टीकापुर (कैलाली), २७ भदौ : हिन्दू महिलाको पर्व तीज आउन अब केही दिन मात्र बाँकी रहँदा गाउँघरमा तीजको रौनकता छाइसकेको छ । गाउँघरमा दिदीबहिनी जम्मा हुने र दर खाएर नाचगान गर्नेक्रम जारी छ । तीज नजिकिएपछि महिला आवश्यक लुगाकपडा र गरगहनाको जोहो गर्न थालेका छन् । विगतमा गहनामा धेरै रुचि राख्ने महिला पछिल्ला केही वर्षयता गहनामा कम रुचि राख्न थालेका छन् । आर्थिक अभाव र सुनको मूल्य उच्च भएपछि नयाँ गहना खरिद गर्न नसकेको कतिपय महिलाको भनाइ छ । हरेक वर्ष तीजमा नयाँ गहना किन्ने कैलालीकी रिता शर्माले यस वर्ष पुराना गहना नै लगाउने तयारी गरेको सुनाउनुभयो ।
“विगतमा तीजमा एउटा नयाँ गहना किन्ने गर्थे”, उहाँले भन्नुभयो, “सुनको मूल्य धेरै बढेकाले किन्न सकिएन । पछिल्ला वर्ष व्यापार खासै नचलेकाले आर्थिक समस्या पनि छ ।” विगतका वर्षमा तीजका लागि भनेर महिनौँदिनअघिदेखि सुनचाँदी पसलमा गरगहना खरिद गर्नेको निकै भीड लाग्ने गरेकामा यस वर्ष कारोबार न्यून मात्र भएको कैलालीका सुनचाँदी आभूषण सङ्घका अध्यक्ष देवबहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार तीजको रौनकता भित्रिसक्दा पनि सुनको कारोबार भएको छैन । “पहिला तीज भनेपछि महिला पसलमा पालो कुरेर गहना बनाउँथ्ये, नयाँ गहना खरिद गर्नेको पनि भीड हुने गथ्र्यो”, सुनारले भन्नुभयो, “गत वर्षबाट कारोबार खासै भएको छैन । अहिले सुनचाँदी व्यवसायी विस्थापित हुने चिन्ता बढेको छ ।” बजारमा महिलाहरुको चहलपहल बाक्लिए पनि सुनचाँदी व्यवसायीलाई हर्षित बनाउन नसकेको उहाँको भनाइ थियो ।
यतिबेला सुनचाँदी पसलमा गहना किन्नेभन्दा आपूmसँग भएका पुराना गहना मर्मत गरी लगाउनेको सङ्ख्या बढी रहेको सालुन सुनचाँदी पसलका सञ्चालक नारायण साहुले बताउनुभयो । आर्थिक अभाव, कोरोनाका समयमा काम नहुँदा भोगेका समस्या, सुनको मूल्यमा वृद्धिलगायत कारणले सेवाग्राहीले नयाँ भन्दा पुराना गहना मर्मत गरी लगाउन थालेका उहाँको भनाइ थियो । “हामी व्यवसायीले पनि महँगो भएका कारण धेरै सुन किन्नसक्ने अवस्था छैन”, साहुले भन्नुभयो, “उपभोक्तासँग रकम भए पो कारोबार चल्छ । सायद नभएर नै होला व्यापार छैन ।” विगतका वर्षमा तीजलाई लक्षित गरी सुनचाँदीको राम्रो कारोबार गरेकामा यस वर्ष करोबार ठप्प भएको देउती सुनचाँदी पसलका सञ्चालक केशवकुमार खातीले बताउनुभयो । “नेपालमा देखिएको कोराना महामारी पश्चात आर्थिक अभाव भएको छ । त्यसको असर सुनचाँदी व्यवसायमा पनि परेको छ”, उहाँले भन्नुभयो, “कारोबार भए पो व्यापारमा उत्साह हुन्छ । यही अवस्था आए सुनचाँदी व्यावसायी विस्थापित हुनुपर्ने अवस्था आउँछ ।”