दशकौँ लामो हिंसाबाट ग्रस्त कङ्गोका जनताले उनीहरूलाई क्षति पु¥याउन समूहलाई क्षमा दिई मुलुकका लागि शान्ति र मेलमिलापका लागि समर्पित हुन क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले आग्रह गर्नुभएको छ । अफ्रिकामा आफ्नो पहिलो मुख्य समारोहमा सहभागी हुँदै उहाँले अनुमानित १० लाख व्यक्ति सहभागी समारोहको प्रमुख अतिथिका हैसियतमा कङ्गोली नागरिकलाई शान्तिका लागि विगत बिर्सेर अघि बढ्न आग्रह गर्नुभएको हो । सन् १९८५ मा सेन्ट जोन पल द्वितीयको यात्रापछि तय भएको पोपको पहिलो भ्रमणमा हजारौँ कङ्गोलीहरूले उहाँको स्वागतका लागि नाच, गान गर्दै खुला आकाशमा रात बिताएका थिए । किन्शासाको नडोलो विमानस्थलमा भएको लाखौँको भेलालाई विगतमा हिंसामा हजारौँ कङ्गोली नागरिकको हत्या भएको तर विश्वासघात गर्नेहरूलाई क्षमा गर्नुहुने यशु ख्रीष्टको उदाहरणलाई पछ्याउँदै क्षमाको निम्ति आफ्नो हृदय खुला राख्न उहाँले आग्रह गर्नुभएको हो । फ्रान्सिसले भन्नुभयो, “उहाँ (यशु)ले उनीहरूलाई आफ्नो घाउ देखाउनुभयो, किनकि क्षमाको जन्म चोटबाट हुन्छ । यो तब जन्मिन्छ जब हाम्रो घाउले घृणाको दाग छोड्दैन । तर हामी अरूको लागि ठाउँ बनाउने र उनीहरूका कमजोरीहरू स्वीकार गर्ने माध्यम बन्छौं । हाम्रो कमजोरी एउटा अवसर बन्छ र क्षमा शान्तिको बाटो बन्छ ।” विशेषगरी कङ्गोको पूर्वी क्षेत्रमा दशकौंदेखि चलेको हिंसाका कारण लाखौं मानिस आफ्नो घर छोड्न बाध्य भएको उल्लेख गर्दै फ्रान्सिसले क्षमा दिनुको अर्थ केही नराम्रो भएको छैन भन्ने नाटक गर्नु होइन भन्नुभयो । क्षमा दिने कार्यले ‘हृदयमा शान्ति’ सिर्जना गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “क्रोध र पश्चातापबाट हाम्रो हृदयलाई शुद्ध पार्नु, क्रोध र शत्रुताको हरेक चिन्हबाट शुद्ध पार्नु निकै ठूलो क्षमादान हो ।” फ्रान्सिसले आफ्नो उद्घाटन सम्बोधनमा विदेशी शक्तिहरूद्वारा अफ्रिकाको खनिज र प्राकृतिक सम्पत्तिको शताब्दियौँदेखि भएको लुटको चर्चा गर्नुभएको थियो । भ्याटिकनको तथ्याङ्कअनुसार कङ्गोको १० करोड ५० लाख जनसङ्ख्यामध्ये करिब आधा क्याथोलिक धर्मावलम्वी रहेका छन् ।