दिपक घिमिरे
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी अधिवेशन नजिकिँदै गएको छ । त्यसैमा केन्द्रित रहेर पौष २६ गते दुबै समूहले चुनावी घोषणासभा सार्वजनिक गरेका छन् । पुरानाको योगदान र अनुभव नयाँको क्षमता र ऊर्जालाई सन्तुलित सदुपयोग गरेर सुदृढ र परिणाममुखी इक्यान बनाउने दृढ संकल्पका साथ दुबै प्यानलले उद्घोष गरेका छन् । कार्यक्रममा इक्यानसँग जोडिएर लामो समयदेखि योगदान गर्दै आउनु भएका पुरान अग्रजहरुलाई स्वागत र सम्मान गरिएको थियो । इक्यानका पूर्व अध्यक्ष अरुण लामिछाने, विष्णहरि पाण्डे र शेषराज भट्टराईद्वारा आफ्नो कार्यकालमा भएका प्रगति विवरण, सफलता, अनुभव र अबको इक्यानले गर्नुपर्ने भूमिकाबारे धारणा राख्नु भएको थियो ।

साहित्यिक अनुराग र सिर्जनात्मक प्रस्तुतिका सम्राट मानिने महेशबाबु तिमल्सिनाद्वारा कलात्मक ढङ्गबाट कार्यक्रम सञ्चालन गरिएको थियो । नेतृत्वमा हुनुपर्ने गुण, उम्मेदवारहरुको व्यक्तिगत विवरण, क्षमता, अनुभव, कार्ययोजना र भावी रणनीति सहित तयार पारिएको डकुमेन्ट्री हेर्दा चुनावी घोषणसभा होइन विजय उत्सवको रौनक अनुभूत हुन्थ्यो । महेशबाबुद्वारा सिर्जित भावनात्मक कविताले उपस्थित सबैलाई थप ऊर्जा मिलको थियो । अन्त्यमा अध्यक्षका प्रत्यासी एन्ड्रयु पौडेलद्वारा आफ्नो धारणा राख्नु भएको थियो । अग्रजहरुको अनुभवलाई सम्मान र नयाँको क्षमतालाई सन्तुलित सिरोधार्य गर्दै सबल, सुदृढ, उज्यालो र परिणाममुखी इक्यान बनाउन आफू र आफ्नो टिमसँग पर्याप्त क्षमता अनुभव भएको दाबी गर्नु भएको छ ।

यही व्यवसायबाट सन्तुष्ट रुपमा धेरै व्यवसायीहरुले आफ्नो रोजिरोटी सेक्न पाएका छन् । नेपाली विद्यार्थी, अभिभावक, शिक्षा मन्त्रालय, विदेशी विश्वविद्यालय र राज्यले कुनै न कुनै रुपमा हाम्रो संस्थाबाट लाभान्वित छन् । इक्यान सबैको साझा फूलबारी हो, जहाँ रङ, जात, स्वभाव होइन सहकार्य र अपनत्वको आवास होस् भन्दै सबैलाई एक ढिक्का भएर बलियो इक्यान बनाउनु पर्नेमा जोड दिनु भएको छ । अवसर सबैले पाउनु पर्छ, क्षमता सबैले देखाउन पाउनु पर्छ भन्दै नेतृत्वमा सँधै टाँसिन आफ्नो इच्छा नभएको जिकिर गर्नु भयो । आफ्नो प्यानललाई सबैको सहयोग र सद्भाव अमूल्य रहने भन्दै सबै सदस्यहरुसँग आफू र आफ्नो प्यानलाई विजय गराउन अनुरोध गर्नु भएको छ ।