युक्रेनको शान्ति प्रक्रियामा चीनको ‘प्रमुख भूमिका’ रहेको म्याक्रोँको धारणा

 

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले युक्रेनको तीनदिने भ्रमणका क्रममा युक्रेनमा शान्ति स्थापनाका लागि चीनको ‘प्रमुख भूमिका’ रहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ताअघि बेइजिङमा आयोजित फ्रान्सेली समुदायको भेलालाई सम्बोधन गर्दै म्याक्रोँले फ्रान्सले युक्रेनमा शान्ति र स्थिरताका लागि साझा जिम्मेवारीमा चीनसँग मिलेर काम गर्न चाहेको बताउनुभयो । युक्रेनमा आणविक हतियारको प्रयोगको बेइजिङको विरोध रहेको साथै कीभ र मस्कोबीचको शान्तिको प्रस्तावलाई उल्लेख गर्दै उहाँले भन्नुभयो, “चीनले उसको रूससँगको घनिष्ठ सम्बन्धलाई लिएर प्रमुख भूमिका खेल्न सक्छ ।” राष्ट्रपति म्याक्रोँको चार वर्षपछिको पहिलो चीन भ्रमण युक्रेनमा जारी द्वन्द्वका कारण महत्वपूर्ण हुने अनुमान गरिएको छ । उहाँको कार्यालयका एक अधिकारीले सीसँगको वार्तामा दृढतापूर्वक उभिन आफू प्रयासरत रहेको बताउनुभएको छ । म्याक्रोँले भन्नुभयो, “हामीले द्वन्द्वको सुरुदेखि नै पीडितलाई सहयोग गर्ने निर्णय गरेका छौँ र हामीले यो पनि स्पष्ट पारेका छौं कि आक्रमणकारीलाई सहयोग गर्ने जो कोही पनि अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनमा सहयोगी भएको ठहर हुनेछ । फ्रान्सेली नेताको भ्रमणको उद्देश्यमा युरोपसँग चीनको व्यापारिक सम्बन्धको संरक्षण र पुनः सन्तुलित गर्नुका साथै एशिया–प्रशान्तमा फ्रान्सको हितको रक्षा गर्नु पनि समावेश छ । “हामीले आफूलाई चीनसँग असम्लग्न हुनु हुँदैन, आफूलाई चीनबाट अलग राख्नुहुँदैन,” म्याक्रोँले बेइजिङको फ्रान्सेली समुदायसँग भन्नुभयो । फ्रान्स चीनसँग व्यापारिक सम्बन्ध कायम राख्न सक्रिय रूपमा प्रतिबद्ध रहनेछ । ह्वाइट हाउसका अनुसार म्याक्रोँले आफ्नो चीन भ्रमण र युक्रेनका लागि समर्थनबारे अमेरिकी राष्ट्रपति जो बाइडनसँग टेलिफोनमार्फत् छलफल गर्नुभएको थियो । म्याक्रँेंको कार्यालयले भनेको छ, “यो वार्ताले युक्रेनमा युद्धको अन्त्यलाई गति दिन र स्थायी शान्ति निर्माण गर्न फ्रान्स र संयुक्त राज्य अमेरिकाको चीनसँग संलग्नताको साझा इच्छालाई देखाएको छ । – ‘साझा कार्यसूची’ – संयुक्त राज्य अमेरिका र फ्रान्सका वरिष्ठ अधिकारीले ‘उत्तर–दक्षिण ऐक्यबद्धताको विश्वव्यापी प्रयासमा चिनियाँहरूबाट योगदान प्राप्त हुने र जलवायु र जैविक विविधतामा ‘साझा एजेन्डा’ निर्माण गर्ने आशा पनि गर्नुभएको छ । स्थानीय समयअनुसार बुधबार अपराह्न ३ः१५ बजे म्याक्रोँ बेइजिङ आइपुग्नु भएको थियो । उहाँलाई चिनियाँ विदेशमन्त्री किन ग्याङले विमानस्थलमा स्वागत गर्नुभएको थियो । उनले बिहीबार सी र अन्य चिनियाँ नेताहरूसँग वार्ता गर्नुका साथै साँझ राजकीय रात्रिभोजमा भाग लिनुहुनेछ । शुक्रबार उहाँ शीर्ष राजनीतिज्ञहरू, व्यापारिक नेताहरू र संगीतकार जीन–मिशेल जयरेसहित सेलिब्रिटीहरूको एक विस्तृत प्रतिनिधिमण्डलसहित स्थानीय विद्यार्थीहरूलाई भेट्न दक्षिणी चीनको ग्वान्जाओ जानुहुनेछ । म्याक्रोँको भ्रमण र क्यालिफोर्नियामा ताइवानकी राष्ट्रपति साई इङ वेन र अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीबीच भएको भेटवार्तासँगै एकै साथ पर्न गएको छ । चीनविरूद्ध ताइवानबारे हुने कुनै पनि भेटलाई बेइजिङले नजिकबाट नियाल्ने र राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्ने बताएको छ । म्याकार्थीले त्साईलाई भेटेर ‘आगोसँग खेल्न खोजेको’ चिनियाँ अधिकारीले बताएका छन् । चीनले ताइवानलाई आफ्नो भूभागको एक भाग भएको दाबी गरेको छ र आवश्यक परेको खण्डमा कुनै पनि दिन बल प्रयोग गरेर कब्जा गर्ने दाबी गरेको छ । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले पनि यसै साता बेइजिङको भ्रमण गर्नुभएको छ । उहाँले तयारीका लागि समन्वय गर्न सोमबार पेरिसमा म्याक्रोँलाई भेट्नुभएको थियो । गत हप्ता एक भाषणमा लेयेनले बेइजिङलाई युक्रेनको युद्धलाई प्रत्यक्ष समर्थन नगर्न आग्रह गर्नुभएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *