काठमाडौं, असोज १५ गते ।
– जनक थापा
अहिलेको सरकारले जे जति राम्रो काम भनी प्रचार गरेको छ ती सबै बाबुरामले शुरू गरेका काम हुन् :
१) स्वरोजगार कोषको स्थापना :
बाबुरामले युवाहरूलाई विदेश जान नपर्ने गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्न स्वरोजगार कोष स्थापना गरी त्यसमा पर्याप्त रकम समेत जम्मा गरेका थिए । तर काम शुरू गर्ने बित्तिकै त्यो सरकार ढल्यो । त्यसपछिका सरकारले यसलाई सदुपयोग होइन, दुरूपयोग गरे ।त्यही स्वरोजगार कोषको नाउँ परिवर्तन गरेर प्रधानमन्त्री रोजगार कार्यक्रम भनी ओली सरकारले कत्ति न नयाँ कार्यक्रम ल्याएको भनी प्रचार गरेको छ ।
२) अहिले सम्मकै सबैभन्दा बढी राजश्व संकलन :
बाबुराम अर्थमन्त्री हुँदा उनले सबैभन्दा बढी राजश्व संकलन गरेर देशलाई सम्वृध्द बनाउने आधार खडा गरेका थिए । तर उनको महत्वाकांक्षी योजनाबाट तर्सेर कंग्रेस र विशेषगरी गद्दार एमालेहरूले बजेट ल्याउनै दिएनन् । उनले एकपटक मात्रै बजेट ल्याउन पाएको भए जनताले कुरो बुझ्ने थिए ।
३) अहिले ओली नेतृत्वको डबल नेकपाको सरकारले योगदानमा आधारित पेन्सन आदि कार्यक्रम:
बिजुलीको पोल पोलमा फोटो झुण्डाएर नयाँ युगको शुरूवात भनी हल्ला पनि गरे । त्यसको तयारी बाबुरामको पालामा नै भैसकेको थियो ।मन्त्रालयले उही बेला तयार गरिसकेको कुरो अहिलेका मन्त्री र प्रधानमन्त्रीले अहिले बाहिर ल्याएर नयाँ काम गरेको जस्तो गरेका छन् ।
४) रेलमार्ग, केबलकार लगायत :
अहिले ओलीराजमा पानीजहाज र रेलको कुरो ज्यादै लोकप्रिय भएको छ । रेल, केबलकार र राजमार्गको विषयमा २०६४ सालको पहिलो संविधानसभामा तत्कालीन माओवादी पार्टीले ल्याएको चुनावी घोषणापत्रमा चित्र (नक्सा) सहित प्रस्तुत गरिएको थियो, जुन घोषणापत्र बाबुरामको अगुवाईमा बनेको हो । पानीजहाजको नेपालमा कुनै संभावना छैन । बरू केही स्टिमर र मोटरबोट भने चलाउन सकिन्छ ।चितवनमा एउटा व्यवसायीले दुई तीन वर्ष लगाएर विदेशी कामदार मगाएर स्टिमर बनाउँदै छन् । भोटेकोशी अरूण लगायतका ठूला नदीमा वर्षातको समय बाहेक अन्य समयमा मोटरबोटबाट यात्रा गर्नेहरू त दुई चार वर्ष देखि बढ्दै गएको देखिन्छ ।
५) राष्ट्रिय गौरबका आयोजनाहरू :
बाबुरामले तराई नगईकन पहाडै पहाड नेपालको पूर्व देखि पश्चिमसम्म जोड्ने मध्यपहाडी लोकमार्ग, तराइको वीचबाट महेन्द्र राजमार्गको समानान्तर हुलाकी राजमार्ग, चीन र भारत जोड्ने उत्तर – दक्षिण कोशी, गण्डकी, कर्णाली कोरिडोर, बूढीगण्डकी बहुउद्देश्यीय आयोजना, काठमाडौं तराइ फास्ट ट्रयाक, १० वर्षमा दस हजार मेगावट बिजुली निकाल्ने केही जलविद्युत आयोजनालाई समेटेर राष्ट्रिय गौरवको योजना नामाकरण गरेका थिए । त्यो बेला कंग्रेस र एमालेले बाबुरामलाई बजेट प्रस्तुत गर्नै नदिने षडयन्त्र गरेकाले उनले यी राष्ट्रिय गौरवको आयोजनाहरूमा विशेष बजेट विनियोजन गरेका थिए ।
६) लगानी बोर्ड स्थापना :
सरकारी प्रकृयागत ढिला सुस्ती र नकारात्मकता र अनियमितताका कारण ठूला परियोजनाहरू निर्माण गर्न अप्ठेरो परेको हुनाले लगानी बोर्ड गठन गरी आवश्यक रकम जुटाउने व्यवस्था मिलाएका थिए ।
७) बिप्पा र विदेशी लगानी :
तेस्रो विश्वको गरिब नेपाललाई एकैचोटी पहिलो विश्वको सम्वृध्द नेपाल बनाउनको लागि (सर्प जसरी घिस्रेर होइन भ्यागुतोले जसरी उफ्रेर) करीब दुई दशक (बीस वर्ष) सम्म २ अंकको आर्थिक वृध्दिदर कायम गराउन, बार्षिक बजेटको करिब ४० % रकम ठूला पूर्वाधारमा खर्च गर्न, देशभित्रै उत्पादन वृध्दि गरी रोजगारी / स्वरोजगारी सिर्जना गर्न केही दशकसम्म ठूलो मात्रामा विदेशी पूँजि चाहिन्छ, तर आफ्नो लगानीको सूरक्षाको प्रत्याभूति नभएसम्म कुनै विदेशी पूँजि नआउने भएको कारणले ती लगानीकर्ताहरूको पूँजिको सुरक्षाको ग्यारेन्टी गरी पर्याप्त मात्रामा विदेशी पूंजी र प्रविधि भित्र्याउनको लागि चीन भारत लगायतका देशहरूसंग द्विपक्षीय व्यापार सम्झौता BIPPA (बिप्पा ) को शुरूवात गरे । भारतसंग सम्झौता गरेर चीन लगायतका अन्य देशसंग सम्झौता गर्ने तयारी गर्दै थिए । चीनले करिब ६० ओटा देशसंग बिप्पा सम्झौता गरेको छ भने भारतले करिब ४० ओटा देशसंग बिप्पा सम्झौता गरेको छ । तर नेपालमा बिप्पा सम्झौताको बिरूध्द आन्दोलनको घोषणा गरियो । कंग्रेस र एमालेले अहिलेसम्म पनि बिप्पाको बिरोध गरेकै छैनन्, तर तत्कालीन माओवादी पार्टीका पूर्वाग्रहीहरूले यसको धुवाँदार विरोध गरे । अहिले डबल नेकपाका कमरेडहरू भारत, चीन, कतार लगायतका देशसंग बिप्पा सम्झौता नभनी त्यही उद्देश्यको र त्यही प्रकृतिको व्यापार सम्झौता गर्नको लागि हारगुहार गर्दैछन् । तिनको किरा परेको बुध्दि!
८) लोडसेडिङको अन्त्य :
२०६५ सालमा प्रचण्ड प्रधानमन्त्री र बाबुराम अर्थमन्त्री हुँदा बाबुराम भट्टराईले त्यतिबेला १८ घण्टासम्म भैरहेको लोडसेडिङको अन्त्य गर्नको लागि डिजेलबाट चल्ने ३ ओटा थर्मल प्लान्ट प्रयोग गर्ने प्रस्ताव गरेका थिए । पुराना प्लान्ट मर्मत गर्ने तयारी गरेका थिए । तर त्यसबेला मात्र एमालेले थर्मल प्लान्ट चलाएर निकालिएको बिजुली डबल महँगो हुन्छ भनेर सम्पूर्ण शक्ति लगाएर विरोधमा उत्रियो । बाबुरामले सरकारले अन्य क्षेत्रबाट उठाएको राजश्व बिजुली उत्पादनमा अनुदान दिएर बिजुलीको भाउ नबढाउने र दुई तीन वर्ष भित्र थर्मल प्लान्ट बन्द गरी जलविद्युतबाटै लोड सेडिङ हटाउने प्रस्ताव गरेका थिए ।
९) सडक बिस्तार (पुराना र सम्पदाहरू जोगाएर) :
बाबुरामले काठमाडौं विकास प्राधिकरण मार्फत नियम विपरित बनेका संरचना हटाएर सडक फराकिलो पारे ।२०७२ सालको भूकम्पको बेलामा र हाल पनि त्यो सडकले धेरै महत्वपूर्ण सहयोग गरेको छ ।यद्यपि उनले पुरानो बस्ती र सम्पदा क्षेत्रमा अहिलेको जस्तो बलजफ्ती सडक बिस्तारको योजना बनाएनन् ।
१०) हेलो सरकार र प्रधानमन्त्रीसंग टेलिफोन वार्ता :
सर्वसाधारण जनताले कुनै गुनासो, समस्या वा प्रशासनिक झमेलाको सुनुवाई नभएमा त्यसको लागि प्रधानमन्त्री कार्यालयमै विशैष व्यवस्था गरे । टेलिफोन, चिठी वा आफू स्वयं गएर आफ्नो गुनासो दर्ता गराएपछि त्यसको सुनुवाई भएको पाइयो । बाबुराम स्वयंले त्यसको प्रत्यक्ष अनुगमन गरेर धेरैजसो समस्या समाधान गरेका थिए ।
११) स्वदेशमा बनेको गाडी चढे :
देशको प्रधानमन्त्रीको लागि करोडौंका गाडिहरू चढ्ने कुरो सामान्य भैसक्यो । तर उनी प्रधानमंत्री हुँदा नेपालमै बनेको (assembled) मुस्तांङ म्याक्स भन्ने सस्तो गाडी चढेर एकैसाथमा दुई सन्देश दिए स्वदेशी उत्पादन प्रयोग गरी व्यापार घाटा र पर निर्भरता घटाउने तथा भि आई पी र भिभि आई पीको नाउँमा हुने ठूलो आर्थिक व्ययभार घटाएर सुशासन र सदाचार शुरूवात गरे । जुन हालसालै पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले पनि शुरू गरेका छन् ।
१२) गरीब बिपन्न जनताको घरमा बास बस्ने :
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा हरेक महिनामा एक दुई पल्ट देशका सबैभन्दा पीछडिएको समुदायमा गएर बास बसेर उनीहरूको सुख दुःखका कुरा सुनिदिन्थे, एउटै भान्छामा संगै बसेर खाए र उनीहरूकै घरमा सुते ।कहिले तराइका मुसहर र थारूको घरमा त कहिले पहडका तामाङ र मगरका घरमा बास बसे ।
(श्रीराम खाइजुले जनक थापाको फेसबुक वालबाट सेयर गरेर आफ्नो वालमा तान्नु भएको जनक थापाले तीनवर्ष पहिले लेख्नु भएको लेख श्रीराम खाइजुको वालबाट साभार ।)