श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले श्रीलङ्काले अकल्पनीय आर्थिक कठिनाइको सामना गरिरहेको बताउनुभएको छ । यो सङ्कटबाट बाहिर निस्कने एकमात्र विकल्प अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहयोग लिनु रहेको उहाँले बताउनुभएको छ । विक्रमासिङ्घेले शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा ट्रेड युनियनका प्रतिनिधिसँगको भेटमा भन्नुभयो, “देशको अर्थतन्त्र धराशायी भएको हामीलाई राम्रोसँग थाहा छ । यसबाट देशले भोग्नु कठिन परिस्थितिको सामना गर्नुपरेको छ । यसको एक मात्र विकल्प आइएमएफको सहयोग लिनु हो ।” “हामीले रोजगारीको सङ्ख्यामा गिरावट देखेका छौं । मुद्रास्फीतिले जीवनयापनको लागत बढाएको छ । त्यसैले जनताको जीवनशैली परिवर्तन भइरहेको छ,” उहाँले भन्नुभयो । श्रीलङ्काको दयनीय आर्थिक अवस्थाका कारण शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा असर परेकाले पहिले श्रीलङ्कावासीले पाउँदै आएको सुविधा घट्दै गएको उक्त अवसरमा उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो आर्थिक पतनको मूल कारणहरूको बारेमा कुरा गर्नु बेकार छ किनकि तिनीहरू पहिले नै भइसकेका छन् । अहिले हामीसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहयोग बिना हामीले यो जटिल आर्थिक समस्या सुधार गर्न सक्दैनौं ।” राष्ट्रपति विक्रमासिङ्घेले भन्नुभयो, “ऋण पुनर्संरचना कार्यक्रममार्फत देशको धराशायी अर्थतन्त्रलाई पुनर्जीवित गर्ने प्रयास हामीले गरिरहेका छौँ । जापान, चीन र भारतबाट जसबाट हामीले ऋण लिएका छौं । जापानसँग वार्ता पूरा गरिसकेका छौं । यो तीन ऋण लिएका देशहरूमध्ये एउटा प्रमुख देश हो । युरोप र अमेरिकाको आर्थिक वृद्धि दर अहिले सुस्त हुँदै गएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस्तो अवस्थामा हाम्रो निर्यात बजार अर्को वर्ष घट्न सक्छ त्यसैले, हामीले हाम्रो पर्यटन उद्योगको विकास गर्नुपर्छ । शुक्रबारको बैठकमा सरकारी, अर्धसरकारी र निजी क्षेत्रका ट्रेड युनियनका नेता तथा प्रतिनिधिले देशमा विद्यमान आर्थिक तथा वित्तीय सङ्कटको समाधानका लागि चाल्न सकिने सुधारात्मक उपायबारे छलफल गरेका थिए । —
