काठमाडौँ, १४ भदौ : विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उहाँलाई बुधबार सम्मान गरेको हो । चिनियाँ नागरिकले सानटाओले गत मे १८ तारिखमा सगरमाथाको आठ हजार मिटर उचाइदेखि बेस क्याम्पसम्म प्याराग्लाइडिङ गर्नुभएको थियो । सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हिमालको शिरबाट प्याराग्लाइडिङ गरिनु पर्यटन क्षेत्रका लागि नयाँ सम्भावना भएको बताउनुभयो । “नेपाल पर्यटन क्षेत्रको अथाह सम्भावना भएको मुलुक हो, हामीसँग भएको पर्यटकीय क्षेत्रलाई विश्वमाझ पु¥याएर यस क्षेत्रबाट विदेशी मुद्रा आर्जनमा लाग्नुपर्छ”, उहाँले भन्नुभयो । नेपालले प्याराग्लाइडिङ क्षेत्रलाई अगाडि बढाउनका लागि विद्यालय नै सञ्चालन गरेर शिक्षा प्रदान गर्दै आइरहेको उहाँको भनाइ थियो । प्याराग्लाइडिङ आरोही चिनियाँ नागरिक ली सानटाओले आफूले पहिलोपटक सन् २०१५ मा पोखरामा प्याराग्लाइडिङ गरेको स्मरण गर्दै सोही समयदेखि नै सगरमाथामा प्याराग्लाइडिङ गर्ने सपना बुनेको बताउनुभयो ।
“मैले सन् २०१५ मा पोखरामा प्याराग्लाइडिङ गरेपछि सन् २०१६ मा प्याराग्लाइडिङ कोर्ष पढेर क्रमशः पाँच हजार, छ हजार र सात हजार मिटर अग्ला चीनका हिमालमा प्याराग्लाइडिङ गरेँ, त्यसपछि सगरमाथामा प्याराग्लाइडिङ गर्ने इच्छा जाग्यो र सगरमाथाबाट प्याराग्लाइडिङ गरेँ”, उहाँले भन्नुभयो । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन क्षेत्रमा नयाँ कुरा बिक्री गर्नसके देशको विकासमा पर्यटनले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “पर्यटनको हिसाबले विश्वको उत्कृष्ट मुलुक नेपाल हो, नेपालको पर्यटन रहेन भने विश्वको पर्यटन रहन सक्दैन”, उहाँले भन्नुभयो । सेभेन समिट ट्रेक्स प्रालिका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा शेर्पाले नेपालका हिमाल प्याराग्लाइडिङ गर्ने खालका रहेकाले यसलाई सरकारले अगाडि बढाउनुपर्ने बताउनुभयो । कोरोनापछि नेपालको पर्यटन क्षेत्र लयमा फर्किन थालेको उहाँको भनाइ थियो । त्यसअघि बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सगरमाथाबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई मन्त्रालयमा सम्मान गर्नुभएको थियो ।