दिपक घिमिरे
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा चुनावी सरगर्मी तातेको छ । परामर्श क्षेत्रको विश्वासिलो अग्रणी संस्था इक्यानमा आगामी नेतृत्वको लागि अधिवेशन हुँदैछ । पौष २८ गते हुन गइरहेको उक्त अधिवेशनबाट इक्यानले दुई वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ । आफूलाई प्रतिष्पर्धीभन्दा अब्बल ठान्दै विभिन्न आकाङ्क्षीहरुले चुनावी प्रतिष्पर्धा गर्दैछन् । उनीहरुले पौष २१ गते नै आ–आफ्नो प्यानल तयार गर्दै मनोनयन दर्ता गरिसकेका छन् । इक्यानमा अब आउने नेतृत्वको लागि दिपकराज भुसाल र लक्ष्मण पौडेल (एन्ड्रु) बीच कडा प्रतिष्पर्धा हुँदैछ ।

तीन उपाध्यक्षका लागि गीता सिवाकोटी (गिताञ्जली), पुष्पराज भट्टराई, वासुदेव दाहाल, मञ्जित ढकाल, रत्न बहादुर भट्टराई र विकल्पराज पोखरेल भिड्दैछन् भने महासचिवको लागि नवराज केसी र भवनाथ हुमागाईंको टकराव हुनेछ । दुई सचिवका लागि आशीष कार्की, भुपाल केसी, लालबहादुर तामाङ र सुरज सिलवाल चुनावी मैदानमा उत्रेका छन् । कोषाध्यक्षको लागि उमा खड्का (पाठक) र साधना पुडासैनी प्रतिष्पर्धामा छन् । समावशी प्रतिनिधित्वको साख जोगाउन कोषाध्यक्षमा इक्यानले निर्विकल्प एक महिला पुँडो सारेको छ । सह–कोषाध्यक्षमा गोविन्द खनाल र भीम बहादुर थापा, जुद्धैछन् । केन्द्रीय सदस्यको लागि अनन्तराज घिमिरे, अशोक कुमार हाथी, उद्धव वन, कमलप्रसाद तिमल्सिना, दामोदर शर्मा, दिनेश पौडेल, नवराज नेपाल, प्रभात पौडेल, वसन्त पाण्डे, विवेक वस्नेत, भेषराज राय (भिष्म), शिवप्रसाद अर्याल र सञ्जिव पाण्डेबीच प्रतिष्पर्धा हुनेछ ।

विगतको अनुभवबाट थप तिखारिँदै आफ्ना गहकिला योजना, एजेण्डा र भावी कार्ययोजना सहित सबै चुनावी प्रतिष्पर्धामा होमिएका हुन् । वर्तमान नेतृत्वमा रहेका शेषराज भट्टराई एक कार्यकालमै फलदायी र परिणाममुखी काम देखाएर स्वैच्छिक वहिर्गमन हुँदैछन् । उनले विद्यार्थी, अभिभावक, छाता संगठनभित्रका सदस्यहरु, अग्रजहरु, शिक्षा मन्त्रालय, दूतावास, कूटनीतिज्ञ, विदेशी विश्वविद्यालय लगायत अन्य सरोकारवालाहरुसँग इक्यान र यसको गरिमालाई थप चिनारी दिएर नयाँ रेकर्ड बनाउन सफल भएका छन् । उनले संस्थाभित्र गुटगत प्रवृत्तिभन्दा नीतिगत समाधानमा केन्द्रित भएर सेवा गरेको पाइन्छ ।