प्रसिद्ध अर्जुनधारा जलेश्वरधामको धार्मिक सौन्दर्य संरक्षणका लागि शनिश्चरेको साप्ताहिक हटिया र पशु बजारलाई स्थानान्तरण गर्न आधुनिक बजार निर्माण गरिएको छ । प्रदेश नं १ सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा रु दुई करोड २० लाखमा सुविधासम्पन्न बजार निर्माण गरिएको अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीता इङ्नामले बताउनुभयो । अर्जुनधारा–८ मा १० कट्ठा जग्गामा नवनिर्मित बजारमा पसल सञ्चालनका निम्ति ८७ वटा सटर निर्माण सम्पन्न भएको छ । गत जेठ मसान्तमै निर्माण कार्यसम्पन्न भइसके तापनि बजार सञ्चालनमा आउन सकेको छैन । नवनिर्मित बजारमा सडक, विद्युत्, सञ्चार, खानेपानी, शौचालयलगायतका सुविधा पु¥याइएको छ । खसी, कुखुरा, सुँगुर र राँगा वध गर्नका लागि बजारमा अत्याधुनिक कटिङ सेन्टर र ऊर्जा स्रोतका लागि वध गरिएका पशुबाट निस्कने फोहरबाट चल्ने ३५ घनमिटरको ग्यास प्लान्ट निर्माण भएको छ । “अर्जुनधारा धाम देशविदेशमा प्रख्यात धार्मिकस्थल भएकाले त्यहाँ वरिपरि राँगा, खसी, कुखुरा र सुँगुर काट्न दिनु हुँदैन भनेर पहिल्यैदेखि आवाज उठिरहेको थियो”, सो बजारको अवधारणासहित पहल गर्नुहुने अर्जुनधारा नगरपालिकाका निवर्तमान नगरप्रमुख हरिकुमार राना भन्नहुन्छ्, “बर्सेनि लाखौँ पर्यटक आउने धार्मिक क्षेत्रको उचित संरक्षणका लागि पशु बजार, मासु पसल र साप्ताहिक हटियालाई बजारबाट बाहिर व्यवस्थित गर्न यो बजारको निर्माण गरेका हौँ ।” शनिश्चरेको पशुबजार र हटियालाई सार्ने नगरपालिकाले प्रयास गरिरहे तापनि कतिपय स्थानीयवासीले बजार नसार्न दबाब दिइरहेका छन् । धाम प्रवेश गर्ने सडक र बजारका बीचमै जथाभावी पशुवध गर्ने र खुद्रा पसल थाप्ने कार्यले शनिश्चरे बजार अस्तव्यस्त हुँदै आएको छ । सुविधासम्पन्न सटरसहितको आधुनिक बजार निर्माण भइसकेको हुँदा परम्परागतरूपमा जथाभावी लाग्दै आएको हटिया र मासु बजारलाई निकट भविष्यमै त्यहाँ स्थानान्तरण गर्ने तयारी भइरहेको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत इङ्नामले बताउनुभयो । “धार्मिक पर्यटकीय क्षेत्र भएकाले बजार र मन्दिर भएका क्षेत्रमा पशुवध गर्न हुँदैन भनेर सबैले मनन गरिसक्नुभएको छ”, उहाँले नगरपालिकाको योजनाबारे भन्नुभयो, “सबै राजनीतिक दल, व्यवसायी र नगरवासीबाट बजार छिटो सञ्चालनमा ल्याउन सहयोग प्राप्त हुने विश्वास लिएका छौँ ।” सो आधुनिक बजार निर्माणका लागि स्थानीयवासीबाट अर्जुनधारा नगरपालिकाले १० कट्ठा जग्गा दानमा प्राप्त गरेको हो ।