बैशाख १४ गते
उच्च प्राविधिक क्षेत्रमा देशकै अग्रणी मानिएको सानेपाको ललितपुरमा रहेको एभरेष्ट इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ विभागले सिभिल इन्जिनियरिङ विषयमा ६ देशका विशेषज्ञहरूको सोध पत्र प्रस्तुतिका साथ एकदिने अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको उद्घाटन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज केसीले दिगो पूर्वाधार विकास, अनुसन्धान–आधारित शिक्षा तथा नवप्रवर्तनलाई सशक्त बनाउनु आजको आवश्यकता भएको उल्लेख गर्दै उनले यस्ता अन्तर्राष्ट्रिय गोष्ठीहरूले ज्ञान आदानप्रदान, अनुसन्धान सहकार्य तथा प्राविधिक क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।
सिभिल इन्जिनियरिङ क्षेत्रमा नवप्रवर्तन, दिगो विकास तथा अन्तर्राष्ट्रिय सहकार्य प्रवर्धन गर्ने उद्देष्यका साथ आयोजित गोष्ठीमा ३९ वटा शोधपत्र तथा पाँचबटा मूलपत्र प्रस्तुत गरिए । गोष्ठको प्रारम्भिक मूलपत्र सत्रमा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पद्म बहादुर शाहीले विश्वविद्यालयको पाठ्यक्रम र बजारमा माग भएको सीपमा सामञ्जस्यता हुनै पर्नेमा जोड दिएका थिए भने भारतको आईआईटी रुड्कीका प्रा.डा. एम.एल. कन्सलले नदीमा आउने बाढी तथा दुवानको प्रकोप कसरी न्यून गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति गरे ।
रास्वपाका उर्जा विभाग प्रमुख माननीय सांसद तथा इन्जिनियर श्रीराम खनालले विश्व उर्जाको वर्तमान परिप्रेक्ष्यमा जलउर्जा, वायुउर्जा तथा हाइड्रोजन उर्जाको अधिकतम उत्पादन, प्रयोग तथा निर्यात गरी कसरी नेपालको भविष्य उज्यालो बनाउन सकिन्छ र यसको लागि कलेजका विद्यार्थीहरूलाई कसरी इन्टर्नसिपमा प्रवेश गराउने भन्ने विषयमा विस्तृत प्रस्तुति गरे ।
स्ट्रक्चर इन्जिनियर समाजका अध्यक्ष कृष्ण सिं बस्नेतले भवन अग्ला र बलिया मात्र भएर नपुग्ने, ठूला भुकम्प आउँदा आवश्यक सुरक्षित खुला मैदान र ती स्थानमा पुग्ने सुरक्षित मार्ग समेत व्यवस्थित गरी सहरी विकास गर्नु पर्नेमा जोड दिए । जापानको एहिमे विश्वविद्यालयमा विगत तीन दशक देखि आवद्ध प्रा.डा. नेत्र प्रकाश भण्डारीले भुकम्पको पूर्वानुमानमा जापानमा हाल भइरहेको शोधकार्यहरूबाट हामीले लिनु पर्ने ज्ञान विषयमा जानकारी दिए । चारवटा कक्षहरूमा एकैपटक सञ्चालित गोष्ठीको प्राविधिक सत्रमा नेपाल, जर्मनी, युएई तथा अष्ट्रेलियामा अनुसन्धानरत वैज्ञानिकहरूले चारवटा मूल विधाहरूमा आआफ्ना अनुसन्धानका परिणामहरू प्रस्तुत गरे ।
विधागत प्रस्तुतिहरूमा जलविद्युतको डा. सुवर्ण दास श्रेष्ठले, सरसफाई तथा वातावरणको सोफनका अध्यक्ष इन्जिनियर शरद प्रसाद अधिकारीले, यातायातको सोटेनका अध्यक्ष डा. हरेराम श्रेष्ठले र दिगो निर्माणको स्काफ नेपालका अध्यक्ष इन्जिनियर ठाकुर प्रसाद शर्माले अध्यक्षता गरे । गोष्ठीको समापन समारोहमा कलेजले आयोजना गरेको कार्यक्रमका सबै प्राविधिक सत्रहरूको अध्यक्षता पेशागत इन्जिनियर तथा पेशागत संस्थाका अध्यक्षहरूले गरेकोले यसबाट शैक्षिक तथा पेशागत संस्थाहरू बिच एकापसमा हातेमालोको शुभारम्भको संकेत भएको इन्जिनियर शर्मा व्यक्त गरे ।
कार्यक्रम आयोजनामा प्राविधिक सहकार्य गरेका सबै संस्थाहरू तथा वित्तीय सहयोग गरेका सबै कम्पनीहरू प्रति आभार व्यक्त गर्दै कलेजको सिभिल विभाग प्रमुख इन्जिनियर रोमहर्ष ओली, सहायक प्राचार्य इन्जिनियर राजन लामा, प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, प्रमुख कार्यकारी अधिकारी श्री अरुण कुमार भण्डारी तथा कलेज सञ्चालन समिति अध्यक्ष इन्जिनियर लक्ष्मी नाथ नेपालले मायाको चीनो तथा प्रमाणपत्र सहित धन्यवाद दिए । गोष्ठी सञ्चालन कलेजका शिक्षकद्वय इन्जिनियर नुज्हत अहमद तथा इन्जिनियर जस्मी खड्काले गरेका थिए ।