काठमाडौं, असोज २५ गते ।
वरिष्ठ क्याप्टेन कुल बहादुर लिम्बूले ४३ वर्षसम्म विमान चालकको काम गर्नु भयो । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनु भएको छ । देशको अवस्था नाजुक भएको बेलामा विमान चालक भएर मात्रै आफ्नो जिम्मेवारी र भूमिका नपुग्ने भएको भन्दै राजनीतिमा होमिनु भएको छ । अब देशको चालक भएर देश र जनताको सेवा गर्ने उहाँको धोको रहेको छ । प्रधानता डटकमका प्रतिनिधिले उहाँसँग गर्नुभएको कुराकानी ।
१. तपाईले ४३ वर्षसम्म विमान चालकको काम गर्नु भयो । तर, एकाएक राजनीतिमा किन होमिनु भयो ?
हो, मैले लामो समयसम्म विमान चालकको काम गरें । मैले बिमान चालक भएर मात्रै बसिन । मैले देश विदेश धेरै घुमेँ र हेरें । कुन देशको विकास कसरी भयो । त्यो पनि थाहा पाएँ । कस्ता व्यक्तिले राजनीति गर्नु पर्ने रहेछ भन्ने पनि थाहा भयो । नेपालको राजनीतिमा के अपुग भयो भन्ने पनि मलाई थाहा भयो । नेपालको राजनीतिले ठिक कोर्ष नसमाएकै कारण आज देश नाजुक अवस्थामा छ । देश र दुनियाँलाई राम्ररी बुझ्ने अवसर पाएको मैले आफ्नो अनुभव र ज्ञानलाई राजनीति मार्फत् प्रयोग गर्नु पर्छ भन्ने लाग्यो । त्यसैले म राजनीति मार्फत् देशको सेवा गर्नको लागि राजनीतिमा आएको हुँ ।
२. नेपालमा राजनीतिक उपलब्धी धेरै भएको छ । देश गणतन्त्रमा आएको छ । एउटा लोकतान्त्रिक देश हुनुमा विगतमा भएका राजनीतिक संघर्षको परिणाम नै हो । आज, तपाईँले नेपालको राजनीतिमा के अपुग देख्नु भएको छ ?
ठिक भन्नु भयो । नेपालमा जहानीयाँ राणा शासन थियो । एक दलीय पञ्चायती व्यवस्था पनि थियो । राजतन्त्रात्मक व्यवस्था पनि थियो । ती सबैको अन्त्य भएको छ । यसलाई राजनीतिक उपलब्धी भन्नु पर्छ । तर, राजनीतिक उपलब्धी भनेर मात्रै जनताको जीवनस्तरमा सुधार हुँदैन । राजनीतिक उपलब्धीको माला जपेर मात्रै देशको समृद्धि हुँदैन । नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भयो । त्यसका लागि विगतमा धेरै र ठूलै संघर्ष भए । व्यक्तिगत स्वतन्त्रता छ । वाक स्वतन्त्रता छ । प्रेस स्वतन्त्रता छ । आवधिक निर्वाचन मार्फत् जनमत लिन सकिन्छ । अब नेपालको राजनीतिले देशको अवस्था बदल्न सक्नु पर्छ । अवस्था बदल्ने राजनीति देशलाई चाहिएको छ । नेपालका राजनीतिक दलहरु यसमा चुके । सामान्य आर्थिक हैसियत भएका नेताहरुको जीवनस्तर एकाएक उकासियो । उनीहरु भ्रष्टाचारमा लिप्त भए । अरुलाई भ्रष्टाचार गर्न अवसर दिए । परिणामतः देश आर्थिक रुपले आज कंगाल अवस्थामा छ । देशको विकास गर्न नेपालका राजनीतिक दलहरु असफल भए । उनीहरुले आफ्नाहरुलाई च्यापे । क्षमता र प्रतिभा भएकाहरुलाई वास्ता गरेनन् । अर्को शब्दमा भन्दा राजनीतिक बैमानी गरे । त्यसैले राजनीतिक उपलब्धी हुँदाहुँदै पनि जनताको जीवनस्तर उकासिएन ।
३. वि.सं. २०४६ सालको राजनीतिक परिवर्तन पछि तिनै राजनीतिक दल र नेताहरु आजपनि सक्रिय छन् । उनीहरुले देशको विकास भएको छ भन्छन् । उनीहरुप्रतिको तपार्इँको टिप्पणी के छ ?
नेपालका राजनीतिक दलहरुले आफूलाई अब्बल ठानेपनि यथार्थ त्यस्तो होइन र छैन । उनीहरुले देशको अवस्था परिवर्तन गर्न सकेनन् । देश आज गरिब छ, विपन्न छ । ठूलो संख्यामा युवाहरु विदेश पलायन भएका छन् । गरिबी र बेरोजगारीले देश थिलोथिलो भएको छ । पञ्चायत कालमा निर्माण भएका सबै उद्योगहरुलाई कौडीको मूल्यमा बेचे । नयाँ उद्योगहरु खोलेनन् । देश पूरै परनिर्भर भएको छ । औद्योगिक र कृषिजन्य सबै वस्तुहरुमा परनिर्भर हुनु परेको छ । अहिलेका प्रधानमन्त्री ०४८ सालदेखि निरन्तर सांसदमा निर्वाचित भएका छन् । पटक–पटक प्रधानमन्त्री भए । उनको जीवनमा अकल्पनीय सुधार भयो । सडकको मान्छे अहिले आलिसान जीवन विताई रहेका छन् । यत्तिका धनसम्पत्ति कहाँबाट आयो । यो त एक उदाहरण मात्रै हो । अधिकांश राजनीतिक नेतृत्व आज आलिसान जीवन बिताई रहेका छन् । नेपालमा पञ्चायतको अन्त्य भएर लोकतन्त्र स्थापना भएको पनि ३३ वर्षभन्दा बढी भइसक्यो । यस अवधीमा विश्वका धेरै देशहरुले चामत्कारिक रुपमा विकास गरे । नेपाल भने आज पनि जर्जर अवस्थामा छ । यसको दोष विद्यमान राजनीतिक दल र तिनका नेताहरुलाई नै जान्छ ।
४. तपाईँ प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार हुनु भएको छ ? किन स्वतन्त्र उम्मेदवार हुनु भयो । के स्वतन्त्र व्यक्तिले देशको विकास गर्न सक्छ ?
हो, म प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार छु । मैले जानीबुझी नै स्वतन्त्र उम्मेदवार भएको हो । कुनै राजनीतिक दलको सदस्यता लिएर पनि प्रतिस्पर्धा गर्न नसक्ने होइन । तर, नेपालका विद्यमान राजनीतिक दलहरु बैमान भए । उनीहरुले ठिक काम गरेनन् । उनीहरुले राजनीतिलाई पेशा बनाए । कमाई खाने धन्दाको रुपमा प्रयोग गरे । त्यसको मैले घोर विरोध गरेको छु । राजनीति सेवाका लागि गर्ने हो । त्यहाँ निस्वार्थ त्यागको जरुरी हुन्छ । म निस्वार्थ त्यागका साथ देश र जनताको सेवा गर्न चाहन्छु । त्यस्तो बैमान राजनीतिक दलहरुको कार्यकर्ता भएर मैले सोचे जस्तो देश र जनताको सेवा गर्न सक्दिन । त्यही भएर मैले स्वतन्त्र रुपमा नै निर्वाचनमा उठेको हुँ । म आफूलाई अनुभव संगालेको र विज्ञता हासिल गरेको ठान्छु । मेरो अनुभव, अध्ययन र चिन्तनका आधारमा मैले यो देशको सेवा गर्न चाहन्छु । त्यसका लागि मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ । स्वतन्त्र उम्मेदवारले देशको विकास गर्न सक्छ ? भन्ने तपाईँको प्रश्न जो छ पक्कै सक्छ । म त्यसमा दृढ छु ।
५. विगतको अनुभवलाई हेर्दा अपवाद बाहेक मतदाताले राजनीतिक दलहरुलाई नै मतदान गरेको देखिन्छ । राजनीतिक दलहरुको देशैभर सांगठानिक सञ्जाल हुन्छ । त्यो सञ्जाल प्रयोग गरेर भोट उनीहरुले नै पाउँछन् । तपाईँ र तपाईँहरु जस्ता स्वतन्त्र व्यक्तिहरुलाई जनताले भोट दिन्छन् भन्ने के ग्यारेन्टी छ र ?
ठिकै भन्नु भयो नेपाली कांग्रेस र एमाले जस्ता पार्टीहरुको देशैभर सांगठानिक सञ्जाल छ । त्यही सञ्जाल प्रयोग गरेर आफूतिर भोट तान्छन् । भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्ति प्रयोग गरेरपनि भोट किन्छन् । यो पुरानो रोग हो । यसमा मेरो मतदाताहरुलाई अनुरोध छ कि अब उनीहरुको सञ्जालमा नपर्नुहोस् । उनीहरुले बाँडेको आश्वासन र पैसामा नफस्नुहोस् । बरु उनीहरुले विगतमा गरेका गल्ती र कमजोरी केलाउनुहोस् । उनीहरुलाई सत्ता र सम्पत्ति आर्जन गर्ने लाइसन्स नबन्नुहोस् । देश र जनताका लागि काम गर्न सक्ने क्षमता र ऊर्जा भएका स्वतन्त्र हैसियत भएकाहरुलाई मतदान गर्नुहोस् । फेरिपनि बहकाउमा परेर वा कुनै लोभलालचमा परेर भोट नहाल्नुहोस् ।
६. तपाईँ स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । सुनसरी निर्वाचन क्षेत्र नं. १ का जनताहरुलाई स्वतन्त्र उम्मेदवारको हैसियतले के भन्न चाहनुहुन्छ ?
यस प्रश्नका लागि तपाईँलाई धन्यवाद । म स्वतन्त्र उम्मेदवार भएकाले मेरा मतदाता जनतालाई स्वतन्त्र मात्रै होइन कि निष्पक्ष भएर पनि सेवा गर्नेछु । मलाई कुनै पार्टीको ह्विप लाग्दैन । मलाई ह्विप लाग्छ त केवल मतदाता जनताको । त्यसैले मैले पार्टी र पार्टीका नेताहरुप्रति जवाफदेही बन्नु पर्दैैन । केवल तपाईँ मतदाता जनताप्रति जवाफदेही भए पुग्छ । मेरो पार्टी भनेपनि, पार्टीको नेता भनेपनि तपाईँ मतदाताहरु नै हो । मेरो केही संकल्प छन् । केही योजना छन् । मेरा केही अनुभव छन् । मेरो योग्यता, क्षमता र अनुभव प्रयोग गरेर मतदाता जनताको सेवा गर्नेछु । केही मान्छेहरु पार्टीले टिकट नदिएपछि स्वतन्त्र भन्दै बागी उठेका छन् । तिनीहरु स्वतन्त्र होइनन् । तिनीहरु बागी हुन् । बागी उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार भनिँदैन । जनतालाई झुक्याउन आफू पनि स्वतन्त्र भएको नाटक गर्दैछन् । त्यस्ताबाट होसियार हुन अनुरोध छ ।
७. तपाईँ जस्ता स्वतन्त्र उम्मेदवारहरुका एजेण्डा के कस्ता छन् ?
पहिलो कुरा त नेपालको लोकतन्त्रलाई उन्नत बनाउनु पर्छ । त्यसका लागि राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था लागू हुनुपर्छ । हाल नेपालको कार्यकारी प्रमुख प्रधानमन्त्री बहुमत प्राप्त हुँदैन । बहुमत प्राप्त प्रधानमन्त्री हुनुपर्छ । जनताको प्रत्यक्ष मतदानबाट ५१ प्रतिशतभन्दा बढी मत ल्याउने मात्रै कार्यकारी प्रधानमन्त्री हुन पाउनुपर्छ । अल्पमतको प्रधानमन्त्रीले बहुमतमाथि शासन गर्न पाउँदैन । संविधानको कोर्ष फर्नुपर्छ । उन्नत ट्याक्सेसन सिस्टम बनाउनु पर्छ । कार्यकारी प्रमुख स्वतन्त्र हैसियतको हुनुपर्छ । शिक्षालाई व्यवसायिक बनाएर युवाहरुलाई उत्पादनमा लागउनुपर्छ । ८ कक्षा देखि १२ कक्षासम्म व्यवसायिक प्रयोगात्मक शिक्षा दिनुपर्छ । प्रत्येक युवालाई शिपयुक्त बनाउनुपर्छ । स्रोत नखुलेको सम्पत्ति जफत गर्नुपर्छ । सकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउनुपर्छ । हामीले अदालती प्रहरीको अवधारणा ल्याएका छौँ । पञ्चशिलको आधारमा परराष्ट्र नीति लागू गर्छौँ । गणतन्त्रको स्वरुप कायम हुन्छ । स्थानीय निकायलाई शक्तिशाली बनाउनुपर्छ । स्वतन्त्रहरुको संख्या संसदमा उल्लेख्य भयो भने हामीले स्वतन्त्र हैसियतको व्यक्तिलाई प्रधानमन्त्री र मन्त्री बनाउँछौँ । मन्त्रीहरु विज्ञबाट बनाइन्छ । जातीभेद र रंगभेदभन्दा माथि उठ्छौँ । एमसीसी लगायतका राष्ट्रघाती सन्धि सम्झौताहरुको खोरजी गर्छौँ । विभेदकारी नागरिकता विधेयकलाई प्रतिस्थापन गर्छौ । विकासका लागि स्वतन्त्र उम्मेदवारलाई जिताआँै ।
८. सुनसरी निर्वाचन क्षेत्र नं. १ का मतदाता जनतालाई तपाईँ के भन्नु हुन्छ ?
म यस क्षेत्रका समस्याहरुसँग जानकार छु । धरानमा खानेपानीको समस्या छ । त्यसको स्थायी समाधान खोजिनुपर्छ । त्यसका लागि म प्रतिबद्ध छु । फोहोर व्यवस्थापनको समस्या पनि छ । त्यसको समाधानको लागि पनि म प्रतिबद्ध छु । सडकको स्तरोन्नती गर्नुपर्नेछ । व्यवसायिक शिक्षाको थालनी गर्नुछ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका समस्याहरुको समाधान गर्नुछ । ऐतिहासिक तथा धार्मिक विजयपुर क्षेत्रलाई धार्मिक पर्यटन स्थलको रुपमा विकास गर्नुछ । त्यसैगरी बराह क्षेत्रलाई पनि धार्मिक पर्यटनको रुपमा प्रबद्र्धन गर्नुपर्नेछ । कुलतमा फसेका युवाहरुलाई सही मार्गमा ल्याउन जरुरी छ । कोशी टप्पुलाई वन्यजन्तुको सुरक्षित वासस्थान बनाउनुर्छ । धरान रिङरोड, केवलकार, गल्फ खेल्ने मैदान, एयरपोर्ट र पर्यटनको निर्माण र विकास गर्नुछ । नगदेबाली उत्पादनमा नगरबासीलाई प्रोत्साहित गर्नुछ । रुखविरुवा, घाँस रोप्ने कार्यक्रम सञ्चालन गर्नुछ । यस्ता थुर्पै काम गर्नुछु । मुख्य कुरा समस्याको पहिचान हो । समस्या पहिचान भएपछि समाधान गर्नसक्ने क्षमता राख्नु हो । त्यसको लागि टुरिष्ट र गैरटुरिष्ट भन्ने कुराको कुनै गुञ्जायस छैन । मुख्य कुरा गर्न सक्ने हो कि होइन भन्ने हो । म गर्न सक्छु । मेरो यो प्रतिबद्धता हो ।
९. आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि स्वतन्त्रहरु धेरैले उम्मेदवारी दिएका छन् । उनीहरुले जित्छन् वा जित्दैनन् त्यसको कुनै ठेगान छैन । यदि जितिहालेपनि उनीहरु संगठित छैनन् । असंगठित स्वतन्त्रहरुले कसरी काम गर्न सक्छन् ?
कुरा त्यसो होइन । देशैभरका स्वतन्त्र उम्मेदवारहरु कुनै न कुनै रुपमा संगठित छन् र हुँदैछन् । संसदमा एकमुष्ट विचार राख्न र काम गर्न स्वतन्त्रहरु एक ठाउँमा आउनैपर्छ । उनीहरुले संयुक्त बल प्रयोग गर्नैपर्छ । स्वतन्त्रहरु संगठित हुने भन्ने कुरामा कुनै समस्या छैन । राज्यको आवश्यकता र सामाजिक समस्याका कारण स्वतन्त्रहरु निर्वाचनमा उठेका हुन् । उनीहरु संगठित नभई योजना र मुद्दा कार्यान्वयन गर्न सकिँदैन । त्यसमा हामी स्पष्ट छौँ । स्वतन्त्रहरुबाट प्रधानमन्त्री चयन गर्न र मन्त्रिपरिषद् बनाउन संगठित नभई हुँदैन । हुन्छौँ ।
१०. अन्त्यमा, सुनसरी निर्वाचन क्षेत्र नं. १ का मतदाता जनतालाई केही भन्नु छ कि ?
मेरो स्वतन्त्र उम्मेदवारी रहर होइन आवश्यकता हो । देशको अवस्था बदल्न जरुरी छ । त्यसका लागि मैले मेरो योग्यता, क्षमता र अनुभवलाई प्रयोग गर्न चाहन्छु । मेरो निर्वाचन क्षेत्रका जनताको समस्या समाधानका लागि सँधै लागिरहन्छु । देशकै विकासका लागि काम गर्छु । तपार्इँ हामीले विगतमा विभिन्न राजनीतिक दलका नेताहरुलाई भोट दिएकै हो । तर, निर्वाचित भएपछि फर्केर आएनन् । तपाईँ हाम्रो मतको अवमूल्यन गरे । हामीलाई धेरै आवश्वासन दिए । वाचा गरे । सपना देखाए । तर, केही गरेनन् । एक पटक होइन पटक–पटक ढाँटे । उनीहरुको जालमा फेरि नपरौँ । मैले विभिन्न माध्यमबाट मेरो कुरा तपार्इँहरु समक्ष पु¥याएको छु । तपाईहरुको सेवा निरन्तर गरिरहन्छु ।