नाइजेरियाको राष्ट्रपति पदका उम्मेदवार पिटर ओबीले गत फेब्रुअरी २५ मा भएको निर्वाचनमा सत्तारुढ दलका बोला तिनुबुसँग पराजित हुनुभएको छ । पराजयपछि प्रतिक्रिया जनाउँदै लेबर पार्टीका उम्मेदवारले राजधानी अबुजामा पत्रकारहरूसँग भन्नुभयो, “हामी हाम्रो जनादेश पुनः प्राप्त गर्न सबै कानुनी र शान्तिपूर्ण विकल्पहरूको खोजी गर्नेछौं । हामीले चुनाव जित्यौं र नाइजेरियालीहरूलाई यो प्रमाणित गर्नेछौं ।” दुई संस्थापन पार्टीहरूको प्रभुत्व रहेको देशमा नयाँ व्यक्तिका लागि यो एक महत्ववपूर्ण उपलब्धि भएको छ । निर्वाचनमा ओबीले ६१ लाख मतसहित तेस्रो धेरै मत प्राप्त गर्न सफल हुनुभएको छ । बुधबार सत्तारुढ दल अल प्रोग्रेसिभ्स काङ्ग्रेस (एपीसी) का टिनुबुले नाइजेरियाली दुई तिहाइ राज्यमा आवश्यक बहुमतसहित कुल ८८ लाख मत ल्याई विजय हुनुभएको घोषणा निर्वाचन आयोगले गरेको छ । लागोसका पूर्व गभर्नर टिनुबुले राष्ट्रपति मोहम्मदु बुहारीको स्थान लिनुहुनेछ । बुहारीले मे महिनामा संवैधानिक प्रक्रिया अनुसार पदमुक्त हुनुहुनेछ । विपक्षी दल पिपुल्स डेमोक्र््याटिक पार्टी (पीडीपी) का अतिकु अबुबकरले ६९ लाख मत प्राप्त गर्नुभएको छ । अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा चुनाव धेरै हदसम्म शान्तिपूर्ण थियो तर अनलाइन परिणामको ढिलो आगमनको कारण लामो विलम्बपछि नतिजा सार्वजनिक भएको थियो । यसले मतदाता र विपक्षी दलहरूलाई क्रोधित तुल्याएको छ भने उनीहरूले मतदानमा व्यापक धाँधलीको दाबी गरेका छन् । “यो नाइजेरियामा भएको अहिलेसम्मकै सबैभन्दा विवादास्पद निर्वाचनमध्ये एक हुनेछ,” ओबीले भन्नुभयो । “नाइजेरियाका असल र मेहनती मानिसहरूलाई उनीहरूले विश्वास गरेका हाम्रा कथित नेताहरूले फेरि लुटेका छन् । नाइजेरियाको चुनावमा प्रायः धाँधलीको आरोप र हिंसा हुनेगरेको छ । निर्वाचन परिणामको घोषणापछि टिनुबुले बुधबार आफ्ना प्रतिद्वन्द्वी र उनीहरूका समर्थकहरूलाई आफूसँग ‘हातेमालो गर्न’ आह्वान गर्दै उनीहरूलाई राष्ट्रिको पुनर्निर्माणको काम सुरु गर्न आफुसँग सहकार्य गर्न आग्रह गर्नुभएको थियो । निर्वाचन परिणामबारे चित्त नबुझेमा उम्मेदवारले नतिजा सार्वजनिक भएको २१ दिनपछि आफ्नो मुद्दा अदालतमा दायर गर्नसक्ने यहाँको कानुनी प्रावधान रहेको छ ।