छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न इरानी राष्ट्रपतिको निर्देशन

 

इरानमा बुधबार सयभन्दा बढी विद्यार्थी अस्पताल भर्ना भएपछि इरानका राष्ट्रपतिले छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न सरकारलाई निर्देशन दिनुभएको छ । राष्ट्रपतिको वेबसाइटमा इब्राहीम रायसीले गृहमन्त्री अहमद वाहिदीलाई आक्रमणको ‘अनुसन्धानको नतिजाबारे निरन्तर जानकारी’ उपलब्ध गराउने जिम्मेवारी दिएको उल्लेख छ । एक सरकारी अधिकारीका अनुसार विगत तीन महिनामा सयौँको सङ्ख्यामा छात्रामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ र यो इस्लामिक गणतन्त्रमा छात्रा विद्यालय बन्द गर्न बाध्य पार्ने प्रयास हुन सक्छ । उत्तरपश्चिमी शहर अर्दाबिलमा सात र राजधानीका तीन गरी कम्तीमा १० वटा छात्रा विद्यालयलाई निशाना बनाइएको सञ्चारमाध्यमले जनाएका छन् । समाचार संस्था तस्निमका अनुसार तेहरानका तीन वटा विद्यालयमा विष सेवन भएको र अर्दाबिलमा भएको घटनाका कारण एक सय आठ जना विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ । राष्ट्रपति रायसीको वेबसाइटमा प्रभावित विद्यार्थीका ‘परिवारको चिन्ता कम गर्न’ उहाँले वाहिदीलाई जिम्मेवारी तोकी अनुसन्धानका लागि निर्देशन दिएको उल्लेख गरिएको छ । वाहिदीले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी सुरक्षा बलले संदिग्ध विषाक्ततासम्बन्धी घटनामा तीन जनालाई हिरासतमा लिएको जानकारी गराउनुभयो । “विभिन्न रिपोर्टहरू बाहिरिएका छन्, ती सबै पूर्ण रूपमा सही छैनन्,” उहाँले पत्रकारहरूसँग भन्नुभयो । “आक्रमणमा प्रयोग गरिएको विशिष्ट रासायनिक पदार्थ पत्ता लागेको रिपोर्टहरू गलत हुन्,” उहाँले भन्नुभयो । पवित्र शहर कोमका विद्यालयहरूमा मुख्यतया मलमा प्रयोग गरिने नाइट्रोजनको अंश फेला परेको उल्लेख गरिएको तर यसमा पूर्ण सत्यता नरहेको भन्दै स्वास्थ्य मन्त्रालयले घटनाको खण्डन गरेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *