देशभरका चाम्लिङ राईहरूको भाषिक सम्मेलन खोटाङमा सुरु भएको छ । चाम्लिङ राईहरूको भाषा तथा संस्कार/संस्कृति संरक्षण, सम्वर्द्धन र विकास गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम फाउन्डेसनमा तीनदिने सम्मेलन सुरु गरिएको हो । नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गर्नुभएको सम्मेलनमा डा तारामणि राई, प्राज्ञ जयकुमार राई, मुन्दुम अध्येता भोगिराज चाम्लिङ र किराँत राई चाम्लिङ खाम्बातिमका अध्यक्ष युवराज राईले चाम्लिङ भाषासम्बन्धी कार्यपत्र पेस गर्नुभएको छ । सम्मेलनमा सहभागी देशभरका चाम्लिङ राईहरूबीच समूह विभाजन गरेर विज्ञबाट प्रस्तुत भएका कार्यपत्रमाथि छलफल सुरु गरिएको खाम्बातिमका महासविच तेजकुमार राईले जानकारी दिनुभयो । सामूहिक छलफलपछि चाम्लिङ राईहरूले प्रयोग गर्दै आएका भाषासम्बन्धी एउटै धारणा बनाउने कार्ययोजनासमेत रहेको खाम्बातिमले जनाएको छ । सम्मेलनमा खाम्बातिमका महासचिव राईबाट चाम्लिङ राईहरूको साङ्गठनिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ । सम्मेलन उद्घाटन समारोहमा किराँत राई चाम्लिङ खाम्बातिम केन्द्रीय कार्यसमितिले प्रकाशन गरेको स्मारिकासमेत विमोचन गरिएको छ । किराँत राई चाम्लिङ भाषी र सांस्कृतिक पक्ष, चाम्लिङ मातृभाषा शिक्षणका सन्दर्भ, भाषामा यसका अनुकूलन र प्रयोग, चाम्लिङ राईहरूको सामै/सामे र पाछा, राई जातिका मौलिक संस्कृति, चाम्लिङ विवाह तथा मृत्यु संस्कार, चाम्लिङ राईहरूको भाषा तथा संस्कार÷संस्कृति संरक्षण एवं सम्वर्द्धनलगायतका विषय समेटिएको स्मारिका विमोचन गरिएको हो । सम्मेलन उद्घाटन समारोहमा खोटाङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, नछुङ (धामी), मुन्दुमीलगायतलाई सम्मानसमेत गरिएको छ । सम्मेलनमा कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य पासाङ, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेशकुमार तामाङ, कृषिविज्ञ मदन राई, चाम्लिङ राई खाम्बातिमका सल्लाहकार मणिकुमार राईलगायतले भाषा तथा संस्कार/संस्कृतिसम्बन्धी आ–आफ्नो धारणा राख्नुभएको थियो । चाम्लिङ राईको उद्गमस्थल खोटाङ जिल्लाका विभिन्न विद्यालयमा चाम्लिङ राई भाषाको पाठ्यक्रम पठन/पाठन हुँदै आएको छ । चाम्लिङ राईहरूको बाहुल्य रहेका अन्य ठाउँमा सञ्चालित विद्यालयहरूमा चाम्लिङ भाषामा निर्मित पाठ्यक्रम लागू गर्न जनप्रतिनिधिहरूसँग समन्वय गर्ने विषयमा समेत कार्यक्रम बनाइने जनाइएको छ । सम्मेलन समापनपछि जिल्लास्थित किराँत ऐतिहासिक स्थलहरू तुवाचुङ–जायाजुम, मझुवागढी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित साकेला थानलगायतका ठाउँहरूको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित त्रि–धार्मिकस्थल हलेसी नजिकै पर्ने तुवाचुङ–जायाजुमलाई किराँत राईहरूको उद्गमस्थल मानिन्छ ।