काठमाडौंमा साउथ एसिया ट्रेड फेयर हुँदै, व्यापारिक गतिविधि बढ्ने

 

काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित “साउथ एसिया ट्रेड फेयर २०२६” को तयारी अन्तिम चरणमा पुगेको छ । सार्क मुलुकका सहभागीहरू काठमाडौं आइपुग्ने क्रम सुरु भएको छ । बिहीबार मे ७ देखि ११ तारिख (वैशाख २४ देखि २८, २०८३) सम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने सार्कस्तरीय यस अन्तर्राष्ट्रिय व्यापार मेलालाई व्यवसायिक गतिविधि पुनः चलायमान बनाउने प्रमुख अवसरका रूपमा हेरिएको छ ।

देशभित्र लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीगत अनिश्चितताबीच यो मेला निजी क्षेत्रका लागि पुनः सक्रिय हुने प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ । देशमा देखिएका विभिन्न आर्थिक तथा व्यावसायिक परिस्थितिका कारण केही समय गुम्सिएर बसेका व्यवसायीहरू अहिले उत्साहपूर्वक सहभागिताका लागि अग्रसर भएका छन् । इन्ट्रोडक्शन ट्रेड शोज नेपाल प्रा.लि. द्वारा आयोजना तथा व्यवस्थापन गरिने यस मेलामा बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरो (इपीबी) को सहकार्यमा सञ्चालन हुन लागेको छ । यस कार्यक्रमलाई इन्डोर्स वाईका रूपमा भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले समर्थन गरेको छ ।

कार्यक्रमका सहयोगी संस्थाहरूका रूपमा नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, ललितपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, भक्तपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, चेम्बर अफ इन्डस्ट्रीज मोरङ, ललितपुर चेम्बर अफ कमर्स, नेपाल–चाइना एक्जिक्युटिभ काउन्सिल, नेपाल कस्मेटिक व्यवसाय संघ तथा विश्व उद्यम सहायता फाउन्डेसन रहेका छन् । साथै, यस मेलाका साझेदारहरूमा अनलाइन पार्टनर इटिकेटनेपाल डट कम, बीटुबी पार्टनर विराट बजार, इन्टरनेट पार्टनर वर्ल्डलिंक, लाइटिङ पार्टनर एक्जिविसन लाइट हाउस, सीसीटिभी पार्टनर जोडहनी ग्रुप, ई–कमर्स पार्टनर वन पसल प्राइभेट लिमिटेड, टेक्सटाइल पार्टनर नित्य ट्रेडिसनल र उद्यमी पार्टनर उद्यमी घर रहेका छन् ।

मेलामा भारत, बङ्गलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्स लगायतका देशहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजकका अनुसार मेलाको मुख्य उद्देश्य उत्पादन तथा सेवाको प्रवद्र्धन, बजार सम्भाव्यता अध्ययन, तथा क्रेता–बिक्रेता बीच सहकार्य विस्तार गर्नु हो । साथै, विभिन्न देशबीच व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य पनि राखिएको छ । आयोजकले करिब १५० भन्दा बढी प्रदर्शकहरू सहभागी हुने र झण्डै एक लाख स्थानीय दर्शक तथा पाँच हजार अन्तर्राष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिहरूको उपस्थितिको अपेक्षा गरिएको मेला संयोजक सुमन महर्जनले बताउनुभयो ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिबृद्धि गर्ने उद्देश्य लिई यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उदेश्य राखेको छ । मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण लगायतका विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरू आदी सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *