सडकमा पोखिएको राजनीतिक ईमान

 

–मिनराज बडु, राजनीतिक समिति सदस्य, नेसपा

राजनीतिमा इमान, नैतिकता, सदाचार, सुशासन ,पारदर्शिता, बोलिमा परिपक्वता लगायतका गुणको अपेक्षा आम जनताले बाहिरबाट राखेका हुन्छन् । तर, नेपालको पछिल्लो राजनीतिक घटनाक्रम हेर्ने हो भने अपवाद बाहेक सबै इमानदारहरू राजनीतिबाट सधै अपमानित / अपहेलित भएका मात्र उदाहरणहरु हाम्रो अगाडि छन् । यो प्रसंग लेख्दा अहिलेका तमानौ यूवापिढिले प्रश्न गर्न सक्छन् ‘इमान के हो?’ यसमा मेरो स्पष्ट जवाफ हुन्छ ‘इमान त्यो हो, जुन सबैले अरूमा खोज्छन् ।’ यो प्रसंग आजको नेपाली समाजको वास्तविकताले बोलेको छ । ति पात्रहरुलाई हाम्रो समाजले भगवान अथवा अदितिय मानवको रूपमा सडकमा पुजा गरेको हाम्रो अगाडि छर्लङ्ग छ । राजनीति नीति निर्माण गर्ने क्षेत्र भएकाले यसलाई सबै ‘नीतिको मुलनिति भनेर व्याख्या गरिन्छ। त्यसैले राजनीतिमा इमानदारी र नैतिकतालाई उत्तिकै महत्त्वको रूपमा मानिन्छ । तर, के नेपालको अहिलेसम्मको राजनीतिमा इमेलमा सुशासन सदाचार र सरलीकरण व्यबहार छन् त ?

समकालीन नेपाली राजनीतिमा यो प्रश्न महत्त्वपूर्ण बनेको छ । नेपाली समाजमा लामो कालखण्डदेखि चाकरी,हनुमानवाद चाप्लुसी, कोसेलीवादको नाममा भइरहेको लेनदेनलाई हाम्रो राजनीतिक नेताकार्यकर्ताले आमुल परिवर्तन गर्न सक्नुपर्थ्यो। यस्ता क्रियाकलापलाई ब्यबहारिक रूपमा दण्डित गर्ने कार्यनीति ल्याउन सक्नुपर्छ । तर, अपवाद छोडेर राजनीतिक नेतृत्व आफैं स्पष्ट नैतिकवान र इमानदार नहुँदा समाजमा विद्यमान गलत अभ्यास र प्रवृत्तिले राजनीतिलाई नै आफू अनुकूल उपयोग र परिभाषित गरिरहेका कारण नेपाली यूवा जगत राजनीतिको नाममा अराजकता र चाकरी अन्धवादको शिकार हुदै गएका छन । यसका प्रयोगात्मक उदाहरणहरु हाम्रो समाजका सदस्यहरूले राजनीतिमा लागेर इमान र निष्ठाका साथ काम गरिरहेकाहरूलाई होइन धेरै पैसा भएको, अन्ध चाकरीवाज चुनावमा ठूलो धनराशि खर्च गर्न सक्ने, कार्यकर्तालाई नगद बाँड्न सक्ने नेता लाई सम्मानित , योजनाकार , शक्तिशाली इमानदार र लोकप्रिय मान्ने गरेका छन ्।

समाजमा राजनीतिक निष्ठा त्याग समर्पण आदर्श भन्दा पैसालाई महत्त्व दिने प्रवृत्ति बढ्दै जाँदा राजनीति भ्रष्ट बेइमान र अराजकहरुको कब्जामा नेपाली राजनीति पुगेको छ । जसले भ्रष्टाचार कु– शासन , अराजकता र चाकरीको पारो एकदम तीव्र बढाएको छ । यो स्थितिमा नेपाली राजनीतिले समाजलाई इमान निष्ठा त्याग समर्पण र नैतिकताको बाटोमा हिंडाउन नेतृत्व लिने अपेक्षा राख्नु नै असान्दर्भिक जस्तै बन्दै गएको छ । समाज विज्ञानका ज्ञाता जोन डिवेको भनाइ अनुसार, कुनै पनि व्यक्तिको आचरण र व्यबहार मान्छे जन्मे हुर्केको समाज वातावरण तथा सांस्कृतिक अभ्यासबाट निर्देशित हुन्छ। सोही अनुसार इमान , निष्ठा र नैतिकता साँघुरीदै गएर जसरी पनि सम्पत्ति कमाउने मनोवृत्ति मौलाएको नेपाली समाजमा हुर्किरहेका बालबालिकामा पछि पैसा कमाउन जतिसुकै अनैतिक र भ्रष्ट बन्न पनि पछि नपर्ने प्रवृत्ति देखिन थाकेको स्पष्ट देखिन्छ ।

