कञ्चनपुरमा पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

 

कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । ‘आर्थिक पर्यटन समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निकुञ्जलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । “विश्वमै दुर्लभ जीवजन्तु पाइने शुक्लाफाँटा हामीसँग छ, यसको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा विकास गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “यसका लागि सबैले आ–आफ्नो तर्फबाट पर्यटन प्रवद्र्धनमा लाग्न जरुरी छ ।” नगरप्रमुख पदम बोगटीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको बताउनुभयो । “हाम्रो यहाँ थुप्रै पर्यटकीय गन्तव्य छन्, यसबाट हामीले पर्याप्त लाभ लिन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “यो महोत्सवले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएको छु ।” उहाँले यहाँ सुक्खा बन्दरगाह, महाकाली करिडोर, मझगाउँ विमानस्थल, दैजीछेला औद्योगिक क्षेत्रलगायतका ठूला योजना सञ्चालनमा आए यहाँको पर्यटन व्यवसाय पनि फस्टाउने बताउनुभयो । कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । “पर्यटकीयस्थलसम्म सहज आवतजावत र अन्य सुविधा सरकारले उपलब्ध गराउनुपर्छ”, उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्रमा निजी क्षेत्रले पनि लगानी गर्ने वातावरण सिर्जना गर्नु पर्दछ ।” उहाँले पर्यटक भित्र्याउन पर्यटन पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताउनुभयो । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा निकुञ्ज भ्रमणसँगै पर्यटन प्रवद्र्धनसम्बन्धी छलफल, संरक्षण र पर्यटनबारे माध्यमिक तह स्तरीय वक्तृत्वकला, कृष्णसार अवलोकन तथा आन्तरिक पर्यटन प्रवद्र्धनसम्बन्धी छलफललगायत कार्यक्रम सञ्चालन हुनेछन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *