गैडहवा गाउँपालिका-३ बस्ने ईसरावती कोहार वडा स्तरमै सञ्चालित तालिममा तल्लिन हुनुहुन्छ । गैडहवा गाउँपालिकाले स्थानीय महिलालाई लक्षित गरी सात दिने चुरापोते बनाउने तालिममा सहभागी करिब ५० वर्षीय कोहार लगाव हेर्न लायक छ । अन्य सिकारु युवतीसँगै उहाँले पनि आयआर्जन गर्ने उद्देश्यले तालिममा सहभागी हुनुहुन्छ । हातेमालो बहुउद्देश्यीय केन्द्रको संयोजनमा भइरहेको तालिममा ५० वर्षीय ईसरावतीसँगै १८ वर्षीया किशोरी पुष्पा यादव पनि सहभागी हुनुहुन्छ । गाउँमै यस्तो तालिमको अवसर पाएको र यसमा सम्भावना देखेर तालिम लिन आएको पुष्पा बताउनुहुन्छ । चुरापोते मात्र होइन गाउँपालिकाले महिला, एवम् किशोरीलाई लक्षित गरी कुशन, गुडियालगायतका समान बनाउने तालिम प्रदान गरिरहेको छ । महिलालाई सहजै उपलब्ध हुने सामग्रीबाट आयआर्जन हुने खालका यस्ता सीप प्रदान गर्ने गाउँपालिकाको आफ्नै स्वार्थ रहेको छ । गैँडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलका अनुसार यहाँका उत्पादनलाई बजारसम्म लैजाने र महिलालाई आत्मनिर्भर बनाउने योजना गाउँपालिकाको छ । “गैँडहवासँगै सटेर गौतमबुद्धको जन्मस्थल लुम्बिनी छ, पर्यटकलाई लक्षित गरी विभिन्न उत्पादन दिने हाम्रो योजना हो”, पौडेलले भन्नुभयो, “लुम्बिनीकै कारण यहाँ बजारको अभाव हुँदैन, जति बनाउन सके उत्ति नै बिक्री हुने हो ।” लुम्बिनी आउने पर्यटक हस्तकलासम्बन्धी सामग्रीमा विशेष रुचि देखाउने गरेका छन् । यसर्थ उनीहरुलाई हातबाटै बनाइएका चुरापोते, कुशन, गुडिया, ढकिया, चप्पल, जुत्ता लगायतका समान उपलब्ध गराउने पालिकाको लक्ष्य रहेको पौडेल बताउनुहुन्छ । यसका लागि गाउँस्तरमै तालिम दिने र त्यहाँबाट उत्पादित सामग्रीलाई पालिकाको समन्वयमा लुम्बिनीमा बिक्रीको ब्यवस्था मिलाइनेछ । स्थानीय तहमा सामान्यतः यस्ता तालिममा छोरीभन्दा पनि बुहारीलाई प्राथमिकतामा राखी तालिम दिने गरिन्छ । तर गैँडहवा गाउँपालिकामा अवस्था फरक छ । यहाँ बुहारी मात्र होइन, बुहारीसँगै आमाछोरीलाई पनि तालिममा सहभागी गराइएको छ । गाउँपालिकाको उपाध्यक्ष माधुरी जयसवालले ‘सीपयुक्त महिला आत्मनिर्भर’ हुने भएकोले सीप दिन कन्जुस््याइ नगरेको बताउनुभयो । एकअर्काको अनुभव आदानप्रदान हुने भएकोले आमाछोरी, बुहारी कसैलाई रोकतोक नरहेको उहाको भनाइ छ । महिलालाई आत्मनिर्भर बनाउन सीप विकास तालिमलाई जोड दिएको उहाँको भनाइ छ । आम्दानी दिने खालका काममा सामान्य सीपसमेत नभएका कारण महिला आयआर्जनका काममा लाग्न नसकेकाले उनीहरुलाई सीप विकाससम्बन्धी तालिम दिन गाउँपालिका लागि परेको उहाको भनाइ छ । “यसैलाई ध्यान दिँदै पालिकाभरिका महिलालाई आत्मनिर्भर बनाउनका लागि विभिन्न योजनाका साथ लागिपरेका छौँं”, उहाँले भन्नुभयो, “तालिमका साथै गाउँपालिकाले महिलालाई व्यावसायिक अनुदानसमेत दिने योजना छ । “मधेशमा धेरै महिला अझै पनि चुलोचौकोमै सीमित हुँदा आयआर्जन हुने व्यवसायमा जोडिन सकेका छैनन्,” उहाँले भन्नभयो, “उनीहरुमा स्वआर्जन हुने सीप विकास गर्न सकियो भने धेरै महिला यो प्रयासमा जोडिन सक्छन् ।”