राजनीतिमा इमान, निष्ठा नैतिकता, सुशासन सदाचार, पारदर्शिता, वचनमा परिपक्वता लगायतका गुणको अपेक्षा राखिन्छ। तर, नेपालको राजनीतिक परिदृश्यलाई राम्रोसँग अध्यन गर्ने हो भने अपवाद बाहेक इमानदारहरू राजनीतिबाट जहिल्यै पाखा लगाइएका छन् । जसको कारण राजनीति बदनाम मात्र होइन एक कमाउ फोहरी खेलको रूपमा परिचीत बन्न पुगेको छ। देशको राजनीतिक सामाजिक, आर्थिक, सांस्कृतिक रूपान्तरणको नेतृत्व लिनबाट राजनीति राजनीतिक दलहरू नराम्रोसँग चुकेको छन । कृपावाद मन्त्रिमण्डल, चाकरीवाज सचिवालय ,महँगा गाडीको सुविधा, सरकार जोगाउन सांसदलाई सरकारी पैसा द्वारा खरिद बिक्रि ,विदेश भ्रमण, रातो पासपोर्ट बिक्री तथा दुरुपयोग, ललिता निवास प्रकरण, नेपाल वायुसेवा निगमभित्रका विभिन्न काण्ड, सुन तस्करी, सांसद किनबेच, मन्त्री हुनुको लागि रकम संकलन करोडौंका अडियो काण्ड गैर नागरिक काण्ड विभिन्न भ्रष्टाचार काण्डमा राजनीतिक दलका शीर्ष नेताहरूकै संलग्नता लगायतका घटनाक्रमले नेपाली राजनीतिको नैतिकताहीन र दण्डहीनताको तस्बिर स्पष्ट देखिन्छ ।

यस्ता घटना एकपछि अर्को भइराख्ने तर राजनीतिक शक्ति र पहुँचको आधारमा कानुनी कार्बाहि बाट जोगिने जोगाइ राख्ने विकृत अभ्यास समकालीन राजनीतिक राज्य व्यवस्था संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा पनि चलि रहनु दुःखद मात्र होइन यो व्यवस्था प्रति गम्भीर कुठाराघात पनि हो ।सहिदको रगतको घोर अपमान पनि हो नेपाली जनताको सपना माथीको दबिकत हो । निष्ठा र नैतिकताले राजनीतिलाई शुद्धीकरण गरेर जनविश्वास जित्ने र नागरिक समक्ष सरकारलाई लोकप्रिय बनाउने सामर्थ्य राख्दछ । राजनीतिको प्रमुख उद्देश्य लोककल्याण हो÷ उत्पीडित जनताको सेवा गर्नु हो । समाजको कल्याण इमानदारी र नैतिकता विना सम्भव हुन सक्दैन । तसर्थ, राजनीतिमा क्षयीकरण हुँदै गएको नैतिकता र इमानदारीलाई पुनःस्थापित नगरेसम्म समाजमा देखिएका तमाम समस्याको समाधान हुन सक्दैन । यसको उदाहरण जर्मनीकी पूर्व चान्सलर एंगेला मर्केल एउटा आदर्श हुन ्।

१६ वर्ष चान्सलर रहेकी उनले सन् २०२१ डिसेम्बरमा पद छाड्दा नागरिकले घर बाहिर निस्किएर सम्मानस्वरूप ५ मिनेटसम्म ताली बजाएका थिए। नेतृत्वमा रहँदा पालना गरेको सदाचारिता, नागरिकप्रतिको उत्तरदायित्व, जवाफदेहिता गरीबमुखी नीति, नैतिकता र निष्ठा लगायतका कारण उनी निकै लोकप्रिय थिइन् । समाजवादी शासकले पूँजीवादी भन्दै आएका मर्केल र हाम्रा स्वघोषित ‘समाजवादी’ नेतालाई तुलना गरेर हे¥यौं भने नैतिकता निष्ठा ,पार्दशिता र इमानदारी भएको राजनीतिक नेतृत्वले देशमा कतिसम्म सकारात्मक प्रभाव पार्न सक्छ भन्ने बुझ्न सकिन्छ। त्यसैले अब राजनीतिक वृत्त र नेतृत्वले इमान आफैंमा खोज्न जरुरी छ। त्यसले एकातिर राजनीतिमा सुधार ल्याउनेछ,भने अर्कातिर समाजमा इमान र सदाचार सुशासन र विकास गर्न योगदान गर्द्छ । अझै पनि नेपाली राजनीतिक नेतृत्वले आखा खोल्ने सकेन र राजनीतिमा नयाँ आशा र विम्ब देखाउन सकेन भने संघीय लोकतान्त्रिक गणतन्त्र नै डुब्ने छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *