महोत्तरी, २५ भदौ ।
किसानले मल नपाइरहेको बेला महोत्तरीको एक डिपोले व्यापारीलाई बढी मूल्य लिएर बेच्ने गरेको खुलेकाे छ। बर्दिबास नगरपालिका-९ को पशुपति जन उपभोक्ता सहकारीले यसरी अनाधिकृत रुपमा मल बेच्ने गरेको खुलेकाे हाे ।
सहकारीका अध्यक्ष रामजतन महतोले भंगाहा नगरपालिकाका व्यापारी सन्जय साहलाई बेचेकाे मल लोड गर्दागर्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि घटना सार्वजनिक भएकाे हाे । `शुक्रबार राति करिब ९ बजे मलखाद लोड गरेर भंगाहातर्फ जाँदै गर्दा स्थानीय युवाहरूले नियन्त्रण लिएका हुन्,´ विजय सिंहले भने ।
व्यापारी साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । साहले प्रारम्भिक बयानमा उक्त सहकारीका सञ्चालक तथा अध्यक्ष महतोले आफूलाई मल बेचेको बताएका छन् । साहलाई उदृद गर्दै प्रहरीले भनेको छ, ‘हामीले साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ, उनले धेरै कुरा खुलाएका छन् ।´
अहिले नगरभित्र समयमा मल नआउँदा किसानहरू चिन्तित छन् । भएको मल समेत वितरक डिपोले मनोमानी गरेपछि किसान थप आक्रोशित बनेका छन् । वडामा पुरानो र नयाँ गरेर २७३ बोरा मल हुनुपर्ने वडा कार्यालयले जनाएकाे छ । किसानहरूलाई मल वितरण गर्दा वडाले कुपनसहितको आफ्नै मापदण्ड बनाए पनि त्यसलाई अध्यक्ष महतोले खुलेआम बेवास्ता गरिरहेको वडा अध्यक्ष घुरन महतोको गुनासो छ ।
`किसानहरूलाई राहत होस् भन्ने उदेश्यले हामीले कुपनको व्यवस्थापन गरेका छौँ तर डिपोमा पुगेपछि किसानहरू निराश भएर फर्कन्छन्,´ वडा अध्यक्ष महतोले भने ।
शुक्रबार राति मल वितरक महतोले तीन वटा टेम्पुमा राखेर मल भंगाहा पुर्याएको आरोप स्थानीयकाे छ । नगरपालिकाले किसानलाई मल वितरण गर्न हरेक वडामा एक सहकारीलाई जिम्मा दिएको हुन्छ ।
अघिल्लो स्थानीय सरकारले अनुदान मल वितरण गर्ने जिम्मेवारी दिएका १४ वटै वडाका सहकारीको सम्झौता खारेज गरेपछि उनै रामजतन महतो उच्च अदालत जनकपुरमा रिट हाल्न पुगेका थिए । अदालतले पनि मल वितरणको जिम्मेवारी यथावत राख्न अल्पकालीन आदेश जारी गरेसँगै वडाका सबै सहकारीले मल वितरण अगाडि बढाएका थिए ।