीलाई ज्वाइँको जिम्मा लगाइयो । सबै आ–आफ्नै काममा व्यस्त, कसैले पनि सम्झने फुर्सद पनि पाएनन् कि जस्तो लाग्छ ।
” अन्य समयमा भेटघाटका लागि आउने भए पनि चाडपर्वमा नआउँदा निकै खल्लो लाग्दोरहेछ”, बिजयबहादुरले भन्नुभयो, “चार्ड पर्वका समयमा विभिन्न व्यक्ति आश्रममा केही खानेकुरा लिएर आउँछन् ‘बा’ भन्छन् “ सबैलाई आफ्नै छोराछोरी सम्झन थालेको छु ।” लामो समय आश्रममा बिताउनुभएका पोखराका छविलाल उपाध्याय अधिकारी उर्फ विज्ञानानन्द पनि तीन छोरा र दुई छोरीका बाबु हुनुहुन्छ । उहाँलार्ई जीवन भनेको नै सङ्घर्ष हो भन्ने लाग्छ । छोराछोरी र नाति नातिनाप्रति कुनै गुनासो नभएको र १७ वर्ष अघिदेखि सन्यासी जीवन बिताउनुभएका ९२ वर्षीय बविलालले भन्नुभयो, “सांसारिक मोहबाट टाढै रहनु राम्रो हुँदोरहेछ । अहिले आनन्द छ ।” औँसीमध्ये कुशेआँैसी एक विशेष र महत्वपूर्ण तिथि हो । सनातन हिन्दु दर्शन र परम्परामा केहि तिथिहरू विशेष प्रकृति र महत्वका छन् । कुशेआँैसी बुवाको मुख हेर्ने दिनका रुपमा पनि प्रख्यात छ । यस दिन छोराछोरीले आआफ्ना बाबुलाई मिठो मसिनो खान दिने र प्रफुल्लीत पारी आर्शिवाद लिने गर्दछन् । बुवा नहुनेले भने विभिन्न पवित्र स्थानमा गई मृतक बुवाको नाममा श्राद्ध गरि यथासक्य सिदालगायत अन्य दान गर्छन् ।