दुवै मिर्गाैला फेल भएर उपचाररत सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० की ३५ वर्षीया तारादेवी खड्का आचार्यले सहयोगका लागि अपिल गर्नुभएको छ । उहाँको दुवै मिर्गौला फेल र मुटुमा समेत समस्या छ । उहाँको आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि सहयोगको अपिलसमेत गरिएको हो । खड्का हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । अर्थाभावका कारण उपचारमा समस्या रहेको उहाँका श्रीमान् कुलप्रसाद आचार्यले जानकारी दिनुभयो । खड्काको उपचार सहयोगका लागि मेलम्ची नगरपालिकाले विपन्न नागरिक औषधोपचार निर्देशिका, २०७५ अनुसार निःशुल्क उपचार तथा आर्थिक सहुलियत उपलब्ध गराइदिन अनुरोध गरेको छ । उहाँको सम्पर्क नं ९८४३५४९३३८ रहेको छ । सहयोग गर्न चाहने महानुभावले कुलप्रसाद आचार्यको कृषि विकास बैंकको खाता नं ०२१०८०००९२७०००१० रकम जम्मा गरिदिनसमेत परिवारले अपिल गरेको छ । ल्होछारमा लिसङ्खु पाखरमा तीन दिन बिदा सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’ मा यही माघ ७, ८ र ९ गते गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेतलाई बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर विष्टले कार्यपालिकाको निर्णयानुसार बिदा दिएको जानकारी दिनुभयो । यसैबीच, चौथो हेलम्बुस्तरीय फुटबलको फाइनलमा आयोजक न्यू राइजिङ युवा क्लब र हेलम्बु–५ भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाइनल खेल जित्दै यी दुईले फाइनल भेट पक्का गरेका हुन् । सोनाम ल्होछारका अवसरमा आयोजित प्रतियोगिताअन्तर्गत विहिबार बिहान १० बजे खेल हुने जनाइएको छ । प्रतियोगितामा प्रथमले रु एक लाख तथा दोस्रोले रु ५० हजार पाउने न्यू राइजिङ युवा क्लबका संस्थापक अध्यक्ष साङगे दोङ तामाङले जानकारी दिनुभयो । गाउँपालिकाको सहयोग र न्यू राइजिङ युवा क्लबको आयोजनामा खेल सञ्चालन भएको हो ।