सुदूरपश्चिम, ३१ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज जेठ ३ गते बिहान १०ः३० बजे प्रदेशसभाको बैठक बस्ने सूचना टाँस गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो । यसअघि यही वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो ।
सत्ता साझेदार नेकपा (एमाले)ले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो । नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जेठ ३ गतेको बैठकमा मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने÷नदिनेमा एमाले अझै टुङ्गोमा पुग्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रदेखि प्रदेश तहसम्मका सरकारको समीकरणको सन्दर्भ छ, मुख्यमन्त्रीले विश्वासको मत लिने तरिकामा भर पर्छ, विश्वासको मत लिनेले समन्वय गर्नपनि जान्नुपर्यो ।”
यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र (जेठ ५ गतेभित्र) विश्वासको मत लिइ सक्नुपर्छ । यसअघि विश्वासको मत लिने तयारी गर्नुभएका सोडारीलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकिर गर्दै नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको थियो । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन (ह्वीप) जारी गर्नुभएको थियो । नाउपामा देखिएको आन्तरिक किचलो अझै साम्य हुन सकेको छैन ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)को सभामुखबाहेक १०, नेकपा (एमाले) को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।