वैकल्पिक राजनीतिको यात्रालाई खण्डित हुने व्यवहार पार्टीका कुनैपनि नेता र कार्यकर्ताहरुले गर्नु हुँदैन ।

 

–परिवर्तन भट्टराई (कृति)

नेपालको राजनीति आज पूरै गञ्जागोल अवस्थामा छ । यसले आम नेपालीलाई चिन्तित बनाएको छ । नेपालको राजनीति झनै फोहोर हुँदै गएको छ । राजनीतिका मुख्य सञ्चालकहरुले बाटो बिराएका कारण देशको राजनीतिले गलत मार्ग लिएको छ । नेपाली जनताको समृद्धिको चाहनामा तुषारापात भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको नारा धेरै लगाए । उनको नाराले सार्थकता पाएन । नेपालको राजनीतिलाई नेपाली राजनीतिका एक प्रमुख पात्र उनले फोहोर पारे । दुई तिहाई नजिकको सरकारलाई आफैँले अल्पमतमा पु¥याए । संविधानको धज्जी उडाए । लोकतन्त्रलाई दुरुपयोग गरे । आज सरकार टिकाउनलाई जनता समाजवादी पार्टीका केही नेताहरुसँग हारगुहार गरिरहेका छन् । नेपाली राजनीतिका खलपात्रको पर्याय बनेका छन् । के खोज्छस् मंगले आफ्नै ढंगले भने जस्तै भएको छ उनलाई । शक्तिशाली कम्युनिष्ट पार्टीलाई उनले दुई टुक्रा पारे । नेकपा एमाले पनि टुक्रिने अवस्थामा पुगेको छ । जनता समाजवादी पार्टीका केही नेताहरुलाई प्रयोग गरेर सो पार्टीलाई पनि दुर्घटनामा पार्न खोजिरहेका छन् । नेपालको राजनीतिलाई पूरै दुषित बनाएका छन् । पाँच वर्षसम्म आरामले सरकार सञ्चालन गर्न छोडेर अनावश्यक तिकडम गर्नतिर लागे । प्रधानमन्त्री भएपछि लामो समयसम्म बिरामी भए । निको हुने बित्तिकै अनेक तिकडम गरे । आज नेपाली जनताको समृद्धिको चाहनालाई खतम पारेका छन् । आफ्नै पार्टीका माधव नेपाल समूहकाहरुलाई किनारामा लगाउन खोजिरहेका छन् । यस्तो विषम अवस्थामा नेपाली कांग्रेस भने रमिते भएको छ । न ओल्लो किनार न पल्लो किनारको अवस्थामा नेपाली कांग्रेस अलमलमा छ । यस्तो अवस्थामा जनता समाजवादी पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने हो । तर, यस पार्टीका केही नेताहरु ओलीको जालमा फस्न लागे जस्तो देखिन्छ । ओलीले आफ्नो सरकार टिकाउन रेशम चौधरीलाई जेलमुक्त गर्ने बचन दिएको भन्ने सुन्नमा आएको छ । लाल आयोग सार्वजनिक गरेर कार्यान्वयन गर्ने आश्वासन पनि दिएको हुनसक्ने अड्कलबाजी गरिएको छ । मधेस आन्दोलनका क्रममा मुद्दा चलाइएकाहरुको मुद्दा फिर्ता लिने लोभ पनि देखाएका छन् भन्ने बजारमा हल्ला फैलिएको छ ।

संविधान संशोधन गर्छु पनि भनेका छन् भन्ने छ । ओली एकाएक सबै माग पुरा गर्ने अवस्थामा पुगेको देखिन्छ । के यो पत्याउन सकिने कुरा हो ? विगतमा उनले के भनेका थिए र के गरेका थिए भन्ने ख्याल गर्नु पर्छ । उनले सत्ताका लागि जे गर्नुपर्ने हो त्यो सबै गर्छन् । जनता समाजवादी पार्टीका केही नेताहरुलाई माग पूरा गर्ने भन्दै फकाई रहेका छन् । ती नेताहरु उनको यो महाजालमा फसेको सर्वत्र विश्लेषण गरिएको छ । समाजवादी पार्टीका केही नेताहरु अंशको प्राप्तिका लागि पूर्णतालाई त्याग्दैछन् । जनता समाजवादी पार्टीका प्रमुख नेता डा. बाबुराम भट्टराईले यो पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा विकास गर्ने भनेर पटक–पटक भनिरहेका छन् । नेपालको राजनीतिमा वैकल्पिक शक्ति चाहनेहरु उनको सोही भनाईका कारण यो पार्टीमा आबद्ध भएका छन् । तर, व्यवहारमा भने सबै नेताहरु एकमत देखिँदैनन् । यसले वैकल्पिक राजनीति चाहनेहरुलाई चिन्तित बनाएको छ । अन्ततः कम्युनिष्ट र कांग्रेसको चक्रब्युहमा नेपाली जनता फसिरहने संकेत देखिएको छ । भाषणमा वैकल्पिक भन्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने समस्या देखिएको छ । यसका लागि पार्टीका सबै नेताहरुबीच विचार र व्यवहारमा एकरुपता कायम गर्न सक्नुपर्छ । आजका नेपाली जनताले भाषणलाई पत्याउँदैनन् । भनाईलाई व्यवहारले पुष्टि गर्न सक्नुपर्छ । भनाईलाई व्यवहारले खण्डित गरेको भाषण फिका हुन पुग्छ । जनताले नेताहरुको विचार र व्यवहारको संगती खोजिरहेका हुन्छन् । हो, त्यसैले वैकल्पिक राजनीतिको विचारका आधारमा अभिव्यक्त भाषणलाई खण्डित गर्ने व्यवहार गर्नु हुँदैन । नत्रभने नेपाली जनताको वैकल्पिक राजनीतिको चाहना पूरा हुने छैन् । त्यसैले धेरै पटक सोचेर र छलफल गरेर मात्रै व्यवहार गर्नु पर्छ । पुरानै राजनीतिको आहालमा पौडी खोल्ने हो भने पहिचान र अधिकारको कुरा गर्नुको कुनै तुक छैन् । जनमत निर्माण व्यवहारबाट मात्रै सम्भव छ । वैकल्पिक राजनीतिको यात्रालाई खण्डित हुने कुनैपनि व्यवहार पार्टीका कुनैपनि नेता र कार्यकर्ताहरुबाट गर्नु हुँदैन ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *