अवरुद्ध बनेको बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन

 

पहिरो र बाढीका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएको छ । शनिबार दिउँसोदेखि आएको भारी वर्षाका कारण अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीस्थित घट्टेखोलामा रहेको कल्भर्ट पुल भासिएको थियो भने नौनीबगर र गुइँठेमा पहिराले सडक पुरिएपछि आज दिनभर सडक अवरुद्ध बनेको थियो । भासिएको कल्भर्ट पुललाई अस्थायी मर्मत गरिएको र ठाउँठाउँमा खसेको पहिरो डोजर परिचालन गरेर मर्मत गरेपछि साँझदेखि सडक पुनः सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार गुइँठेमा पहिराले एउटा गाडी आंशिकरूपमा पुरिएको थियो । बाढी र पहिराले क्षतिग्रस्त सडकका कारण दिनभर सवारी अवरुद्ध हुँदा बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्ने सवारी साधनहरू दिनभर रोकिएका थिए । अवरुद्ध सडक मर्मतसँगै सवारी साधनहरू गन्तव्यतर्फ लागेको आयोजनाका सुपरभाइजर शेरचनले बताउनुभयो । अवरुद्ध सडकलाई सञ्चालन गर्न बिहानदेखि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, वडाअध्यक्ष ओमबहादुर फगामीसमेत समन्वयका लागि खट्नुभएको थियो । दैनिकजसो वर्षा हुन थालेपछि बेनी–जोमसोम सडकखण्डमा बाढी र पहिराले सडक अवरुद्ध हुने जोखिम बढेकाले सडकको अवस्थाबारे सूचना लिएर मात्रै आवतजावत गर्न गाउँपालिका अध्यक्ष पुनले आग्रह गर्नुभएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *