सङ्कटासन्न समुदायको उत्थानमा सामूहिक प्रयासको खाँचो

 

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले सङ्कटासन्न समुदायको उत्थानका लागि सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ । आइएफआरसीद्वारा प्रकाशित ‘विश्व विपद् प्रतिवेदन २०२२’ को आज यहाँ सार्वजनिक गर्दै उहाँले स्थानीय समुदायलाई सक्षम बनाउन सकिएमा विपद्को चुनौतीसँग जुध्न सकिन्छ भन्नुभयो । प्रथम नेपाली महासचिव चापागाईंले ‘सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थिति पूर्व, परिस्थितिका अवधि र पछाडि सङ्कटासन्न मानिसहरूका आवश्यकताहरू परिपूर्ति गर्ने एवं उनीहरूको जीवनस्तरमा सुधार ल्याउने किसिमका मानवीय सेवाका कार्यक्रम जारी रहेको उहाँले बताउनुभयो । उहाँले कोभिड–१९ महामारीविरुद्ध रेडक्रसका स्वयंसेवक अग्रपङ्क्तिमा जुटेको, सङ्कटासन्न समुदायमा महामारीविरुद्ध स्वास्थ्य समग्री पु¥याउन तल्लीन रहेको उल्लेख गर्दै जलवायु परिवर्तनले ल्याएका सङ्कट व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह गर्नुभयो । ‘विश्वास , समता र स्थानीय कार्य’ नामक सो प्रतिवेदनमा कोभिड–१९ महामारीले उत्पन्न गरेका स्वास्थ्य सङ्कट र सङ्कटकसँग जुध्न गरिएका विश्वव्यापी अनुभवलाई औँल्याइएको छ । भविष्यमा हुन सक्ने विपद्हरूलाई राम्रोसँग व्यवस्थापन गर्न कोभिड–१९ बाट महत्त्वपूर्ण सिकाइ भएको कुरा प्रतिवेदनले औँल्याएको छ । विश्वास, समता र स्थानीय कार्यहरू नै विपद् पूर्वतयारीका महत्त्वपूर्ण पक्षहरू भएको प्रतिवेदनले जनाएको छ । आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले नेपालमा आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीसँग घनिष्टरूपमा मिलेर मानवीय सेवाका काम गरिरहेको जनाउँदै स्वास्थ्य, खानेपानी सरसफाइ तथा स्वच्छता प्रवर्द्धन तथा जीविकोपार्जनका साथै नेपाल रेडक्रसको संस्थागत क्षमता अभिवृद्धिमा सहयोग गरिराखेको बताउनुभयो । उहाँले भन्नुभयो, “आइएफआरसीले नेपालमा कोरोना सङ्क्रमणको जोखिमका अवस्थादेखि नै ‘कोभिड–१९ प्रतिकार्य’ योजना बनाई जोखिमका बारेमा सञ्चार तथा सामुदायिक संलग्नता र जवाफदेहितासम्बन्धी अवधारणाका माध्यमबाट सहयोग गरेको थियो । सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि रोकथामका उपाय, अत्यावश्यक मेडिकल सेवामा सहयोग, सामाजिक आर्थिक प्रभावलाई सम्बोधन र खोप अभियानमा सहयोगजस्ता नेपालमा कोभिड–१९ कार्यसञ्चालनका उसका मुख्य क्षेत्र छन् ।” नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले मानवीय सेवाका बारेमा रेडक्रसले गरिरहेका कामका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा सङ्गीता मिश्रले विपद् पूर्वतयारी, विपद्का समय र विपद्पछि समन्वयात्मकरूपमा काम गर्न आवश्यक रहेको बताउनुभयो । सन् २०२० फेब्रुअरी १ देखि आइएफआरसीको सर्वाेच्च पद महासचिव तथा प्रमुख कार्यकारी निर्देशक जिम्मेवारी सम्हाल्दै आउनुभएका चापागाईं चारदिने नेपाल भ्रमणमा शनिबार नेपाल आइपुग्नुभएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *