केन्याका राष्ट्रपति विलियम रुटोले युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० मा अफ्रिकी सङ्घको प्रवेशले वैश्विक चुनौती सामना गर्न सहज हुने बताउनुभएको छ । साथै उहाँले अब अफ्रिका महादेश विश्वमा देखिने र उसका आवाज पनि सुनिने बताउनुभएको छ । नयाँदिल्लीमा आज प्रारम्भ भएको जी २० शिखर बैठकमा अफ्रिकी सङ्घलाई समूहको स्थायी सदस्यता प्रदान गरिएपछि केन्याली राष्ट्रपतिले हालै सम्पन्न अफ्रिका जलवायु शिखर सम्मेलनमा अन्तरराष्ट्रिय वित्तीय संस्था र बहुपक्षीय विकास ब्याङ्कहरूको आधारभूत सुधारलाई जोड दिइएको बताउँदै जी २० को माध्यमबाट यी मुद्दालाई अझ सशक्त रूपमा अघि बढाउन सहज हुने बताउनुभयो । यसैगरी अफ्रिकी सङ्घ (एयु) आयोगका प्रमुख मौसा फकी महामतले जी २० मा भएको एयुको प्रवेशको स्वागत गर्दै लामो समयदेखि आफूहरूले गरेको अनुरोध आज साकार भएको बताउनुभएको छ । अब अफ्रिकाको पक्षमा पैरवी गर्न अझ सहज भएको उहाँले बताउनुभएको छ । अफ्रिकी सङ्घमा ५५ सदस्य मुलुक भए पनि सैनिक शासन भएका छ देशलाई निलम्बन गरिएको छ ।